निगौल गाई गौशाला अस्तव्यस्त बन्यो : मन्त्री अधिकारी
महोत्तरी : देशकै जेठो गोठका रूपमा परिचित रहेको गौशालास्थित निगौल गाई गौशाला असुरक्षित बन्दै गइरहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताएका छन्।
शनिबार निगौल गाई गौशालाको अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अधिकारीले राष्ट्रिय सहकारी विकास बोर्डको मातहतमा रही सञ्चालनमा रहेको संस्था असुरक्षित हुनु दुःखद रहेको बताएका हुन्।
मन्त्री अधिकारीले भने, ‘यहाँको जग्गा अतिक्रमित भइरहेको छ। गाईहरू असुरक्षित छन्। संस्थालाई रेखदेख गर्ने कोही पनि भएन। संस्था नै अस्तव्यस्त भइसकेको छ। यसलाई नयाँ सोचका साथ सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ।
सरकारले अब चाँडै नै विधि बनाई यस संस्थालाई उपयुक्त हुने निकायलाई हस्तान्तरण गर्नुपर्ने मन्त्री अधिकारीले धारणा राखेका छन्। यस संस्थाको मातहतमा रहेको अतिक्रमित जग्गालाई समयमै लिनुपर्ने मन्त्रीले अधिकारीले जोड दिए। मन्त्री अधिकारी आजै जिल्लाको मटिहानी, जलेश्वर र गौशालामा रहेका सार्वजनिक गुठीका जग्गाको अनुगमन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !