जबसम्म कमलामा पानी, तबसम्म खेतमा हरियाली

जबसम्म कमलामा पानी, तबसम्म खेतमा हरियाली
सुन्नुहोस्

जनकपुरधाम : धनुषा औरही गाउँपालिकाका परवाहाका किसान रामहृदय यादवलाई यो वर्ष धानखेतीको समयमा सिँचाइको खासै समस्या भएन। विगतमा आकासेपानीको भरमा खेती गर्दै आएका उनलाई यस वर्ष खेतमै सिँचाइ सुविधा पुगेपछि धानखेतीका लागि चाहिने पानीको समस्या भएन। कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत परवाहा शाखाबाट सिँचाइ सुविधा पाएपछि किसान यादवले बर्सेनि बाली लगाउने बेलामा भोग्दै आएको पानीको समस्याबाट छुटकारा पाएका हुन्। ‘अघिल्ला वर्षहरूमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्‍थ्यो। तर, यो वर्ष नहरमा पानी आयो। त्यसैले समयमै धान खेती गर्न पाइयो।’ उनले पहिलाको जस्तो खेती गर्न पानीको कुनै समस्या नभएको बताए। 

धान, गहुँ, आलुजस्ता खेतीका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका औरही मखनाहाका किसान प्रदीप यादव पनि यस वर्ष धान खेतीका लागि पानीको समस्या भोग्नु परेन। ‘सिँचाइ सुविधा नहुँदा खेतीपातीका लागि पहिला कि त आकासेपानीको भर पर्नुपथ्र्यो। कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो, तर यो वर्ष नहरमा पानी आएपछि सहज रूपमा सिँचाइ गर्न पाएँ।’ 

विगत १२ वर्षदेखि कमला सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गतको परवाहा सिँचाइ शाखा अलपत्र अवस्थामा हुँदा सिँचाइबाट बञ्चित भएका किसान नहरमा पानी आउन थालेपछि खुसी छन्। गत वर्षसम्म गाउँका अधिकांश किसान आकासेपानीको भरमा खेती गर्दै आएका थिए। जसको मुख्य कारण समयमा वर्षाको भएको वर्षमा धान खेती हुन्थ्यो। वर्षा नहुँदा अधिकांश खेत बाँझो नै रहन्थ्यो। तर, परवाहा शाखाको अध्यक्ष सुजित मिश्र चुनिएदेखि नहरमार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको किसान सितापाल मोरहा बताउँछन्।

सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय हराभरा बनेका छन्। एक वर्षअघिसम्म सिँचाइको अभावमा खेती गर्न छाडेका किसान अहिले बाँझो खेतमा हरियाली अन्नपात फलाएका छन्। वर्षामा धेरै पानी पर्ने र हिउँदमा पानीको अभावले किसानमा छाएको निराशाको बेलामा १२ वर्षपछि गाउँमा कमला सिँचाइ प्रणालीअन्तर्गतको परवाहा शाखामा पानी आएपछि किसानमा हर्ष छाएको अध्यक्ष सुजित मिश्र बताउँछन्। धेरैजसो खेतबारीमा पानी नहुँदा असार महिनामा धानको बिउबिजनसमेत राख्न समस्या हुन्थ्यो। सिँचाइका लागि नहर मर्मत सम्भार तथा सञ्चालन भएपछि कमला सिँचाइ प्रणालीअन्तर्गत परवाहा शाखा डुमरियाका किसानहरू खेतमा बाली लगाउन पाएका छन्। 

औरही गाउँपालिका डुमरियाका किसान शेषनारायण यादवले बालबच्चा लालनपालन गर्न खेती लगायो, उचित समयमा सिँचाइ हुन नसक्दा बिउ पनि उब्जाउन मुस्किल हुने जग्गामा लटरम्म अन्नपात फलेको देख्दा खुसी व्यक्त गरे। उनले भने, ‘विगत वर्षमा वर्षाको समयमा मात्रै धान रोप्ने गथ्यौं तर यस वर्षदेखि हिउँदको समयमा पनि आलु, मकै, गहुँ बाली लगाउन थालेको छु। ‘हिउँदमा एक सिजनको बाली भिœयाइसकियो। अब फेरि मकै रोप्ने तयारीमा छौं, पानीको दुःख छैन, जबसम्म पानी हुन्छ, तबसम्म अब हाम्रो खेतबारीमा हरियाली हुन्छ।’

सिँचाइ अभावमा हिउँदमा बाँझै हुने जग्गामा पछिल्लो समय कमला सिँचाइ प्रणालीअन्तर्गतको परवाहा शाखाको पानी खेतबारीमा आएपछि १२ महिना खेती गर्न पाएको औरही गाउँपालिका बिर्ताकटिका किसान घुरण मुखियाले बताए। ‘कमलाको ठूलो पानी त्यसैखेर गइरहेको थियो तर किनाराकै जग्गा बाँझो हुँदा निकै पिर लाग्थ्यो, तर पछिल्लो समय नहरको मर्मत सम्भारपछिको सिँचाइ गर्न पाएपछि बाह्रैमहिना खेती गर्न पाएका छौं’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि हामीलाई अब कृषिबाटै आम्दानी लिन सहज भएको छ।’

धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेस–प्रदेशको धनुषा र सिरहाका किसानका लागि वरदान सावित भएको परवाहा शाखाका अध्यक्ष मिश्र बताउँछन्। परवाहा शाखाको २७ किलोमिटर नहरबाट तीन हजार किसान लाभान्वित भइरहेका छन्। जसबाट किसानको चार हजार हेक्टर जग्गामा सिँचाइ हुन्छ। 

कमला सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ सुविधा पाइरहेको छ। जसबाट ४० हजार किसान घरपरिवार लाभान्वित भएका छन्। आयोजनाको पश्चिमी नहर प्रणालीमार्फत धनुषाको १२ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। धनुषाको ६ नगरपालिका र दुर्ई गाउँपालिका गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ। आयोजनामार्फत सिरहाको १२ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा, सुखीपुर नगरपालिका र विष्णुपुर तथा औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ।

कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्बाइ १४.३ किलोमिटर रहेको छ। त्यसका चारवटा शाखा नहर छन्। कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्बाइ ३१.६ किमि रहेको छ। जसअन्तर्गत ८ शाखा छ। नेपालका ठूलामध्ये कमला सिँचाइ आयोजना पनि एक हो। २०१७ साल कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेको आयोजनाले २०४० सालबाट सिँचाइ सुविधा दिँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.