लुम्बिनीले विराटनगरलाई दियो हालसम्मकै उच्च लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको बलियो लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो। यो एनपीएलको हालसम्मकै उच्च योगफल हो। यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध १८१ रन बनाएको थियो।
पावरप्लेमा १ विकेटको क्षतिमा ५६ रन बनाएको लुम्बिनीले १० ओभरमा लुम्बिनीले थप १ विकेटको रुपमा अर्जुन साउदलाई गुमाउँदै ४१ रन थप्दै ९७ रन बनायो। लुम्बिनीले पहिलो विकेट अशुतोष घिरौयाको गुमायो उनी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा निकोलस क्रिटोनको हातबाट रन आउट भए। दोस्रो विकेटका लागि अर्जुन साउदले कप्तान रोहित पौडेलसँग ४१ रनको साझेदारी गर्दै आठौं ओभरको दोस्रो बलमा इस्मात आलमको बलमा बोल्ड भए।
तेस्रो विकेट कप्तानको भयो। राजेश पुलामी मगरको बलमा टियु कर्नरमा प्रतिश जिसीको हातबाट रोहित ४६ रनमा क्याच आउट भए। उनले टम मोरिससँग ६७ रनको साझेदारी गरे। चौथो विकेट टम मोरिसको गयो। उनी १७ बलमा १ चौका र३ छक्कासहित ३० रनमा दिपक बोहोराले उत्कृष्ट थ्रो गर्दै रन आउट गराए।
पाँचौं विकेट सन्दीप जोरा पनि १२ रनमा रनआउट भए। छैटौं विकेट सन्दीप लामीछानेले साद बिन जफरको विकेट सन्दीपले लिए। उनले जफरलाई १५ रनमा मार्टिन गुप्टिलबाट क्याच आउट गराए। सातौं विकेट पनि रन आउट नै भयो। यसमा बेन कटिङ पनि समावेश भए।
लुम्बिनीका लागि विवेक यादव १९ र र्यामोन सिमोन्ड २ रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामिछाने, राजेश पुलामी र इस्मात अलामले १/१ विकेट लिए। विराटनगरको यो तेस्रो खेल हो। पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेट र दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ८७ रनले पराजित भएको थियो। बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो।