क्षमतावान महिलालाई घरमै बसाएर देश समृद्ध बन्दैन : मुख्यमन्त्री सिंह

ढल्केवर(धनुषा) : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले क्षमतावान महिलालाई घरमै बसाएर देश समृद्ध बन्न नसक्ने बताएका छन्। बिहीबार धनुषाको लालगढमा आयोजित महिला उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्था गरिएका नीतिगत विषयमा अन्तरक्रिया कार्यक्रममा बाल्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाएर स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए। ‘देशमा क्षमतावान महिलाहरू थुप्रै छन्। उहाँहरूलाई घरभित्रै राखेर देश समृद्धि हुन्छ भनेर कल्पना गर्न सकिँदैन,’ मुख्यमन्त्री सिंहले भने, ‘महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउन सबै पक्षको भूमिका हुनुपर्छ।’
मधेस आँपको पकेट क्षेत्र रहेको उल्लेख गर्दै उनले त्यसका परिकारहरू उत्पादन गरेर निर्यात गर्न सके यहाँका समुदायको आर्थिकस्तर उकासिनेमा विश्वास व्यक्त गरे। मधेस प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा उद्यमशील केन्द्र स्थापना गर्ने नीति लिएको र त्यसका लागि बजेट विनियोजन गरिएको मुख्यमन्त्री सिंहले बताए। महिलाहरूलाई मोटिभेसनको काम गर्दै आइरहेकोप्रति महिला उद्यमी महासंघको उनले खुलेर प्रशंसा गरे।
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नारी उद्यमशीलता बढाउनुपर्नेमा जोड दिइन्। ५ हजार महिला उद्यमी महासंघमा सदस्य रहेको सुनाउँदै उनले १ लाखभन्दा बढी महिला यस महासंघसँग जोडिएर उद्यमी बन्ने र बनाउने अभियानमा लागिरहेको उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस !
