भूकम्पको जोखिममा उपत्यका : भूकम्प आउँदा तर्सिन्छन्, त्यसपछि बिर्सिहाल्छन्
काठमाडौं : भूकम्पका सानातिना परकम्प गए कि, राजधानीमै मानिसहरू आंत्तिन्छन्। घर छोडेर सडकमा पुग्छन्। कंक्रिटको सहर काठमाडौं उपत्यकामा भूकम्पभन्दा छिटो मानिसको निस्सासिएर ज्यान जाने भूकम्पविद्हरू बताउँछन्। वर्षौंदेखि भइरहेको अव्यवस्थित बसोबासले यहाँ खुला जमिन पनि छैन।
काठमाडौं उपत्यकामा मात्रै करिब ८ लाख घरधुरी छन्। यसमध्ये ८१ दशमलव ५ प्रतिशत अर्थात् ६ लाख ४६ हजार घर आवासीय रूपमा प्रयोग भएका छन्। व्यावसायिक प्रयोजनका लागि ७ दशमलव ७ प्रतिशतमात्र घरहरू प्रयोगमा छन्।
५५ हजार परकम्प
सबैको बिर्सिहाल्ने बानी छ
भूकम्प जाँदा यो गर्छु, त्यो गर्छु भन्ने नागरिक र सरोकारवाला निकायहरूले विस्तारै भुल्दै जाने गरेको झाले बताइन्। ‘भूकम्प गएको बेला सबैलाई आफ्नो शरीर प्यारो लाग्छ। सबै कुरा गर्छु, भन्छन्’, उनले भनिन्, ‘तर, बर्सेनि नागरिकले त्यसलाई भुल्दै जाने गरेका छन्। सरोकारवाला निकायले पनि भूकम्प जोखिमबाट जोगिन त्यति ध्यान दिँदैनन्।’
भूकम्पको बेला काठमाडौं उपत्यकामा हुने जोखिम र सुरक्षाका बारेमा विभागले नक्सांकन गरेको भए पनि त्यसलाई कार्यान्वयन गर्नका लागि नागरिक र सरोकारवाला निकायले चासो नदेखाएको उनले गुनासो गरिन्। ‘काठमाडौं उपत्यकामा घरजग्गा महँगो छ। सबैको सहज पहुँच हुँदैन’, उनले भनिन्, ‘नागरिकहरू सस्तो खोज्दै जाने र खोलाकिनारमा बस्ती बसाउँदा भूकम्पको धेरै जोखिम बढेको देखिएको छ।’ भूकम्पको बेला खोला छेउछाउको जग्गा हल्लिँदा पानी जम्मा भइहाल्नेसमेत उनले सुनाइन्।
नेपाल भूकम्पीय जोखिममा रहेकाले जुनसुकै बेला पनि खतरा हुन सक्ने झाले बताइन्। ‘भूकम्पको इपिसेन्टर जहाँ छ, त्यसको तीन सय किलोमिटर वरिपरि असरको क्षति हुन्छ’, झाले भनिन्, ‘काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा अहिले पनि पराकम्पन गइरहेका छन्।’ तीन तहकै सरकारले भूकम्पीय जोखिमको क्षेत्रमा गरेका सुरक्षाका सबै विधि र नीति नियमहरूलाई पालना गर्न उनले सुझाव दिइन्। नागरिक अझ बढी सचेत हुनुपर्ने उनको सुझाव छ।
उपत्यकामा मात्रै ८ लाख घर
राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब ८ लाख घर छन्। सबैभन्दा धेरै काठमाडौंमा ५ लाख ४४ हजार ८ सय ६७, ललितपुरमा १ लाख ४० हजार ३ सय ६७ र भक्तपुरमा १ लाख ८ हजार ५ सय ३ वटा छन्। उपत्यकामा ७ लाख ९३ हजार ७ सय ३७ वटा घर छन्। काठमाडौंका घरधुरीहरूमध्ये ८१ दशमलव ५ प्रतिशत घरहरू आवासीय हुन्। ७ दशमलव ७ प्रतिशतमात्र व्यावसायिक घरहरू रहेको तथ्यांकले जनाएको छ। जनसंख्याको हिसाबले पनि काठमाडौं सबैभन्दा ठूलो छ। यहाँ २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या छ।
ललितपुरमा ५ लाख ५१ हजार ६ सय ६७ र भक्तपुरमा ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या छ। काठमाडौंमा औद्योगिक क्षेत्रले ओगटेका घरहरू १ दशमलव २ प्रतिशत मात्र हो। सरकारी कार्यालय र निवासले ओगटेको क्षेत्र एक प्रतिशतमात्र छ। बर्सेनि बढ्दै जाने जनसंख्या र घरधुरी संख्याले भूकम्प सुरक्षाको हिसाबले काठमाडौं उपत्यका त्यति सुरक्षित नरहेको सरोकारवाला निकायले औंल्याएका छन्। ललितपुरमा कुल घरधुरी संख्यामध्ये ७९ दशमलव २ प्रतिशत र भक्तपुरमा ८० दशमलव ५० प्रतिशत घरधुरी आवासीय क्षेत्रले ओगटेको छ।
