सडक निर्माणको टुंगो नभएपछि मर्मत गर्न थालियो

सडक निर्माणको टुंगो नभएपछि मर्मत गर्न थालियो
सुन्नुहोस्

प्यूठान : करिब एक दशकदेखि चर्चामा रहेको भालुवाङ–बाग्दुला–भिमगिठे सडक निर्माण अन्यौलमा परेपछि नेपाल सरकार आफैंले मर्मतको काम सुरु गरेको छ। भारतीय एक्जीम बैंकको सहुलियत ऋणमा बन्ने भनिएको सडक निर्माणको टुंगो नभएपछि संघ, प्रदेश र स्थानीय सरकारले सडक मर्मत सुरु गरेका हुन्।

सडक डिभिजन कार्यालय प्यूठानले एक करोडको लागतमा प्यूठानको बाग्दुलाबाट सडक चौडा गर्ने काम सुरु गरेको छ। बैकल्पिक सहायक राजमार्ग अन्तर्गत ७ मिटरको सडक चौडा गर्ने, आवश्यकताअनुसार पर्खाल लगाउने काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी कमल पुनले जानकारी दिए। ‘करिव ८ सय मिटर लामो सडक मर्मत हुनेछ’, उनले भने, ‘यो ठेक्काबाट बचेको ४५ प्रतिशत रकमको समेत ठेक्का प्रक्रिया अघि बढाइएको छ।’

यस्तै प्रदेश सरकारको सहकार्यमा झिमरुक गाउँपालिकाले आफ्नो सिमा क्षेत्र बतासेडाँडाबाट सडक मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। प्राविधिक र आर्थिक मूल्यांकनको काम भइरहेको पालिकाका इन्जिनियर अशोक जिसीले बताए। करिव ५ करोडको लागतमा १० मिटर चौडाइको सडक चौडा गर्ने, नाला बनाउने, पर्खाल लगाउने, ह्युमपाइप राख्ने काम गरिने उनले जानकारी दिए।

पूर्व पश्चिम राजमार्गअन्तर्गत भालुवाङदेखि प्यूठान हुँदै बाग्लुङको भिमगिठे जोड्ने सडक निर्माणका लागि पुनः ठेक्काको प्रक्रिया अघि नबढ्दा योजना अलपत्र परेको हो। सन् २०१६ देखि सडक निर्माण प्रक्रिया अघि बढेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। दुई अर्बभन्दा बढीको लगानीमा एक्जिम बैंकले सडक स्तरोन्नतिको काम अघि बढाएको हो। निर्माणको काम थाल्ने समयमा निर्माण जिम्मेवारी पाएको केएमसी एण्ड टुन्डी निर्माण कालोसूचिमा परेपछि टेन्डर रद्द भएपछि योजना अलपत्र परेको हो।

सडक सुधार तथा विकास आयोजना दाङ सडक निर्माणका लागि बैंकको प्रतिक्रियाको पर्खाइमा रहेको छ। अहिले कर्मचारीलाई तलव खुवाउने बाहेक योजनासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढेको योजना प्रमुख सविन कोइरालाले बताए। ‘बैंकले के प्रतिक्रिया दिन्छ भन्ने पर्खाइमा छौं’, उनले भने, ‘नयाँ ठेक्काका लागि विस्तृत योजना प्रतिवेदन स्विकृति कुरिरहेका छौं।’

बैंकले अर्काे टेन्डर प्रक्रिया अघि नबढाउँदा योजना अलपत्र परेको प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताए। गत माघ महिनामा नेपाल सरकारले बैंकलाई योजना कार्यान्वयका सन्दर्भमा पत्र पठाए पनि जवाफ नआएको उनको भनाइ छ। पत्र पठाएको १० महिना बितिसकेको बताउँदै उनले भने, ‘प्रक्रिया तत्काल अघि बढाउनुप¥यो। होइन भने नेपाल सरकारकै लगानीमा सडक निर्माण गर्न अर्थमन्त्रीलाई भेटेरै अनुरोध गरेको छु।’

७३ किलोमिटर लम्बाइ स्तरोन्नतीको यो योजना आलपत्र हुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ। आयोजनाले बाटोमा काम नगर्नु भनेर काम गर्न नदिँदा वर्षौंदेखि सडक मर्मत समेत हुन सकेको थिएन। सडक मर्मतका लागि झिमरुक गाउँपालिकाले निर्णय गरेपछि प्रदेश सरकारले पालिका पहुँच मार्गअन्तर्गत मर्मतका लागि बजेट बिनियोजन गरेको पालिका अध्यक्ष पीतबहादुर महतराले बताए। 

यस योजनालाई प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना अन्तर्गत समावेश गर्ने गरी प्रक्रिया अघि बढाएको सडक पूर्वाधार कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.