इतिहासको चिनो उर्फ निशान पदमार्ग

इतिहासको चिनो उर्फ निशान पदमार्ग
सुन्नुहोस्

इलाम : एक समय नेपालको नक्सा निक्कै फराकिलो थियो। त्यो फराकिलो नेपाल सुगौली सन्धिसँगै खुम्चियो। नेपाल एकीकरणताका पूूर्वी सीमा पनि टिस्टाबाट मेची नदीमा आइपुग्यो। वीरताको चिनो निशान पनि नेपाली वीरहरूसँगै फर्कियो। टिस्टा पुगेको पूर्वी सीमा इलामको मेची नदी वारिमात्रै रहयो। टिष्टाबाट फर्काइएको निशान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको थियो। पछि इलाम सदरमुकाम पुग्यो। नेपाली सेनासहित इलामका तीन स्थानीय तहको पहलमा त्यही पराजयको सम्झाउने निशान पदमार्ग पहिल्याएका छन्। 

पुस २४ देखि २६ सम्म निशान पदयात्राका क्रममा वीरताको इतिहासको बारेमा चर्चा मात्रै भएन स्थानीय परम्परा र रीतिरिवाजको अवलोकनसमेत गर्ने अवसर मिलेको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले बताए। उनले भने, ‘अहिले हिँडेको मार्गलाई ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने र त्यसमा स्थानीयको रीतिरिवाजलाई जोड्नसके महत्वपूर्ण काम भएको प्रमाणित हुनेछ।’ 

तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निशान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निशान पदयात्रा नाम दिइएको हो। नेपाल–भारत पूर्वी सीमा मेचीबजारबाट २४ गते बिहान पदयात्रा शुभारम्भ गरिएको थियो। 

मेचीबजारबाट सुरु भएको पहिलो दिनको यात्रा निशान ल्याएर राखिएको सूर्योदय नगरपालिका— ११ मा पर्ने करफोकको पूर्णेडाँडासम्मको थियो। टिस्टाबाट फर्किएको निशान पहिलोपटक पूर्णेडाँडामा बिसाइएको थियो। इलाममा सामरिक रूपमा समेत सुरक्षाका लागि प्रशासनिक अड्डा राख्ने क्रममा पूर्णेडाँडालाई रोजिएको थियो। १ हजार ३ सय मिटरको उचाइमा रहेको सामरिक दृष्टिले समेत सहज ठानेर पूर्णेडाँडामा वि.सं. १८७२ को सुगौली सन्धिदेखि १८७५ सम्म खलंगा रहेको थियो। 

प्रशासनिक अड्डाका इँटालगायतका भग्नावशेषहरू अहिले पनि त्यहाँँ पाइन्छन्। अड्डाका कलात्मक ढोकाहरू अहिले पनि गाउँघरमा पाइने गरेको स्थानीय दीपक अधिकारी बताउँछन्। 

ई.सं १८१६ अघि सिक्किम–दार्जिलिङ गोर्खा राज्य छँदा यस जिल्लाको सदरमुकाम दार्जिलिङ जिल्लाको नागरी भन्ने ठाउँमा थियो। सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिले नेपालको सिमाना मेची तोकेपछि त्यसबेलाका बडाहाकिम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पूर्णेडाँडामा सारेको अनुसन्धानकर्ता नरेन्द्रनाथ बाँस्तोलाले ‘पूर्वाञ्चलमा सात सालको क्रान्ति’ नामक पुस्तकमा उल्लेख गरेका छन्। 

त्यसबेला तमोर नदी पूर्वलिम्बुवान करफोकबाट हेरिन्यो। तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो। करफोक इलाम जिल्लाको पूर्वमा पर्ने भएकाले तत्कालीन प्रशासकहरूले यसलाई सामरिक रूपमा उपयुक्त ठानेनन्। दार्जिलिङको नजिक भएकाले पनि यो ठाउँ उपयुक्त नभएको भन्दै काजी हेमदल थापाले सन् १८२९ मा पूर्णेडाँडामा रहेको खलंगा हालको इलाम सदरमुकाम सारेको बाँस्तोलाको पुस्तकमा उल्लेख छ। यसबीचमा केही समय नाम्सालिङमा पनि खलंगा रहेको इतिहास पाइन्छ। 

नेपाली सेनाको टोलीले बाजागाजासहित तीन दिनको यात्रालाई प्रभावकारी बनाएको थियो। पुस २५ (बिहीबार) मा पूूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरेपछि निशान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार पुग्यो। २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निशान र तोप राखिएको इलाम सदरमुकामस्थित माईस्थानमा पुगेर समापन गर्ने कार्यक्रम छ। 

इलाम नगरपालिका, सूूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन्। यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाएको आयोजकको दाबी छ। 

टिस्टाबाट फर्काइएका निशान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको थियो। त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माईथानमा ल्याइएको इतिहास रहेको इतिहासका जानकार युद्धप्रसाद वैद्यको भनाइ छ। निसान पदमार्ग करिब ४१.१ किलोमिटरको छ। लामो समयदेखि स्थानीय सरकारले यसमा काम गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.