माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौं : सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले अन्नपूर्णलाई बतायो।
प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले सभामुख घिमिरेसँग संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता बिजनेस दिन सकिने विषयमा छलफल गरेका थिए।
संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएको थियो। संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले संयुक्त वक्तव्य जारी गरेर सरकारको आलोचना गरेको थियो। छिट्टै संसद बैठक नबोलाइए विशेष अधिवेशन आह्वानको प्रक्रियामा जाने चेतावनी पनि विपक्षीले दिको थियो।
प्रतिक्रिया दिनुहोस !
