शनिबार रातिदेखि नै बन्द थियो बाबुछोरा मृत भेटिएको कोठा

शनिबार रातिदेखि नै बन्द थियो बाबुछोरा मृत भेटिएको कोठा
सुन्नुहोस्

काठमाडौं : रूपाकोट मजुवागढी १ खोटाङ घर भएका कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन्। ५६ वर्षीय आचार्यका दुई भाइ छोरा भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए। जेठो छोरा मिलन आचार्य र कान्छो छोरा प्रविन आचार्य सूर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा कोठा लिएर पढ्दै थिए। कार्यालयको कामले ६ दिनअघि काठमाडौं आएका कुलप्रसाद सोमबार बिहान छोराहरूकै कोठामा मृत भेटिएका छन्। उनीसँगै बसेका उनका कान्छा २२ वर्षीय छोरा प्रविन आचार्य पनि मृत भेटिएका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डीराज नेउपानेका अनुसार दुईवटा फरक–फरक कोठामा आचार्यका बाबुछोरा मृत भेटिएका हुन्। उनीहरूको टाउकोको पछाडि र कानमासमेत चोट भेटिएको छ। आचार्य परिवारले चार वर्षदेखि उक्त घरमा कोठा लिएर बस्दै आएका थिए। प्रहरीका अनुसार कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने बेपत्ता रहेका छन्। 

डीएसपी नेउपानेका अनुसार उनीहरू साढे तीन तले घरको भुइँतलामा २ वटा कोठा लिएर बस्ने गरेका थिए। मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने प्रविनले भिएस निकेतनमा बीएस्सी अध्ययन गर्दै आएका थिए। बाबुछोराको शरीरमा चोटैचोट देखिएको र उक्त कोठा बाहिरबाट ताला लगाएको अवस्थामा रहेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। सँगै खाना खाएर सुतेका जेठा छोरा फरार रहेकाले पनि हत्या भएको हुनसक्ने अनुमानलाई पुष्टि गर्छ। 

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा शनिबार दिनभरसँगै रहेका तिन बाबुछोराले शनिबार राति पनि सँगै खाना खाएका थिए। एउटै फ्ल्याटमा सँगै बस्ने अर्को कोठाका साथीहरूलाई पनि मिलन आफैंले बनाएको तरकारी बाडेर खाएका थिए। एउटै कोठामा बसेर खाना खाँदै गफ गरिरहेका बाबु छोराहरू बेग्लाबेग्लै कोठामा पसेर सुतेका थिए। 

उक्त घरमा बस्ने अन्य व्यक्तिहरू आइतबार बिहानै उठ्दा आचार्य परिवार बस्ने दुइवटा कोठामा नै बाहिरबाट ताला लगाइएको थियो। काम विशेषले बाहिर गएका होलान् भनेर कसैले पनि सोधखोज गरेनन्। खोटाङ बस्ने कुलप्रसादका आफन्तले आइतबार दिनभर श्रीमान् र छोराहरूको नम्बरमा फोन गरे। कसैको पनि फोन उठेन। आइतबार दिनभर फोन नउठ्ने र केही खोजखबर नपाएपछि काठमाडौंमा रहेका आफन्तलाई कोठामा हेर्न जान भनेका थिए। 

सोमबार बिहानै उनका आफन्तहरू बालकोटमा रहेको कोठामा पुगे। उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए। सोमबार बिहान प्रहरी पुगेर कोठा खोलेर हेर्दा दुवै बाबुछोरा मृत भेटिएका हुन्। 

घटनास्थल प्रहरी पुग्दा मृतक बाबुछोराको टाउकोको चोटमा रगत जमिसकेको थियो। शनिबार राति नै उनीहरूको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ। प्रवक्ता नेउपाने भन्छन्, ‘सँगै बसेका अर्का छोराको खोजी भइसकेको छ। उनी सम्पर्कमा आएपछि थप कुरा खुल्ने नै छ। अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएको छ। विज्ञ टोली खटाएको छ। 

फरेन्सिक विज्ञको टोली नै घटनास्थलमा गएर अनुसन्धान अगाडि बढाएको छ। उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.