वीरगन्जका क्यासिनोमा मुख्यमन्त्रीको छड्के, एक नेपाली पक्राउ
वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा सञ्चालनमा रहेका क्याबिनहरूमा छड्के अनुगमन गरेका छन्। बुधबार वीरगन्जका निजी अस्पतालहरूको अनुगमनपछि मुख्यमन्त्री सिंहले वीरगन्जका दुई वटा क्यासिनोमापनि छड्के अनुगमन गरेका हुन्।
वीरगन्जमा हालः कूल चारवटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन्। तीमध्ये बुधबार मुख्यमन्त्री सिंहले वीरगन्जको होटल दियालो लर्ड्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन्।
होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा मुख्यमन्त्री सिंहले अनुगमन गर्ने क्रममा भेटिएका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा पनि लगाएको मुख्यमन्त्री सिंहका प्रेस संयोजक मनोज मोरबैताले जानकारी दिए। नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश निषेध रहेको छ।
दुवै क्यासिनोमा अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले क्यासिनो सञ्चालनका लागि सरकारबाट लिएको इजजातपत्र, क्यासिनोमा जुवा खेल्न आउने भारतीय ग्राहकहरूको आधार कार्ड, क्यासिनोको रिसेप्सनमा गरिएको ग्राहकको इन्ट्री रजिष्टरलगायतका कागजात एक एक गरेर जाँच गरेका थिए।
वीरगन्जका क्याबिनहरूमा नेपाली नाागरिकलाई निर्वाधरूपमा प्रवेश दिने गरिएको जनगुनासो आएपछि आँफुले अनुगमन गरेको मुख्यमन्त्री सिंहले बताए। दुवै क्यासिनोमा अनुगमनका क्रममा जुवा खेल्न आउने ग्राहकका बारे क्यासिनोका कर्मचारीले राखेका विवरणमा त्रुटि भेटिएको भन्दै उनले पछिल्लो एक महिनाको ग्राहकको इन्ट्री विवरण, सिसिटिभी क्यामेराको फुटेज, ग्राहकको विवरण लगायतका कागजात मुख्यमन्त्री कार्यालयमा पेस गर्न निर्देशन दिइएको उनले बताए।
अनुगमनका क्रममा दुवै क्यासिनोमा नेपाल सरकारले तोकेका प्रावधान र कानुनको कार्यान्वयनको अवस्था सन्तोषजनक नभेटिएको उनले बताए। उनले भने, ‘मैले दुवै क्यासिनाका सञ्चालकलाई एक पछिल्लो एक महिनाको विवरणसहितको कागजातहरू मागेको छु। ती कागजातहरू आएपछि अध्ययन गर्छु। यदि कानुनी प्रावधान नपुगेको भेटियो भने प्रचलित कानुन अनुसार कारबाही हुन्छ।’
प्रतिक्रिया दिनुहोस !