भोक, भोजन र रोग

भोक, भोजन र रोग

भोक शरीरको प्राकृतिक प्रक्रिया हो। जब शरीरमा इनर्जी कम हुन थाल्दछ, अनि भोकप्यास लाग्छ। सामान्यतया: मानिस सास बिना ३ मिनेट, पानी बिना ३ दिन र भोजनबिना ३ हप्ताभन्दा बढी बाँच्न सक्दैन। त्यसैले मानिसले शरीरको आवश्यकताअनुसार सास लिनुपर्छ, पानी पिउनुपर्छ र भोजन गर्नुपर्छ। 

अत: भोजन शरीरको इन्धन हो। भोजनबिना मानिसको जीवन चल्न सक्दैन। भोजनबाट नै शरीर, स्वास्थ्य, मन, भावना र संस्कार बन्दछ। जस्तो आहार त्यस्तै मन र जस्तो मन त्यस्तै जीवन चरित्र हुने भएकाले भोजनमा शुद्धता र पौष्टिकता जरुरी भएको हो। यो नै प्रकृतिको नियम र अनुशासन हो। त्यसैले स्वस्थ जीवनका लागि कस्तो भोजन, कति र कसरी ग्रहण गर्ने जान्नुपर्ने महत्वपूर्ण विषय हो। 

आयुर्वेद भन्छ, सात्विक र सन्तुलित भोजन ठीक ढंगबाट गर्ने हो भने भोजन ठीक ढंगबाट पच्छ र कब्जियत हुन दिँदैन। खाएपिएको भोजन पूरा पचेपछि मात्र शरीरलाई पोषण मिल्दछ भने यसबाट ओज बढ्न थाल्दछ र शरीरका धातुहरू स्वस्थ र सुदृढ अवस्थामा रहन्छन्। अनि तनमन दुवै निरोगी, स्वस्थ तथा सुन्दर बन्दै जान्छन्। 

हिजोआज देखा परेका अधिकांश रोगहरू गलत खानपिनबाट नै सिर्जना भएका छन्। र, रोगव्याधिहरूका कारण मानिस दु:खी र अशान्त छन्। त्यसैले तनमनलाई स्वस्थ र मजबुत राख्न खानपिनमा ध्यान दिन जरुरी छ। यदि खानपिन ठीक भएन भने संसारको कुनै पनि औषधिले मानिसलाई स्वस्थ बनाउन सक्दैन। 

तनमनलाई स्वास्थ्य राख्ने भोजन भनेको रूप र गुण नबिगारिकन तयारी पारिएका वनस्पतिजन्य प्राकृतिक पदार्थहरू हुन्। त्यसैले प्राकृतिक फलपूmल तथा ताजा भोजन सेवन गर्नु उत्तम हुन्छ। यस्तो भोजन नै मानिसको स्वाभाविक भोजन हो। यस्तो भोजन स्वादिष्ट हुनुका साथै पौष्टिक तथा अग्नि बढाउने सुपाच्य हुन्छ। तर, बासी र चिसो भोजन भारी, तामसिक र अपौष्टिक हुन्छ। आयुर्वेदको अनुसार भोजनलाई फ्रिजमा राखेरपछि तताएको, संरक्षक आदि पदार्थ हाली डिब्बामा बन्द गरिएको भोजन सेवन गर्न उचित हुँदैन। 

भोजन सधैं शान्त र प्रसन्न मनले तयार पार्ने तथा सेवन गर्नुपर्दछ। क्रोध, ईर्ष्या, द्वेष, चिन्ता, डर आदिमा रहेर सेवन गरेको भोजनमा स्वाद आउँदैन, पाचक रसको स्राव पनि ठीक प्रकारसँग हुन पाउँदैन। जसले गर्दा भोजनको पाचन समुचित रूपमा हुन पाउँदैन। भोजन गर्दा नबोली प्रशन्न मुद्रामा पलेटी मारी बसेर सेवन गर्नु राम्रो हुन्छ। गफ गर्दै वा टिभी हेर्दै भोजन गर्नु हानिकारक हुनसक्छ।

भोजन सधैं निश्चित समयमा भोजन गर्नुपर्दछ। दिनभर काम गर्नुपर्ने हुँदा बिहानको खाना राम्रोसँग खानुपर्दछ। सूर्याेदयसँगै बिहान १० बजेसम्म जठराग्नी बढी सक्रिय हुने हुँदा यही समयमा दिनको मुख्य खाना  खानुपर्छ। बिहानको खाना राम्रो भएमा कोलेस्ट्रोल बढ्ने तथा मधुमेहको खतरा हँुदैन। खानामा काँचो अंकुुरित अन्नहरू जस्तै मेथी, गहुँ, मुंगी, चना र सानो केराउको मिश्रण तथा फलफूलहरूको प्रयोग भएमा सबै खालको भिटामिन तथा मिनरलहरू प्राप्त हुन सक्दछ। फाइवरयुक्त खानाहरू जस्तै: आटा, सलाद, ढिंकीमा कुटेको चामल (पोलिस नगरेको) प्रयोग गर्नु उपयुक्त हुन्छ।

भोजन गर्ने उचित समय पहिचान गर्दा पहिला सेवन गरेको भोजन राम्रोसँग पचेको तथा पेटमा भारिपन नभएको महसुस भएपश्चात् मात्र भोजन सेवन गर्नुपर्दछ। भोक लाग्दा पनि भोजन नगरेमा शरीर कमजोर, थकावट, अरुचि, छालाको रंगमा परिवर्तन, दृष्टिमा कमी आदि जस्ता समस्याहरू उत्पन्न हुन थाल्छन्। 

अर्को कुरा के भने सन्तुलित मात्रामा भोजन गरेमा मात्र शरीरले पोषकतत्व प्राप्त गर्न सक्दछ। भोजन गर्दा पेटको एकतिहाइ भाग खाली रहने गरी सेवन गर्नुपर्दछ। यसरी भोजन सेवन गर्दा पाचक रस र कफ भोजनमा मिलेर पाचन हुनसक्छ र बातको गति पनि ठीक प्रकारसँग हुनसक्छ। भोजनको मात्राको निर्णय गर्न मानिसको आफ्नो प्रकृति, आयु, पाचक अग्निको शक्ति र अग्निको तीव्रतालाई विचार गर्नुपर्दछ। 

पाचनशक्ति राम्रो हुने मानिसले केही धेरै मात्रामा भोजन गरे तापनि धेरै कष्ट हुँदैन। तर, पाचनशक्ति कमजोर भएकाहरूले भारी भोजन गरेमा कष्ट उठाउनुपर्ने हुन्छ। आवश्यकताभन्दा कम भोजन गर्नाले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्न सक्दैन र अत्याधिक मात्रामा सेवन गरेको भोजनले आलश्य, भारीपन, मोटोपन तथा अपच आदि जस्ता समस्याहरू उत्पन्न गराउँछ। अनि विकारको जन्म हुन्छ। 

त्यसैले बिहान पर्याप्त भोजन गर्ने र बेलुकी आफ्नो शरीरको प्रकृति तथा गरीने शारीरिक श्रमअनुसार १, २ वटा सुक्खा रोटी, तरकारी र सुप सेवन आदिको हलुका भोजन मात्र गर्ने तथा सुत्नु अगाडि मनतातो दूध सेवन गर्नु राम्रो। बेलुकी पौष्टिक तत्व बढी भएको भोजन सेवन गर्दा त्यसबाट नै विकारको जन्म हुन्छ।

मुखमा पुगेको भोजन सबैभन्दा पहिला र्‍यालसँग मिल्दछ। भोजनलाई जति चपायो उति नै र्‍यालसँग मिल्दछ, मसिनो पनि हुन्छ, जसले गर्दा भोजनको पाचन क्रिया सरलतापूर्वक सम्पन्न हुन्छ। राम्रोसँग नचपाएको भोजन ठीकसँग पाचन हुन सक्दैन र अजीर्ण, कब्ज तथा गैस जस्ता रोगहरू उत्पन्न गराउँछ। 

त्यसैले भोजन राम्रोसँग चपाएर तरल जस्तो भएपछि मात्र निल्नुपर्दछ। तरल पदार्थ सेवन गर्दा विस्तारै पिउनुपर्दछ जसका कारण पाचन प्रक्रियामा सरलता हुन्छ। भोजन बिस्तारै चपाइचपाइ सेवन गर्ने, पेय पदार्थलाई पनि ठोस पदार्थ खाएझै बिस्तारै चपाइचपाइझै खाने गर्दा भोजन पचाउन सजिलो हुन्छ र थोरै खानाले पनि आवश्यक पोषण प्राप्त हुन सक्दछ। भोजन गरेको करिब १ घन्टासम्म पानी पिउनु उचित हुँदैन। 

यहाँ बुझ्नुपर्ने कुरा के भने साधारण शब्दमा भोजनलाई आहार भनिन्छ। तर, आयुर्वेदिक दृष्टिकोणले आहारको अर्थ व्यापक छ। मुख र जिब्रोले लिने खाद्य पदार्थहरू मात्र आहार होइनन् । आहारको वास्तविक अर्थ हुन्छ, बाहिरको चिज शरीरभित्र लिनु। जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो। भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं। तर, आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं। दृश्य पनि आहार नै हो। कानले लिने आवाज, छालाले लिने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो। 

मनोविज्ञान भन्छ, विचारको आहार त यति शक्तिशाली छ, जसले मानिसको बे्रनबोडीको रसायनिक संरचनालाई तुरुन्त परिवर्तन गरिदिन्छ। मानिसको विचारले नै मानिसको जीवन बनाउँछ। मानिसको जीवन बिर्गाछ। मानिसलाई स्वस्थ बनाउँछ। मानिसलाई रोगी बनाउँछ। जब व्यक्तिले नकारात्मक भावनाहरू अवचेतन मनमा दबाएर राख्दछ, बाहिर निक्लने बाटो दिँदैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्त हुन्छ, अनि तनाव, चिन्ता, हृदयरोग तथा अल्सर आदि जस्ता रोगहरू पैदा हुन्छन्। वास्तवमा रोगहरूको जरो भनेको नै अवचेतनमा दबेर रहेको नकारात्मक भावना हो। त्यसैले रोगहरूबाट छुटकारा पाउन, निरोग र स्वस्थ जीवन जिउन आयुर्वेद र मनोविज्ञानको यस धारणालाई हृदयांम गर्दै सात्विक र सन्तुलित भोजनका साथै आफ्नो आचारविचार पनि ठीक राख्नु अति आवश्यक हुन्छ। 

अत: रूप र गुण नबिगारिएका वनस्पतिजन्य पदार्थहरूबाट तयार पारिएका खानालाई उचित समय र मात्रामा मजाले चपाइचपाइ खाने तथा आचारविचार ठीक राख्ने हो भने ९० प्रतिशत रोगहरूबाट बच्न सकिन्छ। यो कुरा वैज्ञानिक रूपमा नै प्रमाणि भइसकेको छ। त्यसैले अस्पताल र औषधि होइन खानपिनमा ध्यान दिऔं र स्वस्थ र सुखी जीवन बाँचौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.