सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीका कानुन व्यवसायीको बहस जारी
पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेक बहस जारी छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बहस जारी छ। शुक्रबारदेखि सुरू भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहेको छ। यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए।
सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ ,कृष्णबहादुर गुरुङ र आरती गुरूङको जिल्ला अदालत कास्की थुनछेक बहस भइरहेको हो। लामिछानेसहित सातजना प्रतिवादीविरुद्धको थुनछेक बहस गत मंगलबारबाट सुरू भएको हो।
थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।
यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ।
सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।