वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, एक अस्पताल बन्द गर्न निर्देशन
वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका निजी अस्पतालहरूमा बुधबार छड्के अनुगमन गरेका छन्। वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा रहेका ७ वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन्। त्यसक्रममा उनले इजजात बिना सञ्चालित एउटा अस्पताल बन्द गर्न अस्पताल प्रशासनलाई पत्र पनि काटेका छन्।
बुधबार मुख्यमन्त्री सिंहले वीरगन्जका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेण्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालिमा छड्के अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टरको अस्पताल सञ्चालनका लागि आवश्यक इजाजत पत्र लगायत कुनैपनि कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न पत्र काटेको अनुगमन टोलीमा सहभागी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए।
त्यस्तै अस्पतालको इजजात पत्र नविकरण नगरेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र पर्श मल्टिस्पेसिलिटी हस्पिटललाई तत्काल नवीकरण गराएर सम्पूर्ण कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थिती हुन दुवै अस्पतालका सञ्चालकलाई मुख्यमन्त्री सिंहले लिखित निर्देशन दिएको ठाकुरले बताए। अस्पतालको अनुगमनपश्चात अन्नपूर्णसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘वीरगन्जका निजी अस्पतालका सेवा बारे व्यापक जनगुनासो आएको थियो। त्यसैलाई मध्नजर गर्दै बुधबार आफैं वीरगन्ज आएर मैले निजी अस्पतालहरूको अनुगमन गरेको हुँ।’
अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टरमा पुग्दा त्यहाँ जिम्मेवार व्याक्ति कोहीपनि नभेटिएको र आवश्यक कागजातपनि अस्पतालले उपलब्ध गराउन नसकेपछि तत्काल बन्द गर्न पत्र काटेको उनले बताए। यस्तै भवानी हस्पिटल र र,स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलको नविकरण नै नगरिएको भेटिएकाले दुवैलाई तत्काल नवीकरण गराएर मन्त्रालयमा उपस्थित हुन पत्र काटिएको उनले बताए।
वीरगन्जका निजी अस्पतालहरुको अनुगमनका क्रममा अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोर पदार्थको उचित व्यवस्थापन नगरिएको, विपन्न,ज्येष्ठ नागरिकलाई उपचार शुल्कमा दिनुपर्ने १० प्रतिशत छुटको प्रावधान लागू नगरिएको, इजजात लिएको भन्दा बढी संख्यामा शय्या सञ्चालन गरेको जस्ता त्रुटि पनि भेटिएको उनले बताए। त्यसका लागि सम्बन्धित अस्पतालका सञ्चालक र व्यवस्थापकलाई मौखिक सचेत गराएको उनले बताए। १० प्रतिशत छुट दिएको भए त्यसको कागजात मन्त्रालयमा पेस गर्न निर्देशन पनि दिएको मुख्यमन्त्री सिंहले बताए।
यसअघि मुख्यमन्त्री सिंहले जनकपुरका पनि ४० भन्दा बढी निजी अस्पतालहरूको छड्गे अनुगमन गरेर नियम विपरीत सञ्चालित १० वटा अस्पताल बन्द गराइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !