रतुवामा १७ वर्षपछि पुल निर्माण, सवारीसाधन सञ्चालन

रतुवामा १७ वर्षपछि पुल निर्माण, सवारीसाधन सञ्चालन

विराटनगर : मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण सम्पन्न भएको छ। 

पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्न १७ वर्ष लाग्यो। पुलको काम सकिएसँगै अब भने यातायातका साधन सञ्चालन गर्न गाह्रो पर्ने छैन। हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलामा १७ वर्षअघि काम सुरु गरिएको पुल बल्ल तयार भएको हो। 

पुल निर्माण सम्पन्न भए पनि पुलको पूर्व–पश्चिम सडकको काम भने बाँकी रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ। पुल निर्माण भएको स्थान झापातर्फ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरीगन्जमा पर्छ। झापाको क्षेत्र नम्बर ५ ओलीको निर्वाचन क्षेत्र हो। 

मोरङतर्फ सार्वजनिक लेखा समितिका सभापति एवं एमाले नेता ऋषिकेश पोखरेलको निर्वाचन क्षेत्र रतुवामाईमा पर्छ। मोरङको क्षेत्र नम्बर २ पोखरेलको निर्वाचन क्षेत्र हो। पुल निर्माण सम्पन्न भएपनि आसपासको सडकको कालोपत्रे गर्न बाँकी रहेको राजमार्ग योजना कार्यालयले जनाएको छ। 

निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा असारसम्मको थियो। तर, त्यसअघि नै पुलको काम सकिएको छ। हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बाँकी रहेको पूर्व–पश्चिम सडकको काम पनि असारअघि नै सम्पन्न हुने जानकारी दिए। उनका अनुसार पुल निर्माण आर्थिक वर्ष २०६४–०६५ मा सुरु भएको थियो। 

तर, लामो समयसम्म अधुरै रहेको पुल खोलाको बीचमा थियो। पुलको २ तिरबाट खोला बग्थ्यो। निर्माणका लागि दोस्रो पटक २०७९ सालमा ठेक्का लागेको हो। पुल नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न सर्वसाधारण बाध्य थिए। यात्रुले बाँसको पुलबाट खोला वारपार गर्दा साइकलको १० रूपैयाँ र मोटरसाइकलको २० रूपैयाँ तिनुपर्ने हुन्थ्यो। 

बर्खाको बेला ठूलो बाढी आउँदा खोला वारपार गर्न सम्भव थिएन। पुल निर्माण भएपछि आवतजावत सहज भएको छ। ‘पुल निर्माण भएपछि सवारी आवागमान भइरहेका छन्। पुलको पूर्व–पश्चिममा सडकको चलिरहेको छ,’  पोखरेलले भने। 

मोरङ–सुनसरी पुल आयोजनाले पहिलोपटक आर्थिक वर्ष २०६४–०६५ मा कालिका–ओसीए जेभीलाई १० करोड ३२ लाखमा पुल निर्माणको सम्झौता गरेको थियो। त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण गरियो। अधुरै रहेको पुल खोलाको बीच भागमा थियो। 

हुलाकी राजमार्ग कार्यालयका अनुसार दुवैतर्फ गरेर ७७.७ मिटर लम्बाइ थप गरेर पुल निर्माणका लागि देव एन्ड सायर–समता–आशिषदीप जेभीसँग दोस्रोपटक २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। त्यसपछि मोरङतर्फ ५१.६५ मिटर र झापातर्फ २६.०५ मिटर पुलको लम्बाइ थपिएको छ। हाल उक्त पुलको लम्बाइ २ सय ८२ दशमलव ५ मिटर छ।

रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउजाउ गर्न सहज भएको स्थानीयले बताए। तत्कालीन ठेकेदार कम्पनीले पुल अधुरै छाडेको थियो। 

अधुरो पुल निर्माण गर्न १५ वर्षपछि नयाँ ठेक्का लागेको हो। पुलको सुरक्षाका लागि झापातर्फ ६ सय ५० र मोरङतर्फ १ हजार ४ सय मिटरको तटबन्ध निर्माण भइरहेको जानकारी पोखरेलले दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.