गोरखाको धार्चेमा मकै बिहेको सिजन सुरु

गोरखाको धार्चेमा मकै बिहेको सिजन सुरु
सुन्नुहोस्

गोरखा : प्रमुख खेतीका रूपमा मकै खेती गरिने धार्चे गाउँपालिकामा धुमधामले मकै बिहेको सिजन सुरु भएको छ। शुक्रबार वडा नम्बर ४ लाप्राकमा धुमधामले मकै बिहे गरिएको छ। 

बारीमा रोप्नुअघि मकै बिहे गर्ने परम्पराअनुसार शुक्रबार धुमधामले मकै बिहे गरिएको वडाअध्यक्ष किसान गुरुङले बताए। उनका अनुसार बिहान ८ बजेदेखि मकै बिहे सुरु गरिएको थियो। धार्चे ५ सिङ्लामा गत बुधबार मकै बिहे गरिएको छ भने गुम्दामा शनिबार आयोजना गरिने सिङ्लाका राज गुरुङको भनाइ छ। 

बाजागाजा, नाचगानसहित घाटु कन्या र कुमारलाई डोलीमा बोकेर दिनभर गाउँ र आसपासको बारी परिक्रमा गरेपछि जन्ती गाउँमा पुगेर भुटेको मकैको भोज भतेर खाने प्रचलन रहेको स्थानीय मणिकाम देवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए।

गोरखाको धार्चे गाउँपालिका सबै गाउँमा मकै बिहे पुर्खादेखि चलेको चलन हो। मकै बिहे नगरी बारीमा रोप्नु हुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यता रहेको स्थानीयको भनाइ छ। ‘मकैको बिहे गरेपछि बल्ल बारीमा रोप्न सुरु हुन्छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘यसपालि पानी पर्न ढिला भयो। हिजो पानी पर्‍यो। अब दोस्रो हप्ताबाट मकै रोप्न सुरु हुन्छ।’

उनका अनुसार शुक्रबार लाप्राकका गाउँले सबै उर्लिएर धुमधामका साथ मकै बिहे गरेका छन्। गाउँले सबै मकैको जन्ती गए, नाचगान गरे, मकैको भोज भतेर खाएर रमाए। उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ। अरू गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन्।

बोन धर्मावलम्बी प्रकृति पूजक यहाँका किसानहरू मकैको उब्जनी राम्रो होओस्, असिना पानीले बाली नष्ट नगरोस्, गाउँमा रोग नफैलियोस् भन्ने कामनासहित मकैको बिहे गर्ने गर्छन्। जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन शनिबार मकैको घोगा जमिनमा गाड्ने र त्यस बेलादेखि गाउँमा बाजागाजा बजाउन नहुने चलन छ। ‘आज बिहान आठ बजे मकैको बिउ माटोबाट निकालेपछि बाजा खुल्यो अनि नाचगान गर्दै जन्ती निस्कियो’, वडाध्यक्ष गुरुङले भने, ‘गाउँभन्दा केही पर जंगलमा छाप्रो बनाएर घाटु कन्यालाई लुकाएर राखिन्छ। अनि जन्ती त्यहाँ पुगेर कन्या र कुमारलाई डोलीमा बोक्दै  ढ्यांग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित नाचगान गर्दै गाउँमा फर्किन्छौँ।’

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन्। जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ। त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ।

बेलुका फेरि ठूलो आँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाचसँगै मकै बिहे समापन हुने गुरुङ बताउँछन्। ‘यो एउटा प्राकृतिक पूजा हो, बर्सेनि माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.