पीडित पक्ष र व्यवसायीबीच सहमति जुटेपछि लामोसाँघु जिरी सडक सञ्चालन
सिन्धुपाल्चोक : बन्द रहेको लामोसाँघु–जिरी सडकखण्ड सञ्चालनमा आएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएपछि मृतकका आफन्तहरूले हिजोदेखि अवरुद्ध गरेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको हो।
पीडित पक्ष र व्यवसायीबीच भएको वार्तामा सहमति जुटेपछि अवरुद्ध लामोसाँघु–जिरी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
यात्रुले वैकल्पिक सडकको प्रयोग गरेपछि आफूहरूको मागमा प्रशासन र यातायात व्यवसायी गम्भीर नभएको भन्दै मृतकका आफन्तहरूले अरनिको मुख्य राजमार्ग खाडिचौर बजार शनिबार बिहानैदेखि सडक अवरोध गरेका थिए। उनीहरूले ठूलोपाखर, २१ किलो लगायतका स्थानमा पनि रुख काटेर सडक अवरुद्ध गरेका थिए।
आफन्तहरूले क्षतिपूर्ति लगायतका माग पूरा नहुँदासम्म शव नउठाउने बताउँदै सडक अवरुद्ध गरेपछि प्रहरी, जनप्रतिनिधि, यातायात व्यवसायी र पीडित पक्षबीच सहमति जुटेपछि सडक सञ्चालनमा आएको प्रहरी उपरीक्षक खड्काले बताए।
बिहीबार दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिँदा डाँडापाखरका दावा छिरिङ तामाङको जलेर मृत्यु भएको थियो। मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकलमा लागेको आगोमा परी चालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !