क्यालिफोर्नियाको आगलागीमा ५ जनाको मृत्यु, ५०० बढी संरचना जल्यो
एकलाख बढी मानिस घर छाडेर भाग्न बाध्य, १५ लाख बिजुलीविहीन
वासिङटन डिसी : अमेरिकाको क्यालिफोर्नियामा आगलागीबाट ५०० बढी संरचना जलेर नष्ट भएको जनाइएको छ। त्यस्तै आगलागीले गर्दा १५ लाख मानिस विद्युतविहीन भएका छन्।
पासाडेनाका अग्नि प्रमुख चाड अगस्टिनका अनुसार ७५० भन्दा बढी अग्नि नियन्त्रकहरू हाल इटनमा आगो निभाउने काम गरिरहेका छन् । अहिले आगो १० हजार ६०० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको जनाइएको छ।
आगो नियन्त्रणमा लिनको लागि अग्निनियत्रकहरु क्यालिफोर्निया र अन्य ठाउँबाट पनि आएका जनाइएको छ।
हालसम्म ५०० संरचनामा आगोले क्षति पुर्याएको बीबीसीमा उल्लेख छ। आगलागी हुरीको कारणले पनि छिटो फैलिरहेको जनाइएको छ। आगो निभाउन अझै केही दिन लाग्न सक्ने सञ्चारमाध्यमहरुमा उल्लेख छ।
त्यस्तै आगलागीले १ लाख भन्दा बढी मानिस घर छाडेर भाग्न बाध्य भएका छन्। आगलागीबाट अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको बीबीसी समाचारमा उल्लेख छ।
आगोले यस क्षेत्रमा बिजुली आपूर्तिमा ठूलो समस्या निम्त्याएको जनाइएको छ। क्यालिफोर्नियामा १५ लाखभन्दा बढी ग्राहकहरू बिजुलीविहीन छन्।
पावरआउट डट युएसका अनुसार लस एन्जलस काउन्टीमा लगभग दस लाख मानिस बिजुलीविहीन छन् भने नजिकैको ओरेन्ज काउन्टीमा १६२,४२८ ग्राहकहरूले बिजुलीविहीन भएका छन्।
मंगलबार राति आगलागी सुरु भएदेखि लस एन्जेलसमा अहिलेसम्म २६,००० एकडभन्दा बढीमा आगो फैलिएको जनाइएको छ।
प्यालिसेड्समा १५,००० एकडमा आगो फैलियो
सान्ता मोनिका र मालिबुको बीचमा लस एन्जलसको पश्चिममा रहेको प्यालिसेड्सको जंगली आगोले अहिले १५,००० एकड क्षेत्र ओगटेको छ। जुन लगभग २३ वर्ग माइल हो।
अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस नजिकैका तीनवटा जंगलमा मंगलबारदेखि भीषण आगलागी भएको छ। सीएनएनका अनुसार यो आगो पहिले प्यासिफिक प्यालिसेड्स, इटन र हर्स्टको जंगलमा लागेको थियो, त्यसपछि आवासीय क्षेत्रहरूमा पनि व्यापक रुपमा फैलिरहेको छ।
आगलागीले प्यासिफिक प्यालिसेड्सले सबैभन्दा बढी क्षति बेहोरेको छ। लस एन्जलस प्रशासनले शहरव्यापी आपतकाल घोषणा गरेको छ। यो अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो। यहाँ १ करोड मानिस बस्छन्।
क्यालिफोर्निया प्रशासनले सर्वसाधारणलाई प्रभावित क्षेत्रहरूमा नजान सल्लाह दिएको छ। यसैबीच, राष्ट्रपति जो बाइडेनले आर्थिक सहयोगको घोषणा गरेका छन्।
हेलिकप्टर र विमानको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ तर आँधीबेहरीका कारण आगो नियन्त्रण गर्न कठिनाइ भइरहेको छ। हावाको दिशा परिवर्तन हुँदै जाँदा आगो निरन्तर विभिन्न ठाउँमा फैलिरहेको छ।
प्रभावित क्षेत्रमा खटिएको उद्धार टोलीले हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुर्याइरहेका छन्। स्थानीय विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा तयार पारिएको छ।
आगलागीमा परेर हजारौं रूख र जनावरहरू जलेर खरानी भएका छन्। सडकमा ट्राफिक जामका कारण मानिसहरू आफ्ना कारहरू छोडेर सुरक्षित स्थानहरूतिर हिँडर गइरहेका छन्। एजेन्सी