कर्तव्य नै कर्म, कर्म नै पूजा

सत्य साईबाबा

कर्तव्य नै कर्म, कर्म नै पूजा

साई भन्छन्, ‘सेवाको कार्य भनेको देखाउन वा सुनाउन होइन। यो हृदयबाट निस्वार्थ भावले गरिएको हुनुपर्छ, जसले तिमी आफैंमा रूपान्तरण ल्याउँछ।’

सानै उमेरदेखि दया र शक्तिबाट प्रभावशाली अनौठा व्यवहारले सत्य साईबाबाको देवत्वको परिचय दिइसकेको थियो। रित्तो हात घुमाएर साथीहरूका लागि जे चाहिएको छ, मानौं कलम, कापी, मिठाई, फलफूल आदि, सिर्जना गरेर दिन्थे उनी। अनि प्रत्येक दिन जस्तो गाउँका बजारमा आएका साधु, सन्त र गरिबहरूलाई हात समातेर घरमा ल्याएर भोजन गराएर मात्र पठाउने उनको आदत थियो। उनको नोभेम्बर २३, १९२६ का दिन दक्षिण भारतको पुट्टपर्ती भन्ने ठाउँमा जन्म भएको थियो। उनको यो ९९औं जन्मोत्सव हो।

१४ वर्षको उमेरमा गाउँले र परिवारको अगाडि ‘म साईबाबा हुँ’ भनेर घोषित गरे। उनले आफूलाई शिरडी साईबाबाको अवतार हुँ भनेर आफ्ना सम्पूर्ण परिवारलाई त्यागेर अब म तिमीहरूको हैन। ‘मेरा भक्तहरू मलाई पर्खेर बसिरहेका छन्। अब समय आएको छ भनेर घरबाट निस्कें।’ आमाको छोराप्रतिको प्रेम अगाध भएको हुनाले आमालाई उनले पुट्टपर्ती छोडेर अन्य कतै गएर नबस्ने प्रण पनि गरे।

सत्य साईका अनुसार यो कलियुगमा उनका तीनवटा अवतार हुनेछन्। पहिलो शिरडी साईबाबा (१८३८–१९१८), दोस्रो सत्य साईबाबा (१९२६–२०११) र तेस्रो प्रेम साईबाबा हुनेछन्। कसैले सत्य साईबाबालाई प्रश्न गर्‍यो, ‘यो कलियुगको अवतारले किन तीनवटा भागमा बाँडिएर त्रि–अवतार 

हुनुपर्‍यो ? जबकि त्रेतायुगमा र द्वापरयुगमा एक–एक अवतार थिए।’ यसको उत्तरमा सत्य साई भन्छन्, ‘यी तीन फरकफरक हैनन्। 

अन्तिम लक्ष्य पूरा गर्न तीनैवटामा पूर्ण एकता छ।

सत्य साईबाबामा विश्वास भक्ति र आस्था राख्ने भक्तहरूले उनलाई गुरु र भगवान् दुवैको स्थान आफ्नो हृदयमा दिएका छन्। उनले देखाएको बाटो हिँड्न सक्ने क्षमता पनि उनीसँगै प्रार्थना गरेर माग्छन्। यो उनीहरूको साईप्रतिको भक्तिभाव हो।

अवतारको शक्ति र कार्यहरू समय, परिस्थिति र वातावरणअनुसार भिन्नभिन्न हुन्छ तर शिरडी साई सत्यसाई र प्रेम साई एकै हुन्। उदाहरणका लागि एउटा फल जो बिउबाट सुरु हुन्छ, त्यसपछि रुख हुन्छ अनि फल लाग्छ। यस कार्यलाई बिउसँग तुलना गर्न सकिन्छ। पूजालाई रुखसँग तुलना गर्न सकिन्छ भने फललाई ज्ञानसँग। यसैअनुसार शिरडी साईले ‘कर्तव्य नै कर्म हो’ भनेर मानव जातिलाई सन्देश दिए भने सत्यसाईले सम्पूर्ण मानव जातिभित्र एउटै भगवान्को बास हुन्छ भन्ने यथार्थ उनीहरूलाई अवगत गराए। यो दोस्रो त्रि–अवतारको उद्देश्य हो।

त्यसैले, सबैले एकअर्कालाई कुनै जाति, धर्म, लिंग इत्यादिमा भेदभाव नराखी सबैलाई प्रेम र सहयोग गरे कर्म नै पूजा हुन्छ भन्ने उनको भनाइ छ। अब तेस्रो अवतार, प्रेम साईले आफ्नो अवतारमा सबै मानिसभित्र भगवान्को बास हुन्छ भन्ने मात्र हैन, सबै मानिस भगवान् हुन् भन्ने सन्देश लिएर आउने छन्। यसरी तीन अवतारले कर्म, पूजा र ज्ञानका तीनवटा सन्देश लिएर आएका छन् जसले मानिसलाई भगवान्सँग पुग्ने वातावरण सिर्जना गर्छ।

सत्य साई सर्वधर्मका प्रिय छन्। सबै धर्मका अनुयायीहरूले यस कुरालाई बुझेर श्रद्धा र भक्तिका साथ पुट्टपर्तीलाई तीर्थस्थल मानेर जाने गर्छन्। यो अबतारले के भन्छ भने संसारमा एउटै जाति छ, त्यो हो मानव जाति। संसारमा एउटै धर्म छ, त्यो हो प्रेमको धर्म। संसारमा एउटै भाषा छ, त्यो हो हृदयको भाषा। अनि, संसारमा एउटै भगवान् छन्, उनी सर्वव्यापी छन्। यी सबैको प्रमाण साईकै हजारौं लीलाहरू र उनका 
प्रेमका शृंखलाहरूबाट बुझ्न सकिन्छ।

अझ स्पष्ट अर्थमा भन्नुपर्दा, मृतक शरीरलाई जीवन दिनु, भक्तहरूलाई ज्योति दर्शन दिनु, भक्तहरूलाई उनीहरूको आवश्यकता अनुसार इच्छा पूरा गरिदिनु, एकैपटक दुईतीन ठाउँमा उपस्थित हुनु र भक्तहरूमा आन्तरिक रूपान्तरण ल्याउनु उनको सबैभन्दा ठूलो लीला हो। यसरी उनले आफ्नो देवत्वको परिचय दिएका छन्। यी सबै उनका लीलाहरू हामी उनको जीवनी ‘सत्यम्, शिवम्, सुन्दरम्’मा पढ्न पाउँछौं। त्यसो त उनका लाखौं भक्तहरूका अनुभव र भनाइबाट बुझ्न र सुन्न पाइरहेकै छौं।

एकातिर उनले दैवीशक्तिको प्रदर्शन यसरी गरेका छन् भने अर्कातिर उनका सामाजिक सेवाका कार्यहरू अनगिन्ती छन्। संसारमा कसैले गर्न नसकेका कार्यहरू उनले गरेर देखाएका छन्। साई एउटा यस्तो अवतार हो, जसले मानव सेवा नै माधव सेवा हो, सबैलाई प्रेम गर, सबैको सेवा गर, सधैं सहयोग गर, कहिल्यै दुःख नदेऊ भनेर महान् सन्देशहरू मानव जातिलाई दिएका छन्। त्यसैका आधारमा ‘मेरो जीवन नै मेरो सन्देश’ भनेर यी सबै आफ्ना वाणीलाई आफैं यसको ज्वलन्त उदाहरण बनेर देखाएका छन्।

साईले कक्षा एकदेखि पीएचडीसम्म पढाइने विद्यालय र विश्वविद्यालयहरू निःशुल्क रूपमा चलाइआएका छन्। यतिमात्र होइन, सुपर स्पेसियालीटी अस्पतालहरू जो संसारमै नभएको एउटा यस्तो अस्पताल हो जहाँ पैसाको बिल काट्ने काउन्टर छैन। जस्तै ठूला शल्यक्रिया (अपरेसन) भए तापनि (बाहिर पाँच/छ लाख रुपैयाँ लाग्ने) त्यहाँ निःशुल्क गर्ने व्यवस्था छ। त्यो पनि विश्वप्रख्यात डाक्टरहरूद्वारा बिरामीको उपचार हुन्छ। यहाँ आधुनिक औजारहरू प्रयोग गरेर शल्यक्रिया गरिन्छ।

साई भन्छन्, ‘स्कुल, कलेज र विश्वविद्यालय मैले खोल्नुको उद्देश्य त्यहाँ पढ्ने विद्यार्थीको चरित्र निर्माणका लागि हो। उनीहरूलाई इमान्दार, दयालु, सहयोगी, सहनशील बनाउनु र उनीहरूको हृदय प्रेमले भरिपूर्ण गराउनु मेरो उद्देश्य हो।’ विद्यार्थीका चरित्र र व्यवहारबाट संसारका मानव जातिले गर्व गरेर आफूले पनि त्यही बाटो अँगालुन् भन्ने उनको उद्देश्य छ। उनी आफ्ना विद्यार्थीलाई भन्ने गर्थे– तिमीहरूले संसार परिवर्तन गर्नु आवश्यक छैन, तिमी आफूलाई परिवर्तन गर, त्यति नै काफी हुन्छ। आज उनका विद्यार्थीले यो सबै प्रमाणित गरेर देखाइरहेका छन्।

साईले ७० मिलियन अमेरिकी डलर खर्च गरेर ७०० सुक्खा गाउँहरूमा खानेपानीको व्यवस्था गरिदिएका उदाहरण पनि छन्। यो एउटा सेवा संगठनले निस्वार्थ भावले गरेको सेवा विश्वमा अन्य कतै पाइँदैन। यतिमात्र नभएर उनले समाजमा साधारण मानिसले गर्न नसक्ने सामाजिक सेवाजस्तो ग्रामसेवा मोबाइल अस्पताल इत्यादिद्वारा आफ्नो प्रेम नदी नै बहाएका छन्। आज सत्यसाई सेवा संगठन जो सन् १९६५ मा सुरुआत भएर अहिले विश्वका १ सय २६ देशहरूमा दुई हजारभन्दा बढी संगठनहरू कार्यरत छन्।

नेपालमा मात्र २ सय २८ वटा संगठन छन्, जसले प्राकृतिक प्रकोप र अन्य आवश्यक समयमा लगातार रूपले सेबा पुर्‍याइरहेका छन्। साई भन्छन्, ‘सेवाको कार्य भनेको पत्रपत्रिकामा छाप्न र अरूलाई देखाउन वा सुनाउनका लागि होइन। यो हृदयबाट निस्वार्थ भावले गरिएको हुनुपर्छ, जसले तिमी आफैंमा रूपान्तरण ल्याउँछ।’ यसैको परिणामस्वरूप आज साई संगठनले मौनताका साथ गरेका ठूला काम पनि आमसञ्चार माध्यमहरूमा प्रकाशित भएको पाइँदैन।

सत्य साई संगठनको एउटा सबैभन्दा महत्त्वपूर्ण कार्य बाल विकास कक्षाको सञ्चालन गर्नु हो। प्रत्येक शनिबार अन्य स्कुल बन्द भएको दिन यहाँ बालबालिकालाई नैतिकता र मूल्यमा आधारित शिक्षा दिइन्छ। जहाँ धर्म, लिंग, जाति इत्यादिमा भेदभाव राखिँदैन। आजको यो सोसल मिडिया फेसबुकबाट प्रभावित सामाजिक कुरीतिहरूबाट बच्न यस्तो शिक्षाले बच्चाहरूमा धेरै ठूलो सहयोग पुर्‍याएको छ।

अन्त्यमा, सत्य साईबाबामा विश्वास भक्ति र आस्था राख्ने भक्तहरूले उनलाई गुरु र भगवान् दुवैको स्थान आफ्नो हृदयमा दिएका छन्। उनले देखाएको बाटो हिँड्न सक्ने क्षमता पनि उनीसँगै प्रार्थना गरेर माग्दछन्। यो उनीहरूको साईप्रतिको भक्तिभाव हो।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.