घाँटी थिचेर चाँदनीको हत्या गरिएको आशंका

घाँटी थिचेर चाँदनीको हत्या गरिएको आशंका

विराटनगर : विराटनगरमा १४ वर्षीया चाँदनी यादवको हत्या घाँटी थिचेर गरिएको हुनसक्ने आशंका गरिएको छ।  

हत्या गरेर गाडेको शव गत शुक्रबार फेला पारेको प्रहरीले उनलाई कसरी मारियो भनेर हालसम्म पत्ता लगाउन सकिरहेको छैन। हत्यामा बाबुआमादेखि मावली परिवारसम्म संलग्न रहेको प्रहरीले यकिन गरेको छ। तर, कसरी मारियो भनेर यकिन हुन सकेको छैन। 

प्रहरीले हत्यामा संलग्न भनेर चाँदनीका बुवा भारत बिहारको छपरा जिल्ला घर भएका अन्दाजी ४० वर्षीय लालमन राय यादव, आमा ३९ वर्षीया राजकुमारी राय यादव, मावली हजुरबुवा ५५ वर्षीय सरयुग मण्डल, हजुरआमा ५३ वर्षीया बतासी मण्डल, मामा ३५ वर्षीय रामबाबु मण्डल र माइजू जानकीदेवी मण्डलमाथि अनुसन्धान गरिरहेको छ। 

प्रहरीले उनीहरुकै मिलेमतो र संलग्नतामा चाँदनीको हत्या गरिएको निष्कर्ष निकालेको छ। हत्यामा संलग्न भनिएकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले चाँदनीको हत्या यसरी नै गरियो भनेर प्रष्ट हुन बाँकी रहेको जानकारी दिए। 

‘पक्राउ परेकाहरुले हत्याका बारेमा प्रष्ट कुरा बताइसकेका छैनन्। घटनाका बारेमा बोल्नै चाहँदैनन्,’ उनले भने, ‘हामीले निरन्तर सोधपुछ गर्दै थप अनुसन्धान गरिरहेका छौं। केही दिनमा यथार्थ आउला।’ उनका अनुसार पक्राउ परेकाहरुले घटनाका बारेमा खुलाउन नचाहे पनि कुटपिट गरेर हत्या गरेजस्तो देखिँदैन।

घाँटी थिचेर बालिकाको हत्या गरिएको हुनसक्ने आशंका रहेको उनले बताए। ‘घाँटी थिचेर श्वासप्रश्वासमा अवरोध पुर्याइ हत्या गरिएको हुनसक्ने देखिन्छ। अहिलेसम्मको अनुसन्धानले कुटपिट गरेर हत्या गरेजस्तो देखिँदैन। शरीरका अंगमा नीलडाम र चोटपटक छैन। सडेर दुर्गन्धित भइसकेको शव फेला परेकाले पनि हत्या कसरी भयो भनेर यकिन गर्न गाह्रो भयो,’ डीएसपी जोशी भन्छन्। 

उनले घटना कसरी गराइयो भनेर यकिन गर्न प्रहरीले पोस्टमार्टम रिपोर्ट पर्खिरहेको बताए। ‘केही दिनभित्रमा पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुन्छ। हत्या गरिएको कुरामा दुईमत भएन। मारिसकेपछि शव गाडिएकै हो। तर, हत्यामा संलग्नले भने अहिलेसम्म कुरा लुकाइरहेका छन्,’ उनले भने। 

भारत घर भएकी चाँदनीको उतै एक युवकसँग प्रेम सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको छ। प्रेम सम्बन्ध छुटाउन भनेर बाबु लालमन र आमा राजकुमारीले विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर ल्याएका थिए। तर, चाँदनीले त्यो व्यक्तिलाई छाड्न नसक्ने अडान लिइन्। 

अहिलेसम्म प्राप्त प्रमाणले विवाद बढ्दै गएपछि बाबुआमाकै मिलेमतोमा मावली परिवारसमेतले घाँटी थिचेर हत्या गरी खाल्डो खनेर शव व्यवस्थापन गरेजस्तो देखिने डीएसपी जोशीले बताए। उनले घटना भएको दिनको सीडीआर (कल डिटेल्स रेकर्ड)को पनि अध्ययन भइरहेको बताए। ‘त्यो दिन कसको कोकोसँग कुरा भएको रहेछ भनेर सीडीआरको अध्ययन पनि गरिरहेका छौं। घटनामा अरुको संलग्नता छ कि छैन भनेर थप अनुसन्धानपछि पत्ता लाग्छ,’ उनले भने। 

कोशी अस्पतालमा पोस्टमार्टम गरेर शव सोमबार आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। चाँदनीका बाबु लालमन र आमा राजकुमारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। मावली परिवारका अन्य ४ जना त्यसअघि नै पक्राउ परेका थिए। हत्यापछि मामाघर नजिकै खाल्डोमा गाडेको अवस्थामा गत शुक्रबार चाँदनीको शव फेला परेको हो। जोशीले माघ ११ गतेतिर हत्या भएको हुनसक्ने बताए। 

प्रहरीका अनुसार मामाघरदेखि १ सय २५ फिट दक्षिणमा खनिएको ४ फिट गहिरो खाल्डोबाट सडेर दुर्गन्धित भएको अवस्थामा शरीरका कपडासहितको शव निकालिएको थियो। घटनाको थप प्रमाण संकलन भइरहेको जोशीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.