चिसो छल्न बेंसी झरे चौंरी
भोजपुर : बढ्दो चिसो मौसम र हिउँद छिप्पिँदै गएपछि लेकाली चौंरीगोठहरू बेंसी झार्न थालिएका छन्। मैयुङ, साउने, किमालुङ, खार्तम्छा, नागीखर्कलगायतका भोजपुरका उच्च पहाडी क्षेत्रका चौंरीगोठहरू यतिबेला चिसो बढेसँगै बेंसी सारिने गरिएको छ।
टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाका विभिन्न उच्च पहाडी भेगमा व्यावसायिक रूपमा चौंरी पाल्दै आएका चौंरीपालक कृषकहरू चिसोयाम सुरु भएसँगै आफ्ना चौंरीगोठहरू सार्न थालेका हुन्। जाडो सुरु भएपछि यहाँ चौंरीगोठहरू सुर्के, तरुलबारी, कोशेढुंगा, चिलिमधापलगायत विभिन्न स्थानमा सारिने गरिएको छ।
यहाँका कृषकहरू वर्षैंपिच्छे हिउँद लागेसँगै बेंसी झार्ने र बर्खालागेसँगै लेकतिर चौंरीगोठहरू सारिने गरिएको छ। चौंरीगाईहरू हिउँदमा चिसो छल्न बेंसी झर्ने र बर्खायाममा गर्मी छल्न लेक निस्कने क्रम निरन्तर चलिरहने चौंरीपालक कृषक नामसोङ राईले बताए। ‘मौसमको फेरबदल सँगसँगै चौंरियाकहरू पनि जाडो र गर्मी छल्न लेकबेंसी गर्ने गर्छन्, यतिबेला चिसो बढेको छ, चौंरीसँगै हामी गोठहरू पनि सार्छौं’, राईले सुनाए। प्राकृतिक नियमजस्तै बनेको यहाँका चौंरीहरू मंसिर लागेसंँगै बेंसी झार्ने र फागुन लागेसँगै लेकतिर निस्कने गर्छन्।
समुद्री सतहदेखि सरदर ३३ सय मिटर उचाइका यी क्षेत्रमा दर्जनौं चौंरीगोठहरू व्यावसायिक चौंरीपालन हुँदै आएको छ। २०८० को तथ्यांकअनुसार भोजपुरका मैयुङ क्षेत्रमा मात्रै १९ वटा चौंरीगोठमा ४ सय ७६ चौंरीयाक पालिएका छन्। धेरैजसो मैयुङ घुम्न आउने पर्यटकहरू खर्कमा चौंरी चरेको रमाइला दृश्यावलोकन गर्नकै लागि पनि आउने गरेका छन्। तर जाडोयाममा भने चौंरी बेसी झर्ने भएकाले धेरैजसो पर्यटकहरू वैशाख, असोज, कात्तिक महिनामा मुन्दुम पदमार्ग हुँदै यात्रा गर्ने गरेको याक चौंरी कृषक महासंघ केन्द्रीय अध्यक्ष पाविहाङ राईले बताए।
उनले भने, ‘सफा मौसम र उपयुक्त तापक्रमका कारण धेरैजसो पर्यटकहरू वैशाख, असोज, कात्तिकमा मैयुङ क्षेत्र घुम्न आउँछन्, चौंरीहरूको चरनले गर्दा यहाँको प्राकृतिक सौन्दर्यता बढ्ने भएकाले पनि पर्यटकहरू यहाँ आउन रुचाउँछन्, गोठबास बस्छन् र कोशेली स्वरूप चौंरीको दूधबाट बनेका छुर्पी लगेर जान्छन्।’
चौंरी सार्ने क्रम सँगसँगै चरन क्षेत्र अभावमा कतिपय यहाँका चौंरीगोठहरू धमाधम पलायन हुने अवस्था पनि बन्दै गएको छ। सामुदायिक वन समूह गठन भएपछि चौंरी चराएबापत हजारौं कर तिर्नुपर्ने भएकाले यहाँका चौंरीपालक कृषकहरूले चरन अभाव देखाउँदै व्यवसाय छाड्न थालेको भोजपुर नगरपालिका—१, हेलौंछाका चौरीपालक डेण्डी शेर्पाले बताए। उनी भन्छन्, ‘बनले चौंरी चराएको पनि कर लिन थालेपछि एकातिर जताततै चौंरी चराउन पनि पाइँदैन अर्कोतिर हजार, पन्ध्र सय रुपैयाँ कर तिरिरहनुपर्छ।’
चौंरीपालनका लागि प्रशस्त सम्भावना बोकेका मैयुङ क्षेत्रलगायतका उच्च पहाडी क्षेत्रमा कृषकहरूले चौंरी चराएबापत सामुदायिक वनलाई बर्सेनि कर तिर्ने गरेका छन्। प्राकृतिक रूपमा रहेको चरन क्षेत्रमा कर लगाउने नियमले पशुपालकलाई सीमित क्षेत्रमा मात्र चराउने अनुमति रहेको अर्का स्थानीय कृषक दुर्गाधन राई सुनाउँछन्। वनलाई बुझाउनुपर्ने वार्षिक कर र सीमित चरन क्षेत्रले चौंरी पाल्न झन्झट थपिएको उनी बताउँछन्।
धार्मिक दृष्टिकोणले अति आवश्यक ठानिने चौरीको पुच्छर महँगो दाममा किनबेच हुने गरेको छ। जुन धर्मकर्मका लागि चौरीको पुच्छर दुर्लभ हुँदै गइरहेको छ।