ट्रम्प तरंगको विश्व हलचल

ट्रम्प तरंगको विश्व हलचल

अमेरिका, विश्वका जो कोहीका लागि सपनाको देश। जहाँ जान जो कोही मरिहत्ते गर्छन्। विश्वभरकै मानिसका लागि पहिलो प्राथमिकताको देश हो, अमेरिका। आर्थिक रूपमा सम्पन्न विश्वकै शक्तिशाली मुलुक। पंक्तिकारले बीएस्सी तेस्रो वर्षमा मूल विषय भौतिक विज्ञान छान्नुको कारण नढाँटी भन्दा ‘गन्तव्य अमेरिका’ नै थियो। नेपालमा एमएस्सी सकेर माथिल्लो शिक्षाका लागि अमेरिका हानिने लक्ष्य थियो। तर परिस्थितिले नेपालगन्ज पु¥यायो। अनि भौतिकशास्त्री होइन, पत्रकार बनायो।

त्यतिबेला नेपालबाट भौतिक विज्ञान लिएर पढेका विद्यार्थी उच्च शिक्षाका लागि अमेरिका जान तुलनात्मक रूपमा सहज हुन्छ भन्ने भाष्य बनेको थियो र हुन्थ्यो पनि। मसँगै पढेका धेरै साथीले पनि अमेरिकालाई गन्तव्य बनाइसकेका छन्। त्यतिमात्र होइन, अमेरिकी साम्राज्यवाद भनेर चर्को आलोचना गर्नेदेखि अमेरिकाको विरोधमा सडकमै जनता उतार्नेका शाखा सन्तानको सपना पनि अमेरिकै बनेको भेटियो। त्यहाँ नपुग्नेका सन्तान भने धेरै उतै छन्। सही वा गलत, जुनसुकै बाटोबाट अमेरिका जान चाहनेको संख्या ठूलो छ। रुकुमलगायतका पश्चिमबाट ८० लाखदेखि एक करोडसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै त्यहाँ पुगेका छन्।

माओवादी सशस्त्र द्वन्द्वको बेलामा त द्वन्द्वपीडितको नक्कली कागज बनाएर पनि सयौं नेपाली अमेरिका भित्रिए। अन्य देशका नागरिक पनि नक्कली कागजात बनाएर त्यहाँ प्रवेश गर्ने र त्यसपछि पासपोर्ट फ्याँकेर असाइलम लिने गर्न थाले। यही कारण अहिले अमेरिकामा आप्रवासीको संख्या ठूलो छ। सन् १९९० मा अमेरिकामा जम्मा ३५ जना अनधिकृत आप्रवासी रहेकामा सन् २०२२ मा हालसम्मकै उच्च १ करोड २२ लाख पुग्यो। उक्त संख्या हाल घटेर १ करोड १० लाख रहेको प्यु रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। आप्रवासीको संख्या धेरै भएका १० देशमध्ये मेक्सिकोबाट ४० लाख ५० हजार, एल साल्भाडोरबाट ७ लाख ५० हजार, भारतबाट ७ लाख २५ हजार, ग्वाटेमालाबाट ६ लाख ७५ हजार, डोन्डुरसबाट ५ लाख २५ हजार, चीनबाट ३ लाख ७५ हजार, डोमिनिकन रिपब्लिकबाट २ लाख ८० हजार, भेनेजुएलाबाट २ लाख ७५ हजार, ब्राजिलबाट २ लाख ३० हजार र कोलम्बियाबाट १ लाख ९० हजार छन्।

सम्भावनाको खोजीमा जुनसुकै बाटोबाट पनि अमेरिका पुगेकादेखि लामो समय त्यतै बसिरहेकाको अहिले भने मुटुमा ढ्यांग्रो ठोकेको छ। गैरकानुनी तरिकाले पुगेकाको यतिबेला बेहाल छ। धेरैको रुवावासी छ भने कतिपय झिटीगुन्टा बोकेर कोही अमेरिकाकै एउटा ठाउँबाट अन्त त कोही देशै छाडेर पनि भागाभाग गर्दैछन्। वैध रूपमा नै बसिरहेकालाई पनि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रावासी माथिको नयाँ नीति र कानुन कस्तो आउने हो भन्ने अझै अन्योल छ। त्यसैले हाललाई उनीहरू सतर्क अवस्थामा छन्। अमेरिकाको ४७औं राष्ट्रपति बनेका ट्रम्पले आफ्नो शपथलगत्तै थालेका कदमले विश्वमा हलचल ल्याइदिएको छ। ‘अमेरिका फस्ट’ नीतिलाई अघि सारेका ट्रम्प आप्रवासीप्रति निकै आक्रमक ढंगमा प्रस्तुत हुनेछन् भन्ने ‘मास डिपोर्सन’ले पुष्टि गरिसकेको छ।

