महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो, यसरी भएको थियो भागदौड
![महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो, यसरी भएको थियो भागदौड](https://annapurnapost.prixacdn.net/media/albums/Mahakumva_mela1_CYevazEWH0_KfZ14IGsOI.jpg)
काठमाडौं : भारतको महाकुम्भमेलामा भगदौडबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। घाइते हुनेको संख्या ६० पुगेको भारतीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
मृतकमध्ये २५ जनाको पहिचान खुलेको छ। उत्तर प्रदेशको प्रयागराज भइरहेको कुम्भमेलामा बुधबार राति करिब साढे १ बजे एउटा घाटमा भागदौड मच्चिएको थियो। प्रहरीले घटनाको हुनुको कारण पनि खुलाएको छ। त्रिवेणी संगम स्थलमा अस्थायी पुलहरू निर्माण गरिएको छ। सोही पुल भाँच्चिदा भागदौड मच्चिएको डीआइजी वैभव कृष्णले बताए। 'ब्रह्म मुहूर्तअघि राति १ देखि २ बजेको बीचमा अखडा मार्गमा श्रदालुहरूको ठूलो भीड जम्मा भएको थियो। सोही क्रममा पुल भाँच्चिदा भागदौड मच्चिएको हो,' सञ्चारकर्मीहरूसँग उनले भने।
घाइतेहरूको तुरुन्तै उद्धार गरी अस्पताल पुर्याएको बताए। तर, भीडका कारण उनीहरूलाई समयमै अस्पताल पुर्याउन कठीनाइ भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। बिहान १० बजेपछि मात्रै अमृत स्नान गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेका थिए। प्रधानमन्त्री मोदीले घटना दुःखद भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनापछि महाकुम्भ मेला क्षेत्र आसपास हेलिकोप्टरबाट निगरानी गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)