८ हजार विद्यार्थीको निःशुल्क बाथ र मुटु जाँच
गुल्मी : गुल्मीमा रेसुंगा नगरपालिकाका भित्रका १५ वर्ष उमेर समूहका आठ हजार विद्यार्थीको निःशुल्क बाथ, मुटुरोग चेकजाँच गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको थियो। नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजना सुरु गरिएको निःशुल्क बाथ र मुटु रोग परिक्षणको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरेका थिए।
नगरप्रमुख पन्थीले नगरभित्रका प्रत्येक नगारिकको स्वास्थ्य सेवामा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए। पछिल्लो समय क्यान्सर, मिर्गौला र मुटुका बिरामी धेरै भेटिन थालेका छन्। नसर्ने त्यस्ता खाले रोगको बारेमा विद्यार्थीलाई जानकारी दिने र उनीहरूको निःशुल्क स्वास्थ्य परिक्षणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको पन्थीले बताए। समाज र समुदायमा विद्यार्थीमार्फत यस रोगको जानकारी र निवारणको उपायबारे सचेतना फैलाउन यस अभियानले थप टेवा पुग्ने उनले जानकारी दिए। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउँदै निर्माणधीन सुविधासम्पन्न गुल्मी अस्पतालको नयाँ भवनमा आईसीयू निर्माणसहितको स्वास्थ्य सेवा प्रदान गर्ने गरेर नगरपालिकाले योजना बनाएको उनको भनाइ छ।
केन्द्रीय समिति सदस्य तथा पूर्वजिल्ला अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले पछिल्लो समयमा सर्ने भन्दा नसर्ने रोग बालबालिकामा बढेको बताए। उनले नेपालमा बालबालिका सहित मानिसमा अत्याधिक मुटु रोग देखिएकाले त्यसको निवारणका लागि २०४५ सालमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान स्थापना भएको जानकारी दिए। अहिले नेपालका नेपाल हृदय रोग निवारण प्रतिष्ठानका ५७ जिल्लामा शाखा रहेका छन्।
२०६६ सालमा गुल्मीमा स्थापना भएको प्रतिष्ठानले जिल्लामा विभिन्न समयमा स्वास्थ्य शिविर लगायतका कार्यक्रम सन्चालन गरेर नागरिकलाई सेवा प्रदान गर्दै आएको छ। स्थानीय सरकारसँगको सहकार्यमा गुल्मी जिल्लामै पहिलोपटक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न लागेको पूर्वजिल्ला अध्यक्ष पाण्डेले बताए। नगरपालिकाभित्रका विद्यालयमा संचालन गरिएको स्वास्थ्य परिक्षण अभियानमार्फत जिल्लाभरको अवस्था सर्वेक्षण गरिने पाण्डेले बताए।
रेसुंगा नगरपालिकाभर सामुदायिक र संस्थागत ५० वटा विद्यालय छन्। विद्यार्थी उमेरमा बाथ र मुटुरोग किन लाग्छ ? रोग लाग्नुको कारण के हो ? यसको रोकथाम तथा निवारण कसरी गर्ने ? भन्ने बारेमा विद्यार्थीलाई मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडे जानकारी दिएका थिए। उनले कतिपय बालबालिकामा जन्मजात रोग लाग्ने बताए। अहिले वाथ र मुटुको रोग कम भएको तर यसको जोखिम कायमै रहेको बताउँदै विशेषज्ञ डाक्टर बन्जाडेले विद्यार्थीमा देखिएमा समस्या समाधान यसले थप टेवा पुग्ने बताए।
धूमपान, मद्यपान, मोटोपना, शारीरिक निष्क्रियता, खराब खानपिन मुटु रोगका कारण हुन्। नेपालमा प्रत्येक वर्ष १ हजार बालबालिकाको मुटु रोगका कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। विभिन्न कारणले अहिले १ लाख बालबालिका यस रोगबाट ग्रसित छन्। जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयबाट सुरु भएको निःशुल्क स्वास्थ्य परिक्षण तीनदिन चलेको थियो। नगरपालिका भित्रबाट आएको तथ्यांकका आधारमा जिल्ला र बालबालिकाको स्वास्थ्य अवस्थाको सर्वेक्षणमा मद्दत पुग्ने आयोजकले अपेक्षा लिएको छ।
प्रतिक्रिया दिनुहोस !