करिब २४ करोड जनसंख्या रहेको अमेरिकामा हाल करिब १ करोड १० लाख अनधिकृत आप्रवासी छन्। राष्ट्रपति ड्रम्पले चुनावताका अनाधिकृत आप्रवासीप्रति कडा नीति अवलम्बन गरिने मुख्य एजेन्डा बनाएका थिए। जनवरी २० तारिखमा पद सम्हालेसँगै उनले आप्रवासीलाई फिर्ता पठाउन थालेका हुन्। अमेरिकाले दिनहुँ ठूलो सख्यामा अवैध आप्रवासीलाई फिर्ता पठाइरहेको छ जसमा नेपाली पनि छन्। उनीहरूलाई पक्राउ गरेर हातमा हतकडी लगाएर लाइनबद्ध गरी विमान चढाइरहेका तस्बिर हिजोआज सञ्चारमाध्यममा जताततै देखिन्छन्। अमेरिका आप्रवासीहरूकै देश हो। राज्यसत्ता नयाँ पुराना जे भए पनि आप्रवासीको हालीमुहाली छ।

क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि विभिन्न देशबाट त्यहाँ गएर मानिसले बसोबास थालेका हुन्। सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाएपछि बेलायत, स्पेन, फ्रान्सलगायतका युरोपेली मुलुकबाट ठूलो संख्यामा मानिस त्यहाँ गए। उनीहरूले नै त्यहाँको राज्य सत्तामा प्रभुत्व कायम गरे। त्यहाँका आदिवासी रेड इन्डियनको अहिले राज्यसत्तामा पहुँच नै छैन। आप्रवासीकै सन्तान हुन् ट्रम्प पनि। उनका हजुरबुवा फ्रेडरिक ट्रम्प सन् १८८५ मा जर्मनीबाट अमेरिका बसाइँ सरेका थिए। उनी सुरुमा न्युयोर्क आइपुगे। त्यसपछि प्रशान्त उत्तरपश्चिममा सरेका थिए। त्यहाँ उनले रेस्टुरेन्ट र आतिथ्यतासम्बन्धी व्यवसायमा सफलता पाए। फ्रेडरिकका छोरा फ्रेड ट्रम्प अर्थात् डोनाल्ड ट्रम्पका बाबुको अमेरिकामै जन्म भएको थियो। उनी त्यहाँका एक सफल घरजग्गा व्यवसायी बने। त्यसैले राष्ट्रपति ट्रम्पको राजनीतिक करियरमा आप्रवासनमाथि प्राय: कडा अडान रहँदै आएको हो। अमेरिकामा आप्रवासनको इतिहासमा उनको परिवार पनि एक अहम् हिस्सा बनेको छ।

अहिले राज्य सत्ता सञ्चालनको साँचो हातमा लिँदै आप्रवासीकै सन्तानले आप्रवासीलाई नै ठेगान लगाउने काम भइरहेको छ। उता अमेरिकी राष्ट्रपति ड्रम्पले नेपाललाई दिने सबै खाले अनुदान सहयोग ९० दिनका लागि बन्द गरेका छन्। यसले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने आगामी निर्णयले तय गर्नेछ। अमेरिकी सहयोग एमसीसीको विषयमा के हुन्छ, त्यो अहिले यकिन भएको छैन। नेपालमा सबैभन्दा धेरै सहयोग दिने विदेशी राष्ट्रमा अमेरिका नै पहिलो नम्बरमा पथ्र्यो। त्यहाँबाट आएको सहयोगको ठूलो भाग परामर्श र कर्मचारी तलबभत्ता लगायतमा सकिन्थ्यो। थोरै मात्र लक्षित वर्गसम्म पुग्ने गरेको गुनासो पनि सुनिथ्यो। तर पनि सहयोग बन्दले नेपालजस्ता विदेशी दाताको अनुदान चलेका मुलुकमाथि असर नपार्ने कुरै भएन।

सन्की शासकका रूपमा चिनिने ड्रम्पले मेक्सिको, पानामा, क्यानडा, चीनलगायतका मुलुकका विषयमा दिएका अभिव्यक्तिले पनि अहिले विश्वलाई नै भूकम्पको धक्काले झैं हल्लाएको छ। ठूलठूला शक्ति राष्ट्रका नेता एवं शासकहरू त्रसित देखिन्छन्। ट्रम्प राष्ट्रपति भएपछि गाँजा क्षेत्रमा युद्धविराम भयो। रुस र युक्रेन युद्धलाई पनि टुंग्याउने पहलमा ट्रम्पले बारम्बार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घच्घच्याइरहेका छन्। मानव अधिकारको हिमायती मानिँदै आएको अमेरिकाका राष्ट्रपतिले डिभोर्सलाई धनीपुरुषको सम्पत्ति खाने कामको रूपमा व्याख्या गरेका छन्। उनले संसारमा दुई जात महिला र पुरुष मात्रै हुन्छन् भनेर तेस्रो लिंगीप्रति अनुदार प्रकट गरेका छन्। जलवायुसम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट पनि अमेरिका बाहिरिएको छ।

नेपालका कुनै शासकले यति गरेको भए नश्लवादी, पृथकतावादी, मानवअधिकार विरोधी, सम्राज्यवादी भनेर विपक्षी दलले सडकमा मान्छे उतारिसक्थ्यो। विभिन्न आरोप लाञ्छना लगाएर सामाजिक सञ्जालमा खोइरो खन्नेदेखि गालीबेइज्जती गरिन्थ्यो। माइतीघर मण्डलामा दिनहुँ रमिता लाग्थ्यो। विशेष त विदेशमा रहेका नेपाली पनि यसमा अग्रपंक्तिमा छन्। जुन व्यक्ति हिजो ट्रम्पलाई गाली गरेर स्टाटस लेखिरहेका हुन्थे, उनीहरू नै अहिले शासक यस्तो हुनुपथ्र्यो भन्दै लेखिरहेका छन्। ट्रम्पको पछिल्लो निर्णयले विश्वमा नै प्रभाव पारेको यसले पनि प्रमाणित गर्छ। ड्रम्पलाई जिताएपछि अब उनकै नीतिमा अमेरिका चल्नुपर्छ। उनको नीति रुचाएरै अमेरिकी जनताले उनलाई जिताए। अनुसन्धानका लागि विदेश जानु नराम्रो होइन। तर सिकेर स्वदेशको विकास र समृद्धिमा भूमिका खेल्नु नेपालीको कर्तव्य हो। यही पाठ सिक्नु जरुरी छ। ठूलो लगानी गरेर सक्षम बनाएपछि बिदेसिएकाले राज्यप्रति दायित्व निर्वाह गरेको पाइन्न।

अमेरिका बस्ने साथीले भनेजस्तो नेपालमा धेरै सम्भावना छन्। यही वर्ष नेपाल आएका उनले नेपालमा धेरै परिवर्तन भइसकेको महसुस पनि गरे। ‘त्यही हो जनता अल्छी भए। काम होइन, गफ गरेर, अरूलाई गाली, कुण्ठा, ईष्र्या गरेर नै खान पल्किए। विदेशमा समयमा मरेर काम गर्नुपर्छ’ उनले भनेका कुरा मानसपटलमा ताजै छन्। उनका अनुसार नेपाली स्वदेशमा चाहिँ डटेर काम नै गर्दैनन्। कामभन्दा कुरा गरेर समय बिताउँछन्। काम लगाउन पनि सरकारले सकेको छैन। त्यो वातावरण पनि बनाएन। आज अमेरिकाले आप्रवासीलाई देश निकाला र अनुदान सहयोग पूर्ण बन्द ग¥यो। भोलि अरूले पनि यस्तो कदम चाल्न सक्छन्। त्यसैले समयमै सोचौं। देशमा भएको अपार सम्भावनालाई सदुपयोग गर्ने नीति बनाएर अघि बढौं। भौतिक पूर्वाधारमा नेपालले फड्को मारिरहेको छ। जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालमा नै भविष्य छ। हामी सबै मिलेर देश बनाउन लाग्यौं भने अमेरिका र विश्वका अन्य जुनसुकै राष्ट्रले जस्तोसुकै नीति ल्याए पनि हामी आत्तिनु पर्दैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.