मन्त्री यादवको निर्णय- खानेपानी प्रणालीमा क्लोरिनेसन युनिट अनिवार्य
काठमाडौं : अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्यरूपमा जडान गरिने भएको छ। खानेपानी मन्त्री माननीय प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै अबदेखि कुनै पनि खानेपानी प्रणाली क्लोरिनेसन प्रक्रिया बिना सञ्चालन गर्न नपाइने बनाएका हुन्।
सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजना बनाएकाले अब अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नु पर्ने मन्त्री यादवले बताए। 'खानेपानी मात्र पर्याप्त हुँदैन, गुणस्तरीय र सुरक्षित हुनु पनि जरुरी छ । सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो, र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ,' उनले भने।
नेपाल सरकारले सन् २०३० भित्र ९९ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य राखेको छ। संघ, प्रदेश, तथा स्थानीय तहको सहकार्यमा क्लोरिन युनिट प्रविधि प्रभावकारीरूपमा कार्यान्वयन गरिने मन्त्री यादवले बताए। मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार यो निर्णय आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोसेढुङ्गा सावित हुनेछ।
'मन्त्रीस्तरीय निर्णयमार्फत अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस निर्णयले आम नागरिकलाई सुरक्षित, शुद्ध र गुणस्तरीय पिउने पानी सुनिश्चित गर्दै पानीजन्य रोगको जोखिमलाई न्यून गर्नेछ,' उनले भने।
क्लोरिन युनिट जडानको अनिवार्यता लागू भएसँगै दूषित पानीका कारण हुने रोगहरूको दरमा उल्लेखनीय गिरावट आउने विश्वास गरिएको छ। सरकारको यो निर्णयले सम्पूर्ण देशभरि स्वच्छ, सुरक्षित, र गुणस्तरीय पिउने पानीको सुनिश्चितता गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा ऐतिहासिक योगदान पुर्याउनेछ। नेपाल सरकार सुरक्षित पिउने पानी, स्वस्थ नागरिक अभियानप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !