अब खेल्छ गैंडा
चितवन : विश्वकै दुर्लभ एक सिङ्गे गैंडाको मख्य थलो हो, चितवन । यही गैंडाको अस्तित्वलाई मस्कटमा ब्रान्डिङ गरेर नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्रिँदैछ, ‘चितवन राइनोज’ । पर्यटन, पर्यावरण र साँस्कृतिक पाटोको विगुल फुक्दै यसपटक एनपीएलमा ‘खेल्दैछ गैंडा’ । राइनोजले मस्कटका रुपमा ‘मिस्टर गैंडा ५६’लाई तोकेको छ ।
जिल्लाको साख र सान राख्न चितवन राइनोजले तयारी थालेको छ । आफ्ना अनुभव र जोससहित सुखद सुरुवात गर्ने अभियानमा चितवन छ । मंसिर १७ गते बिहान ९:१५ मा बागमती प्रदेशको अर्को टोली काठमाडौं गुर्खाजसँग चितवनले खेल्दैछ । चितवन राइनोजको मुख्य भर मार्की खेलाडी २० वर्षीय कुशल मल्ल हुन् ।
आक्रामक ब्याटिङ र स्पिन बलिङमा सिपालु युवा अलराउन्डर कुशल मल्लको युवा जोस र सन् २०१४ मा विश्वकप खेलेका शरद् भेषावकरको अनुभवलाई समेटेर टिम तयार गरिएको छ । मल्ल एनपीएलमा मार्की खेलाडीमध्येका सबैभन्दा कान्छो हुन् । ‘मैदानमा राम्रो नतिजा निकाल्न हरदम प्रयास हुनेछ’, मल्लले भने, ‘युवा र अनुभवीसहितको टिम भएकाले हामी उपाधि जित्ने लक्ष्यसहित अगाडि बढेका छौं ।’
मल्ल र भेषावकरसँगै राष्ट्रिय टिमका दुई पेस बलर रिजन ढकाल र कमलसिंह ऐरी छन् । ढकाल र ऐरीसँगै विदेशी खेलाडी मर्चेन्ट डे ल्याङ पेस बलिङमा हुनेछन् । चितवनको सबैभन्दा बलियो पक्ष मिडल अर्डर र पेस बलिङ हो । घरेलु क्रिकेटमा राम्रो अलराउन्डर मानिएका अमरसिंह रौटेलाले टिमलाई थप बलियो बनाउने छन् । यस्तै दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपिन रावलले आफ्नो खेल कौशलता देखाउने छन् । नेपाली टिमको जोसमा चार विदेशी खेलाडीले अनुभवले होस्टेमा हैंसे गर्नेछन् । इङ्ल्यान्डका भेट्रान रवि बोपारा र नामिबियाका हार्ड हिटर जान निकोल र लफ्टी इटोन अलराउन्डर हुन् । इटोन मिडल अर्डरमा रहने छन् ।
इङ्ल्यान्डका यू–१९ टोलीका लुक बेनकेन्स्टेइन र अफगानिस्तानका यू–१९ टिमका हसन इसाखिल पनि चितवनबाटै खेल्दैछन् । दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट तीन वटै फम्र्याट खेलिसकेका डे ल्याङको अनुभव चितवनका लागि भरोसा बन्नेछ । उनले आईपीएलसहित पीएसएल, सीपीएल, लंका प्रिमियर लिग, भाइटालिटी ब्लास टीट्वेन्टी, दी हन्ड्रेड, दक्षिण अफ्रिकी टीट्वेन्टी लिगलगायत खेलेको अनुभव छ ।
चितवनका लागि केही पक्षले चुनौती पनि खडा गरेको छ । टप अर्डर र स्पिन आक्रमण त्यति बलियो छैन । पेस बलरबाहेक अन्य स्टार खेलाडी अनुबन्ध गर्न नसक्दा केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । टप अर्डरमा विदेशी खेलाडीको भर गरेको छ । टप अर्डर कमजोर भएको अवस्थामा चितवनको पालि मिडल अर्डरले नै धान्नुपर्ने देखिन्छ ।
मुख्य प्रशिक्षक उमेश पटवाल सबै चुनौतीको सामना गरेर टिमलाई उत्कृष्ट प्रर्दशनका साथ दर्शकको मनसँगै उपाधि जिताउने योजनामा छन् । अलरान्डर धेरै भएकाले प्रर्दशन उत्कृट हुने दावी चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाको छ । ‘स्टार खेलाडी धेरै छैनन् । तर, अलराउन्डर धेरै छन् । यसले एउटा नहुनेबित्तिकै अर्को विकल्पको प्याकेज तयार गरेको हुन्छ’, पियाले भने, ‘चितवनको ब्याटिङ डेप्थ राम्रो भएकै कारण आशा गर्ने ठाउँ छ ।’
चितवनले क्रिकेट मैदानमै अभ्यास गरिरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले अभ्यास गरिरहेको छ । चितवन मेडिकल कलेजले चितवन राइनोजलाई १ करोड ७६ लाख एक हजार रूपैयाँमा खरिद गरेको हो । ‘हामी खेल र मन दुवै जित्ने लक्ष्यका साथ अगाडि बढेका छौं’, चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले भने, ‘हाम्रा खेलाडी हाम्रो भरोसा हुन् । यसपटक वन्यजन्तुमा सान राखेको गैंडाले अब क्रिकेटमा पनि सान राख्नेछ ।’