भूकम्प पीडितको पुनःस्थापनाका लागि कार्यान्वयन इकाई स्थापना हुँदै
काठमाडौं : जाजरकोट, बझाङ र डोटीमा पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई स्थापना हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले भूकम्पपछिको क्षति आकलन, पुनःनिर्माण र पुनःस्थापना गर्न कार्यान्वयन इकाई स्थापना गर्ने निर्णय गरेको हो।
आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ।
गृहमन्त्री रमेश लेखले भूकम्पपछिको पुनःनिर्माण एवं पुनःस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए। वितेको ६ महिनामा विस्तृत क्षति आकलन र निजी घरहरूको पुनःनिर्माण एवं पुनःस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको कार्य भएको उनले बताए।
गृह मन्त्रालयले जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ। जाजरकोटमा गत २०८० कात्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कात्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो।
प्रतिक्रिया दिनुहोस !