भुटानको डाँगा युनाइटेडलाई हराउँदै झापा ११ फाइनलमा
झापा : भुटानको डाँगा युनाइटेड एफसीलाई हराउँदै झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ। झापाले कम्तीमा ७ लाख रुपैयाँ पुरस्कार पक्का गरेको छ।
भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोफसलको चर्चित क्लब झापाले विदेशी टोली भुटानको डाँगा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो। खेलको ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो। पहिलो हाफ गोलरहित खेलको झापाले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो।
एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रूपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो। भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो। खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए।
घरेलु दर्शकको समर्थन रहेको झापाले दोस्रो हाफको अतिरिक्त समयमा खेल २–१ को स्थितमा पुर्यायो। मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई रोहण कार्कीले पोस्टको दिशा दिए। अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याए। समीर तामाङको क्रस पासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे।
खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोके। खेलको १७ औँ मिनेटमा भुटानका तुषार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे। खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो। हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो। खेलको ३७ औँ मिनेटमा झापाका समीर तामाङले पेनाल्टी एरियामा चुके।
खेलको ६८ औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो। खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समीर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके। खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए। उनले नगद २१ हजार र ट्रफी पाए। खेलपछि भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरुङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए।
झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन् बढेर गएको उनको भनाइ छ। त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए।
केपी ओली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ। शुक्रबार हुने फाइनल खेलमा गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दीपेश ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !