क्यान्सरविरुद्धको सचेतना : साइकल र्यालीको महाकुम्भ
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको क्यान्सरविरुद्धको दसौं साइकल र्यालीमा सहभागीहरूको एउटै नारा थियो, ‘जय साइकल, जय पर्यावरण। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरस्थित प्रांगनमा रिबन काटेर साइकल र्यालीको शुभारम्भ गरेका थिए।
क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा विगत दस वर्षदेखि ‘राइड फर लाइफ’ भन्ने नारासहित सचेतना साइकल र्याली आयोजना गर्दै आएको छ। र्यालीमा सहभागीहरूले २२ किलोमिटर दूरी परिक्रमा गरेका थिए। र्यालीमा ५ हजार जनाले नाम दर्ता गराएका थिए।

क्यान्सरलाई प्रवेश हुन नदिऔं : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालीको शरीरमा क्यान्सर प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्ने बताए। ‘बिरामी बढी राख्ने र उपचारात्मक प्रणाली पनि पूर्ण नहुने अवस्थाले यो स्थिति अझै गम्भीर बनेर जान्छ । त्यसैले विरामीलाई न्यूनीकरण गर्ने स्थित बनाउनु पर्छ’, उद्घाटन समारोहमा उनले भने, ‘नेपालीको शरीरमा क्यान्सर प्रवेश नगर्ने स्थिति बनाउनुपर्छ। यसका लागि सचेतना र प्रवर्द्धनको काम जरुरी छ।’
व्यक्ति आफैं सचेत भयो भने कयौँ रोगबाट सुरक्षित राख्न सकिने उनको भनाइ छ। शिक्षा मन्त्रालयसँग स्वास्थ्य मन्त्रालयले विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य गर्ने तयारी गरेको उनको भनाइ छ। मन्त्री पौडेलले क्यान्सरको उपचारका निम्ति उपचारात्मक प्रणालीको विकास गर्न अझै जरुरी रहेको बताए।

उनले भने, ‘क्यान्सर लागेर धेरै विरामी भइरहेका छन्। धेरैले ज्यान पनि गुमाइरहेका छन्। तर, यसको उपचार पद्धति पूर्ण हुने स्थिति अझै नेपालमा बन्न सकेको छैन।’ उनका अनुसार गत वर्षको तथ्यांकअनुसार १४ हजार मानिसहरूको क्यान्सरबाट मृत्यु भएको छ। ‘क्यान्सर रोग जटिल बन्दै छ। यसलाई गम्भीर रूपमा लिनुपर्छ। १४ हजार मान्छेको मृत्युको संख्या सानो होइन्, यो धेरै ठूलो संख्या हो’, उनले भने, ‘त्यसैले प्राथमितामा राखेर राज्यले नीतिमै उपचारात्मक प्रद्धतिको विकास गर्ने लगानी गर्न आवश्यक छ।’

‘स्वस्थ जनता, स्वस्थ नेपाल’
‘स्वस्थ जनता, स्वस्थ नेपाल’का लागि अन्नपूर्ण मिडिया नेटवर्कले काम गरिरहेको अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए। नेटवर्कले राष्ट्र, राष्ट्रियता, रक्षा तथा लोकतन्त्रलाई संस्थागत गर्नका लागि संघर्ष गर्दै आएको उनको भनाइ छ। जनतालाई सुसूचित गर्ने, समाजलाई उत्कृष्ट र प्रविष्ट गर्ने प्रक्रियाअन्तर्गत स्वास्थ्य पनि त्यति नै संवेदनशील र महत्त्वपूर्ण मुद्दा रहेको उनको भनाइ छ। उनले भने, ‘यसै मुद्दाअन्तगर्त दसौं वर्षदेखि क्यान्सर केयर फाउण्डेनसँग सहकार्य गरेर अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध सचेतना अभिवृद्धि गर्दै आएका छौं।’ उनका अनुसार क्यान्सर केयर फाउन्डेसनले हजारौंलाई क्यान्सरबाट बचाउन धेरै मेहनत गरेको छ। त्यसैको एउटा रूप क्यान्सरविरुद्धको सचेतना रहेको उनले बताए। ‘फाउन्डेसनले हजारौं छोरीहरूलाई क्यान्सरबाट बचाउन धेरै मेहनत र उल्लेख्य भूमिका निर्वाह गरेको म गर्वका साथ भन्न सक्छु,’ क्याप्टेन थापाले भने।

जलवायु परिवर्तनको मुद्दाले संसारलाई ततायो
स्वास्थ्य र वातावरणीय विषय अहिले संसारकै गम्भीर समस्या र चासोको विषय बनेको अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले बताए। उनले अन्नपूर्ण मिडिया नेटवर्कले गर्दै आएको क्यान्सरविरुद्धको सचेतनामूलक साइकल र्यालीको प्रभाव पनि बढ्दै गएको बताए। उनले भने, ‘साइकल र्यालीको प्रभाव बढ्नुका सन्दर्भ, परिस्थिति पनि त्यति नै बढी छ। स्वास्थ्य र वातावरणीय विषय अहिले संसारकै गम्भीर समस्या र चासो बनेको छ।’
त्यस्तै नेपाल साइकिलिङ सघंका वरिष्ठ उपाध्यक्ष सुदीप पौडेलले यसपालीको साइकल र्यालीमा युवा स्वास्थ्य मन्त्रीका साथ पाएकोमा खुसी व्यक्त गरे। उनले मन्त्रीसँग भने, ‘काठमाडौं सहरलाई प्रदूषणमुक्त बनाउनुपर्छ। त्यसका लागि सबैले साइकल प्रयोग गर्नुपर्छ।’
९ जनालाई बम्पर उपहार
साइकल र्यालीमा सहभागीमध्ये ९ जनालाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिएको छ। जसमा प्रविन श्रेष्ठले १ लाख बराबरको पहिलो पुरस्कार प्यान्क बाइक हात पार्न सफल भए। त्यस्तै २ लाख ५० हजार बराबरको ट्रानक्वालिटी स्पा सोल्टी होटल एनुअल हेल्थ क्लबको मेम्बरसीपको कुपन सचिन श्रेष्ठको पोल्टामा परेको थियो।
त्यस्तै दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलको ६० हजार बराबरको एक रातको बसाइसहितको कुपनमा इरफान अन्सारीले जिते। दुसित प्रिन्सेस काठमाडौं, नेपालको तर्फबाट प्रदान गरिएको ४० हजार बराबरको एक रातको बसाईसहितको कुपन रुविन महर्जनले जिते। त्यस्तै दुसित प्रिन्सेसकै १० हजारको डिनर कुपन मनिष कार्कीले जिते।
त्यस्तै सातीन जनाले डीस होमको फोरके स्ट्रीमर डीभाइस जिते। जसमा रमेश वैजु, सुनिल राना र रोशन महर्जन रहेका छन्। ३२ इन्चको स्मार्ट पालसोनिक टिभी भने सागर महर्जनले जिते।
प्रतिक्रिया दिनुहोस !