अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार
ट्रम्पलाई खनिज नदिए युद्धमा प्राप्त पैसा तिर्न १० पुस्ता लाग्छ : जेलेन्स्की
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाको भ्रमण गर्ने दाबी गरेका छन्।
उक्त सम्झौता अमेरिकी सैन्य सहायताको बदलामा युक्रेनको दुर्लभ खनिज स्रोतहरू अमेरिकाले प्रयोग गर्न पाउनेसँग सम्बन्धित छ।
यो सम्झौता ट्रम्पको दबाब र धम्कीपछि भएको हो। जेलेन्स्कीले ट्रम्पले रुस विरुद्धको युद्धमा सहयोगको नाममा अमेरिकाले अहिलेसम्म प्राप्त गरेको लगभग ५०० अर्ब डलर फिर्ता माग गरिरहेको बताउँदै भने, ' यदि ट्रम्पलाई युक्रेनको खनिजमाथि अधिकार नदिए५०० अर्ब डलर तिर्न युक्रेनको १० पुस्ता लाग्ने छ।'
यस सम्झौतामा युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै उल्लेख छैन।
शुक्रबार हुने अमेरिका भ्रमणको बारेमा बोल्दै जेलेन्स्कीले भने, 'यो त सुरुवात मात्र हो। यसको सफलता राष्ट्रपति ट्रम्पसँगको हाम्रो वार्तामा निर्भर गर्नेछ।'
युक्रेन युद्धविराम सम्झौता अन्तर्गत भविष्यमा हुने कुनै पनि रूसी आक्रमणबाट सुरक्षाको ग्यारेन्टी चाहन्छ। तर अमेरिकाले कुनै पनि ग्यारेन्टी दिन अस्वीकार गरेको छ।
युक्रेनमा विश्वको ५% कच्चा पदार्थ
युक्रेनमा विश्वको कुल दुर्लभ पृथ्वी कच्चा पदार्थको लगभग ५% छ। यसमा लगभग १ करोड ९० लाख टन ग्रेफाइट भण्डार छ। यसबाहेक युक्रेनसँग युरोपको कुल लिथियम भण्डारको ३३% छ। युद्ध सुरु हुनुभन्दा अघि, युक्रेनले विश्वव्यापी टाइटेनियम उत्पादनको ७% ओगटेको थियो।
युक्रेनमा दुर्लभ पृथ्वीका धेरै महत्त्वपूर्ण भण्डारहरू छन्। यद्यपि युद्धपछि यीमध्ये धेरै रूसको नियन्त्रणमा आएको छ। युक्रेनी मन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसले कब्जा गरेको युक्रेनी भागमा ३५० अर्ब डलर बराबरको स्रोतहरू छन्।
ट्रम्पले युक्रेनसँग मागे ५०० अर्ब डलर बराबरको खनिज पदार्थ
ट्रम्पले लगभग एक महिनादेखि युक्रेनी सरकारलाई अमेरिकालाई दुर्लभ खनिज पदार्थ दिन दबाब दिइरहेका थिए। उनले यदि युक्रेनलाई अमेरिकी सहयोग चाहिन्छ भने उसले अमेरिकालाई ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज पदार्थ दिनुपर्ने जनाएका छन्।
उनले जेलेन्स्कीलाई धम्की दिंदै खनिज पदार्थ नदिए अमेरिकाले युक्रेनलाई थप सहयोग दिन बन्द गर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस !