बालविवाहको कुरूप तस्बिर

बागमतीमा मात्रै ६२ हजार किशोरी गर्भवती,६१ को मृत्यु

कानुन र संविधानमा बालविवाह दण्डनीय, किशोरी गर्भवती बढेको बढ्यै

बागमतीमा मात्रै ६२ हजार किशोरी गर्भवती,६१ को मृत्यु

हेटौंडा : संविधानको धारा ३९ ले बालबालिकाको मौलिक हक सुरक्षित गरेको छ। बालविवाह गर्न/गराउन पूर्ण बन्देज छ। मुलुकी अपराध संहिता, २०७४ ले त बालविवाह गर्ने/गराउनेलाई कैद तथा सजाय नै तोकेको छ। अपराध संहिताको दफा १७३ मा विवाहका लागि २० वर्षको उमेर तोकिएको छ। २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने तथा यस्तो कसुरमा तीन वर्ष कैद र ३० हजारसम्म जरिबाना तोकिएको छ। तर, संविधान र कानुनले बालविवाह बदर र दण्डनीय बनाए पनि व्यवहारमा भने त्यस्तो छैन। यसका लागि बागमती प्रदेशकै सरकारी आँकडा काफी छ। जहाँ पाँच वर्षमा ६२ हजार बढी किशोरी (२० वर्षभन्दा कम उमेरमा) गर्भवती भएको तथ्यांक छ। 

हुन त, हाम्रो समाजले अविवाहित महिला गर्भवती हुने अवस्थालाई सामान्यतः कल्पनासमेत गर्दैन। तर २० वर्षभन्दा कम उमेरमा गर्भवती हुँदा महिलाको शारीरिक, मानसिक, व्यक्तिगत विकासका हिसाबले उपयुक्त नहुने निष्कर्षका साथ विवाहका लागि २० वर्ष उमेर तोकिएको हो। तर, कानुनमा उल्लेख भएविपरीत बागमती प्रदेशमा भने २० वर्षभन्दा कम उमेरमा विवाहमात्रै नभई गर्भवतीसमेत भइरहेको सरकारी तथ्यांक नै छ। बागमती प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ४२ हजार ५ सय ६१ जना महिलाहरू गर्भवती भएका थिए। तीमध्ये १६ हजार ६ सय ७२ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरू रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रवक्ता अर्जुन पौडेलले बताए। यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा कुल गर्भवती संख्या १ लाख २० हजार २ सय २४ थियो। जसमा २० वर्षभन्दा कम उमेरका १३ हजार ३ सय ५ जना थिए। यस्तै आर्थिक वर्ष ०७८/०७९ मा १ लाख ३५ हजार ४ सय १२ जना महिला गर्भवती हुँदा १२ हजार ४ सय ४५ जना २० वर्ष कमका किशोरी रहेको प्रवक्ता पौडेलले बताए। आर्थिक वर्ष ०७९/०८० मा १ लाख २५ हजार १ सय ११ जना गर्भवती भएकोमा कम उमेरका किशोरीहरूको संख्या १० हजार ५ सय ९७ रहेको थियो। आर्थिक वर्ष ०८०/०८१ मा १ लाख १५ हजार ९ सय १० जना महिला गर्भवती भएकोमा उमेर नपुगी २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेको संख्या ९ हजार ३ सय ३० रहेको उनले बताए। उनका अनुसार गत पाँच वर्षमा कुल ६ लाख ३९ हजार २ सय १८ जना गर्भवती भएका थिए। जसमध्ये उमेर नपुगी २० वर्षभन्दा कम उमेरमा कुल ६२ हजार ३ सय ४९ जना गर्भवती भएका उनले बताए। 

२० वर्षमुनिका आमा सबैभन्दा बढी चितवनमा 

बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा वढी (२० वर्षभन्दा कम उमेर) का किशोरी गर्भवती हुने जिल्लामा चितवन छ। यस्तै दोस्रोमा काठमाडौं र तेस्रोमा मकवानपुर हो। सबैभन्दा कम रसुवा जिल्लामा २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुने गरेको पाइएको छ। 

चितवनमा आर्थिक वर्ष ०७६/०७७ मा २३ हजार ५ सय १५ जना गर्भवती हुँदा ४ हजार ९ सय ३५ जना २० वर्षभन्दा कम उमेरका थिए। यस्तै आव ०७७/०७८ मा १७ हजार ७ सय ९१ जना गर्भवती हुँदा उक्त वर्ष २० वर्षभन्दा कम उमेरका ३ हजार ५२ जना रहेका थिए। यस्तै आव २०७८/०७९ देखि २०८०/०८१ सम्म क्रमशः २१ हजार ४४ जना, २१ हजार ९३ जना र १७ हजार १ सय २५ जना गरी कुल १ लाख ५ हजार ६८ जना गर्भवती भएका थिए। जसमध्ये आव २०७८/०७९ मा २ हजार ७ सय ५ जना, आव २०७९/०८० मा २ हजार ६ सय १७ जना र आव २०८०/०८१ मा २ हजार ३ सय ३६ गरी २० वर्षभन्दा कम उमेरका १५ हजार ६ सय ४५ जना किशोरीहरू गर्भवती भएका छन्। 

यस्तै, संघीय राजधानीसमेत रहेको काठमाडौंमा पाँच वर्षमा २ लाख ३७ हजार ५ सय ९९ जना महिला गर्भवती भएका छन्। जसमा २० वर्षभन्दा कम उमेरका १४ हजार १ सय ३० जना किशोरी छन्। काठमाडौंमा आर्थिक वर्ष २०७६/०७७ देखि आव २०८०/०८१ सम्म क्रमशः ५१ हजार ३ सय ७१ जना, ४४ हजार १ सय ५७ जना, ५२ हजार ८ सय २० जना, ४५ हजार २ सय र ४४ हजार ५१ जना गर्भवती भएका थिए। जसमध्ये आर्थिक वर्ष २०७६/०७७ देखि आव २०८०/०८१ सम्म क्रमशः २ हजार ५ सय ३९ जना, ३ हजार २ सय ४९ जना, ३ हजार ६ सय ९९ जना, २ हजार ४ सय ६९ र २ हजार १ सय ७४ जना गरी कुल १४ हजार १ सय ३० जना २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती भएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ। यस्तै, प्रदेश राजधानीसमेत रहेको मकवानपुर २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुनेमा तेस्रो स्थानमा छ। मकवानपुरमा आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ५ सय १३ जना महिला गर्भवती हुँदा २० वर्ष कम उमेरका १ हजार २ सय ५५ जना किशोरी रहेका थिए। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ३ सय ६७ जना महिला गर्भवती हँुदा २० वर्ष कम उमेरका १ हजार १ जना किशोरी रहेको निर्देशनालयले जनाएको छ। यस्तै आव २०७८/०७९ मा १० हजार ९ सय ३ जना गर्भवती हुँदा २० वर्ष कम उमेरका १ हजार ३ सय २४ जना किशोरी रहेका थिए। यस्तै आव २०७९/०८० मा १० हजार ६ सय ५४ जना गर्भवती हुँदा १ हजार २५ जना कम उमेरका किशोरी थिए। यस्तै आव २०८०/०८१ मा १० हजार ३३ जना गर्भवती हुँदा २० वर्ष कम उमेरका १ हजार २९ जना किशोरी रहेका थिए। निर्देशनालयका प्रवक्ता पौडेलका अनुसार मकवानपुरमा मात्र पाँच वर्षमा कुल ४६ हजार ४ सय ७० जना महिला आमा बन्दा २० वर्ष कम उमेरका ५ हजार ६ सय ३४ जना किशोरी छन्। 

यस्तै, चौथो स्थानमा सिन्धुली पर्छ। जहाँ पाँच वर्षमा २६ हजार ८ सय ४८ जना महिला गर्भवती हुँदा ४ हजार ९ सय ५ जना किशोरी २० वर्ष कम उमेरका रहेका थिए। जसमध्ये आव २०७६/०७७ देखि आव २०८०/०८१ सम्म क्रमशः ६ हजार १७ जना, ५ हजार ६ सय ७० जना, ५ हजार ६ सय ३६ जना, ५ हजार ८६ जना र ४ हजार ४ सय ३९ जना गरी कुल २६ हजार ८ सय ४८ जना महिला गर्भवती भएका थिए। जसमध्ये आव २०७६/०७७ देखि आव २०८०/०८१ सम्म क्रमशः १ हजार ३ सय ४ जना, १ हजार १ सय ६३, ९ सय ३२ जना, ८ सय ६३ जना र ६ सय ४३ जना गरी कुल ४ हजार ९ सय ५ जना २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती भएका थिए। 

धादिङमा ५ वर्षमा २६ हजार ८ सय २५ जना गर्भवती हुँदा ४ हजार ३ सय ३७ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेका थिए। यस्तै काभ्रेपलाञ्चोकमा आव २०७६/०७७ देखि आव २०८०/०८१ सम्म ४२ हजार ९ सय ४६ जना गर्भवती भएकोमा ४ हजार ३ सय २१ जना २० वर्ष कम उमेरका किशोरी छन्। यस्तै ललितपुरमा समेत ५ वर्षमा ३२ हजार ३ सय ८७ जना गर्भवती भएकामध्ये ३ हजार ६२ जना २० वर्ष कम उमेरका किशोरी छन्। 

यस्तै, सिन्धुपाल्चोकमा पनि पाँच वर्षमा २१ हजार २ सय २७ जना महिला गर्भवती हँुदा २० वर्ष कम उमेरका किशोरीको संख्या २ हजार ६ सय ८७ रहेको छ। यस्तै दोलखामा कुल १३ हजार ६ सय ९९ जना महिला गर्भवती भएकोमध्ये १ हजार ७ सय ४१ जना २० वर्ष कम उमेरका किशोरी रहेको निर्देशनालयले जनाएको छ। यस्तै, नुवाकोटमा पाँच वर्षमा १८ हजार ३६ जना गर्भवती हुँदा २ हजार ५ सय ७३ जना २० वर्ष कम उमेरका छन्। यस्तै भक्तपुरमा पाँच वर्षमा ३२ हजार ३ सय ८७ जना महिला गर्भवती हुँदा १ हजार ४ सय ३६ जना २० वर्ष कम उमेरका किशोरी रहेका थिए। यस्तै, रामेछापमा पनि पाँच वर्षमा १० हजार ३ सय ५५ जना महिला गर्भवती हुँदा १ हजार ४ सय २० जना २० वर्ष कम उमेरका किशोरी छन्। यस्तै रसुवामा पाँच वर्षको अवधिमा ३ हजार ८ सय ६९ जना महिला गर्भवती भएका थिए। जसमध्ये ४ सय ५८ जना २० वर्ष कम उमेरका थिए। 

उपचारको क्रममा ६१ किशोरीको मृत्यु 

बागमती प्रदेशमा ४ वर्षमा ६१ जना गर्भवती किशोरीको उपचारको क्रममा मृत्यु भएको पाइएको छ। चार वर्षमा ६१ जना २० वर्ष कम उमेरका किशोरीको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता अर्जुन पौडेलले बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ६ जना, आव ०७९/०८० मा २२ जना, आव ०८०/०८१ मा २३ जना र ०८१/०८२ को पुससम्म १० जना गरी कुल ६१ जना गर्भवती किशोरीको उपचारको क्रममा मृत्यु भएको उनले बताए। यस्तै गर्भवती किशोरी सबैभन्दा बढी मृत्यु हुनेमा काठमाडौं छ। काठमाडौंमा चार वर्षमा ३४ जना गर्भवती किशोरीले उपचारको क्रममा ज्यान गुमाएका छन्। जसमध्ये आव ०७८/०७९ देखि आव ०८१/०८२ को पुससम्म क्रमशः ६ जना, १२ जना, १० जना र ६ जना रहेका थिए। ललितपुरमा आव ०७९/०८० मा ७ जना, आव ०८०/०८१ मा ७ जना र आव ०८१/०८२ मा २ जना गरी १६ जना २० वर्षभन्दा कम उमेरका गर्भवती किशोरीको मृत्यु भएको छ। यस्तै, ०७९/०८० मा २ जना, आव ०८०/०८१ मा ४ जना र आव ०८१/०८२ मा २ जना गरी ८ जना २० वर्ष कम उमेरका गर्भवती किशोरीको मृत्यु भएको छ। काभ्रेमा आव ०८०/०८१ मा २ जना र सिन्धुलीमा आव ०७९/०८० मा १ जना गरी कुल ६१ जना विभिन्न जिल्लाका २० वर्ष कम उमेरका गर्भवती किशोरीको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

६ वर्षमा बालविवाहका २५ वटा मात्रै उजुरी 

मुलुकको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पूर्ण बन्देज लगाएको छ। तर, त्यसको ठीकविपरीत बागमती प्रदेशमा भने २० वर्ष कम उमेरमा गर्भवती हुने संख्या बढ्दो क्रममा देखिन्छ। तर, गैरकानुनी रूपमा कम उमेरमा हुने विवाहसम्बन्धी विवाद स्थानीय स्तरमै मिलाउने गरेको पाइन्छ। 

बागमती प्रदेश (उपत्यका बाहेक) का १० जिल्लामा ६ वर्षमा जम्मा २५ वटा मात्र बालविवाहका उजुरी पर्नुले समेत यसलाई पुष्टि गरेको छ। जबकि बागमती प्रदेशमा पाँच वर्षमा २० वर्षभन्दा कमउमेरका ६२ हजार ३ सय ४९ जना किशोरी गर्भवती भएका थिए। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार ०७६ सालदेखि यो वर्षको पुससम्म प्रदेशका १० जिल्लामा बालविवाहसम्बन्धी २५ वटा मात्रै उजुरी परेका छन्। 

आर्थिक वर्ष ०७६/०७७ मा काभ्रेमा २ वटा, नुवाकोटमा ५ वटा र धादिङमा २ वटा गरी ९ वटा बालविवाहका उजुरी परेका थिए। यस्तै आर्थिक वर्ष ०७७/०७८ मा चितवनमा एउटा, सिन्धुलीमा २ वटा, काभ्रेमा २ वटा र धादिङमा ४ वटा गरी ९ वटा बालविवाहका उजुरी परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। यस्तै, आव ०७८/०७९ मा सिन्धुली र रामेछाप जिल्लामा एक/एक उजुरी परेका थिए। आव ०७९/०८० मा सिन्धुलीमा एउटा र आव ०८०/०८१ मा चितवन र काभ्रेमा एक/एक वटा उजुरी परेका थिए। आव ०८१/०८२ को पुुससम्म सिन्धुलीमा दुई वटा मात्र उजुरी परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकमा छ। 

आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा

२० वर्षभन्दा कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा पर्ने चिकित्सकहरू बताउँछन्। कम उमेरमा गर्भवती हुँदा किशोरीको प्रजनन शक्ति र अंग दुवै परिपक्क नहुने र स्वास्थ्यमा गम्भीर असर गर्ने हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरि खड्का बताउँछन्। ‘कम उमेरमा गर्भवती हुँदा आमा र बच्चामा मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्छ,’ डा. खड्का भन्छन्, ‘कम उमेरमा गर्भवती हुने महिलामा उच्च रक्तचापको खतरा बढी हुन्छ। गर्भवती किशोरी आमाको उपचारको क्रममा मृत्यु हुने सम्भावना पनि बढी हुन्छ।’ त्यसैगरी कम तौल भएका बच्चा जन्माउने र शिशुको मृत्यु हुने समस्या पनि हुने गरेको डा. खड्काले बताए। कम तौल भएका बच्चा जन्माउँदा उनीहरूको हड्डीमा समस्या हुने, श्वासप्रश्वासको समस्या हुने, निमोनिया चाँडै भइहाल्ने, मानसिक रूपमा पनि शिशुको ढिलो विकास हुने, रोगसँग लड्न सक्ने क्षमता निकै कम हुने हुँदा पछि गएर शिशुको मृत्युसमेत हुन सक्ने जोखिम बढने उनले बताए। यस्तै मानसिक स्वास्थ्य समस्याको रूपमा गर्भवती किशारीमा डिप्रेसनसमेत बढी हुने गरेको देखिन्छ। कम उमेरमै शारीरिक र मानसिक रूपले परिपक्क नहुँदै विवाह भएर गर्भवती हुँदा उनीहरूमा भोलि के होला, कसो होला ? भन्ने तनाव भइरहने पनि उनले जनाए। 

बालविवाह न्यूनीकरणमा करोडौं खर्च 

बागमती प्रदेशमा बालविवाह न्यूनीकरणमा करोडौं रकम खर्च भइसकेको छ। तर, बालविवाह घटनुको सट्टा बढ्दै गएको तथ्यांकले देखाउँछ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ देखि हालसम्म ११ करोड ९७ लाख रुपैयाँ बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमहरूमा खर्च गरिसकेको मन्त्रालयका प्रवक्ता अमृत अधिकारीले बताए। प्रदेश सरकारले बालमैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम, बालविवाहमुक्त प्रदेश निर्माणका लागि समुदाय परिचालन कार्यक्रम, विद्यालय तथा समुदायस्तरमा जनचेतनालगायतका कार्यक्रम गर्दै आएको भए पनि सोचे अनुरूप नभएको प्रवक्ता अधिकारीले बताए। ‘सामाजिक, सांस्कृतिक विषयका साथै गरिबी र अशिक्षा नै बालविवाहको मुख्य कारण हो,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालले समेत बाल विवाह बढेको देखिन्छ।’ बालविवाह रोकथामका लागि प्रदेशअन्तर्गतका १ सय १९ वटा स्थानीय सरकार नै सबैभन्दा नजिकको सरकार भएकाले उनीहरू अलि बढी सचेत र जिम्मेवार भई लाग्नुपर्ने उनले बताए। प्रदेश सरकारले अहिले संरक्षण नीति बनाएर अघि बढेको पनि उनले जनाए। ‘हाल त्यसको कार्यान्वयनका निम्ति कार्ययोजना बनाइरहेका छौं,’ उनले भने, ‘त्यसले पनि बाल विवाह न्यूनीकरणका निम्ति सहयोग पुग्ने विश्वास लिएका छौ।’ 

राष्ट्रियसभाका पूर्वसांसद पार्वती रावलले स्थानीय स्तरमा यौन तथा प्रजनन शिक्षासम्बन्धी ज्ञानको कमीका साथै अशिक्षा, गरिबी र परम्परागत सोचकै कारण पछिल्लो समय कम उमेरमा विवाह हुने र गर्भवती हुनेको संख्या बढेको बताइन्। संविधानले नै बालविवाहलाई बन्देज गरिसकेको अवस्थामा समेत बालविवाह बढ्नुमा संविधानको फितलो कार्यान्वयन रहेको उनको धारणा छ। ‘ग्रामीण भेगमा बालविवाह बढी हुने गरेको देखिन्छ,’ रावलले भनिन्, ‘ती क्षेत्रहरूको पहिचान गरेर स्थानीय स्तरमै पुगेर विशेष सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। कतिपय सन्दर्भमा हाम्रा समाजमा ढिलो बिहे गर्दा छोरीले केटा पाउँदैन्न भन्ने कुचलन पनि छ। तर उनीहरूलाई त्यसको असर र प्रभावबारे जानकारी नै छैन। यस्ता कुराहरूमा हाम्रा परम्परागत सोच, हाम्रा संस्कृति एवं आर्थिक कुराहरूले गर्दा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विवाह हुने गरेको छ। त्यसको न्यूनीकरणका निम्ति सरकारले विशेष योजना ल्याएर फिल्डमै गएर जनचेतना जगाउनु आवश्यक छ।’ संघ, प्रदेश र स्थानीय सरकारहरू पनि बढी जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ। 

स्थानीय सरकारको भूमिका देखिएन 

बालविवाह र २० वर्ष कम उमेरमा गर्भवती हुने संख्या पछिल्लो समय बढ्नुमा तीन तहकै सरकारको कमजोरी रहेको बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा बताउँछन्। प्रदेशका १ सय १९ वटै स्थानीय तहमा बालविवाह र त्यसले गर्न सक्ने असरबारे बुझाउन नसक्नु मुख्य कमजोरी रहेको उनले बताए। ‘बालविवाहको कारण जनस्वास्थ्यमा असर गर्न सक्छ,’ खतिवडाले भने, ‘राम्रो शिक्षा, आफ्नो आमाबुवाबाट पाउने माया ममताबाट वञ्चित हुनुपर्छ। यस्ता कुराहरू हामीले बुझाउनै सकेनौं।’ विद्यालयमा पठनपाठनका क्रममा समेत विद्यार्थीलाई कम उमेरमा विवाह हुँदा छिटो गर्भवती हुने र आमा र शिशु दुवैको स्वास्थ्यमा जोखिम हुने बारे बताउन नसकिएको उनले बताए। उनका अनुसार तीनै तहको सरकारको प्राथमिकतामा मानवीय विकासका क्षेत्रभन्दा बढी भौतिक विकास पर्नु पनि बालविवाह र २० वर्ष कम उमेरमा गर्भवती हुने संख्या बढ्नुको मुख्य कारण हो। यस्तै मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक भाष्करचन्द्र अधिकारीले नेपाली समाजमा पश्चिमा संस्कृतिहरूको प्रभावको कारण पनि कम उमेरमा विवाह हुने र गर्भवती हुने संख्या बढेको बताए। ‘तथ्यांकीय हिसाबले बालविवाह कम भएको देखिए पनि बालविवाह हुने क्रम रोकिएको छैन,’ उनले भने। बालविवाह भइहाले पनि कानुनी झन्झटबाट जोगिनको लागि स्थानीय स्तरमै मिलाउने गरिएको उनले बताए। त्यसको न्यूनीकरणका निम्ति नीतिगत तहबाट नै ऐन, कानुनहरूको तर्जुमा गर्दा नेपाली समाज सुहाउँदा नीति, नियम बनाउन सकेमा यस किसिमका सामाजिक समस्याहरूबाट जोगिन सकिने उनको भनाइ छ। यस्तै जनचेतनामूलक कार्यक्रमहरूको सञ्चालन, महिला साक्षरतामा अभिवृद्धि, कम उमेरमा हुने विवाह र सन्तान प्राप्तिका नकारात्मक प्रभावहरूको बारेमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनले बताए। 


कम उमेरमा गर्भवती हुँदा आमा र बच्चाको मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्छ। यस्ता किशोरीमा पछि गएर उच्च रक्तचापको खतरा बढी हुन्छ। त्यस्तै गर्भवती किशोरी आमाको उपचारको क्रममा मृत्यु हुने सम्भावना पनि बढी हुन्छ। डा. हरि खड्का, बालरोग विशेषज्ञ, हेटौंडा अस्पताल 

०७६ सालदेखि हालसम्म ११ करोड ९७ लाख रुपैयाँ बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमहरूमा खर्च भइसकेको छ। प्रदेश सरकारले बालमैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम, बालविवाहमुक्त प्रदेश निमार्णका लागि समुदाय परिचालन कार्यक्रम, विद्यालय तथा समुदायस्तरमा जनचेतनाका कार्यक्रमहरू गर्दै आएको छ। तर, सोचे अनुरूप प्रतिफल आएको छैन। अमृत अधिकारी, प्रवक्ता, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश 

यौन तथा प्रजनन शिक्षासम्बन्धी ज्ञानको कमीका साथै अशिक्षा, गरिबी र परम्परागत सोचकै कारण पछिल्लो समय कम उमेरमा विवाह हुने र गर्भवती हुनेको संख्या बढेको पाइन्छ। संविधानले नै बालविवाहलाई बन्देज गरिसकेको अवस्थामा समेत बालविवाह बढ्नुमा संविधानको फितलो कार्यान्वयन रहेको देखिन्छ। पार्वती रावल, पूर्वसांसद, राष्ट्रियसभा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.