क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड
विराटनगर : विराटनगर महानगरपालिका–३ मा रहेको स्कुल अफ इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले आइतबार दिउँसो क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन्। प्रहरीका अनुसार घटना दिउँसो ४ बजेतिरको हो।
विद्यार्थीको दुई समूहबीच भएको विवादलाई क्याम्पस प्रशासनले साम्य पार्ने प्रयास गरिरहँदा एक्कासि कलेजमा तोडफोड भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कलेजमा सरस्वती पूजाको विषयलाई लिएर विद्यार्थीको दुई समूहबीच विवाद भएको थियो। सरस्वती पूजा सोमबार हो।
विद्यार्थीबीच विवाद बढेपछि क्याम्पस प्रमुख तेजराज गिरीले आफ्नै कार्यकक्षमा लगेर सम्झाइबुझाइ गर्न खोजेका थिए। गिरीले सम्झाउँदै गर्दा एक्कासि उत्तेजित भएर विद्यार्थी तोडफोडमा उत्रिएका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार तोडफोडबाट गिरीको कार्यकक्षमा रहेका फर्निचर, कम्प्युटरलगायतका सामानमा क्षति पुगेको छ। तोडफोडपछि करिब १५\२० जना विद्यार्थीको समूह फरार भएको जानकारी जोशीले दिए।
उनका अनुसार फरार रहेकाको खोजी भइरहेको छ। तोडफोडबाट ३ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको अनुसन्धान थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !