प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन

प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन
सुन्नुहोस्

काठमाडौं : मुलुकको कूटनीतिक इतिहासकी धरोहर तथा पहिलो महिला राजदूत विन्देश्वरी शाहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको छ।  वि.सं १९९० यता विदेशस्थित नेपालका ३३ कूटनीतिक नियोगमा करिब डेढ सय बढीले राजदूतको जिम्मेवारी प्राप्त गरिसकेका छन्। तीमध्ये ‘पहिलो नेपाली महिला राजदूत’ का रूपमा विन्देश्वरी शाहको नाम इतिहासमै उल्लेख छ। पहिलोपटक अमेरिका पुग्ने नेपाली भनेर चिनिने पद्यसुन्दर मल्लकी छोरी हुन् विन्देश्वरी। 

परराष्ट्र मन्त्रालयकी प्रथम महिला अतिरिक्त सचिवबाट अवकाश पाएकी शाहको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। शाहले विद्यालय शिक्षा भारतको दार्जिलिङस्थित सेन्ट हेलेन्स कन्भेन्ट स्कुलबाट गरेकी थिइन्। उनले सोही स्कुलबाट सिनियर क्याम्ब्रिज कोर्स पनि पूरा गरिन्। शाह अमेरिका (कोलम्बिया युनिभर्सिटी) बाट स्नातक गर्ने पहिलो नेपाली महिला पनि हुन्। सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि थिइन्। 

‘न्युयोर्क हेराल्ड ट्रिब्युन’ को तर्फबाट अमेरिका जाने सूचीमा छनोट हुनु, अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने पहिलो नेपाली महिला, लाइब्रेरियन विज्ञान अध्ययन,  प्रतिष्ठित अमेरिकी विश्वविद्यालयबाट डिग्री हासिल र नेपाल फर्केर राष्ट्रिय पुस्तकालयमा लाइब्रेरियन बनेर नेपालको लाइब्रेरीलाई व्यवस्थित बनाउन पहल गर्ने एक प्रतिभाशाली महिलाका रूपमा शाह चिनिएकी थिइन्।

पूर्वराजदूत मदनकुमार भट्टराईका अनुसार लामो समयदेखि रोगले थलिएकी शाहको आफ्नै निवास कालीमाटीमा निधन भएको हो। सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्।

२०४४ सालमा उनी भारतका लागि राजदूत थिइन्। नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भएकी थिइन्। जनआन्दोलन लगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता गरेको थियो। शाहले २०४५ को भारतीय नाकाबन्दीका बेला नयाँदिल्लीमा नेपालका लागि राजदूतका रूपमा नाकाबन्दी हटाएर नेपाल–भारत सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन भूमिका खेलेकी थिइन्। उनका दुई छोराहरू अनिलकेशरी शाह र उज्ज्वल शाह हुन्। छोरा अनिलकेशरी पूर्वबैंकर तथा रास्वपाका नेता हुन्। अर्का छोरा उज्ज्वलको निधन भइसकेको छ। विन्देश्वरी नेपालबाट भारतका लागि अहिलेसम्म परराष्ट्र सेवाबाट गएकी अन्तिम करिअर राजदूत हुन्। उनीपछि भारतमा राजनीतिक भागबन्डाका आधारमा परराष्ट्र बाहिरका व्यक्तिहरू राजदूत हुँदै आएका छन्।

तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उनले परराष्ट्र सेवाबाट अवकास प्राप्त गरेकी थिइन्। शाह विन्देश्वरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहकी बुहारी हुन्। उनकै निवास कालिमाटीस्थित पुगेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले   श्रद्धाञ्जली दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.