सरकारको आयु छैन भन्ने हल्लाको पछाडि नलाग्नू, गठबन्धन ८४ सालसम्मै हुन्छ : उपप्रधानमन्त्री सिंह

बागलुङ : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले देशमा अस्थिरता अन्त्यको लागि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको बताउँदै आगामी निर्वाचनसम्म नै सरकार सञ्चालन हुने बताएका हुन् ।
उनले सरकारको अस्थिरताले विकास निर्माण ठप्प भएको र नागरिकहरूमा निराशा बढेपछि त्यसको अन्त्यको लागि ठूला दल मिलेर सरकार निर्माण गरिएको बताए । ‘देशमा सरकार बन्ने र ढल्ने गर्दा अस्थिरता मौलाउँदै गएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले अस्थिरता अन्त्यको लागि गठबन्धन गरेर सरकार निर्माण भएको हो । बाहिर सरकारको आयु छैन भन्ने हल्ला आएपनि त्यसमा सत्यता छैन । अहिलेको गठबन्धनको सरकार आगामी निर्वाचन २०८४ सालसम्मै टिक्छ। ’
अहिलेको सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न थालेको सिंहले बताए । उपप्रधानमन्त्री सिंहले नागरिकलाई छिटो र छरितो माध्यमबाट सेवा दिनको लागि सरकारले अध्यादेश ल्याएको बताए । ‘जनताको काम ढिला सुस्ती भएको कारण हटाउन अहिले अध्यादेश जारी भएको हो,’ उनले भने,‘कोभिडपछि देशको अर्थतन्त्रमा परेको प्रभाव घटाउन वर्तमान सरकारले सहयोग गरेको छ । पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार भएको छ।’
उपप्रधानमन्त्री सिंहले संविधान संशोधनको लागि काँग्रेस र एमालेले अध्ययन गरिरहेको बताए । उनले जनतालाई थप अधिकार सम्पन्न बनाउनको लागि संविधान संशोधन गर्ने तयारी गरिएको बताए । ‘सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता अनुसार अगाडि बढेको छौं । जनतालाई थप अधिकार सम्पन्न बनाउनको लागि संविधान संशोधन गर्ने तयारी गरिएको हो,’ उनले भने,‘संविधान संशोधनको लागि कुन कुन बुँदा संशोधन गर्ने भनेर काँग्रेस र एमालेले अध्ययन गरिरहेका छन् । अध्ययन पछि साना दलसँग पनि छलफल गरेर मात्र संशोधन प्रक्रिया अगाडि बढ्छ।’
उनले सरकारले केही गरेन भन्नेहरुलाई विकास निर्माणको गतिबाट जवाफ दिइएको बताए । शहरी विकास मन्त्री सिंहले नयाँ शहरी नीति २०८१ पास गरेर नयाँ शहरी आयोजनालाई थप व्यवस्थित गरिने बताए ।
प्रतिक्रिया दिनुहोस !