भूकम्पको असर ठाउँ विशेषअनुसार
भूगर्वविद् प्रल्हाद बानियाँले काठमाडौं उपत्यकाको ठाउँ विशेष र भूगोलअनुसार भूकम्पको असर देखिने बताए। ‘सबै ठाउँमा एकै खालको असर देखिँदैन’, उनले भने, ‘यहाँ फरक–फरक खालको विशेषता छ। एउटै क्षेत्रको नीतिले सबैमा सुरक्षित हुँदैन। राज्यले बनाएका नीति, नियमहरू सबैले
पालना गर्नुपर्छ।’
घर बनाउँदा घरधनीहरूलाई पनि आफ्नो जमिनको माया हुने भएकाले कतिपयले बाध्यताले गर्दा भूकम्पलाई ख्याल नगरेर बनाउने गरेको पाइएको उनले सुनाए। कतिपय घरमा छिर्ने बाटाहरूसमेत निकै साँघुरा भएकाले यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले विशेष चासो दिनुपर्ने प्रल्हादको सुझाव छ। माटोको परीक्षण गरेर घर बनाएमा भूकम्प प्रतिरोधी हुने भए पनि धेरैले खर्च व्यवस्थापन गर्ने भन्दै यसतर्फ चासो नदिने गरेको पाइएको उनको बुझाइ छ। ‘इन्जिनियरले बनाएको नक्सा डिजाइनअनुसार नक्सा पास गराएर घर बनाउनेहरू भूकम्पसँग त्यति त्रसित हुनुपर्दैन’, उनले भने, ‘२०७२ सालको भूकम्पले धेरै पाठ त सिकाएको छ तर नागरिकलाई अझै पनि त्यति सचेतना छैन। सरकारले मात्र कडाइ गरेर हुँदैन। नागरिकले पनि साथ दिनुपर्छ।’
काठमाडौंमा २३ तलासम्मका घर
काठमाडौं महानगरपालिकाका सहरी व्यवस्थापन विभाग प्रमुख हरिचन्द्र लामिछानेका अनुसार महानगरभित्र २३ तलासम्मका घर निर्माण भएका छन्। यहाँ कुल १ लाख ५ हजार ६ सय ४९ घरधुरी संख्या छ। तर, घरनक्सा पास गराएर निर्माण भएका घरहरू १ लाख ५० हजार रहेको लामिछानेले जानकारी दिए।
‘नक्सा पास नै नगरी बनाएका पनि सयौं घर छन्’, उनले भने, ‘पुराना घरहरू त्यस्ता भए पनि महानगरले बनाएको भवन निर्माण आचारसंहितापछि त्यस्तो छैन।’ महानगर क्षेत्रमा कुल ८ लाख ४५ हजार ७ सय ६७ जनसंख्या छ। नक्सा पास गराएर बनाएका घरहरू भूकम्पप्रतिरोधी रहेको समेत उनले दाबी गरे।
२०७२ को भूकम्पमा ध्वस्त भएको धरहरा । फाइल तस्बिर
‘सार्वजनिक जग्गा र बाटोमा बनेका घरहरूको नक्सा पास गरेका छैनौं’, लामिछानेले भने, ‘१० हजार वर्गफुटसम्मका घरहरू नगरपालिकाका प्राविधिक टोलीले नै स्वीकृत गर्छन्।’ १० हजार वर्गफुट माथिका घरहरू निर्माण गर्दा नक्सापास गर्न महानगरले विशेषज्ञ समितिसहितको प्राविधिक टोली गठन गरेको उनले जानकारी दिए। उक्त समितिमा भवन विभाग, नेपाल इन्जिनियर परिषद्, इन्जिनियरिङ कलेजहरू, आर्किटेक्चरलगायतका प्रतिनिधिहरूको संस्थागत प्रतिनिधित्व रहेको उनले बताए।
कचौरा हो उपत्यका
भूगर्भशास्त्र प्रध्यापक डा. तारानिधि भट्टराईले काठमाडौं उपत्यकालाई कचौरा आकारको रूपमा बुझ्न सुझाउँछन्। ‘काठमाडौंको परिपरि चट्टानसहितको पहाड छ। उपत्यकाभित्र माटो छ। माटो पनि विभिन्न प्रकृतिको छ’, भट्टराई तर्क गर्छन्, ‘अब, सम्झनुस् कचौराभित्रको पानी हल्लियो भने के हुन्छ ? ’ कचौरा केही हुँदैन तर पानी छताछुल्ल हुन्छ। पोखिन्छ। काठमाडौं उपत्यका पनि यही कचौराभित्रको पानीजस्तै हो।’
उनका अनुसार उपत्यकाभित्रको माटोमा विविधता छ। कतै कालो लेसिलो, गिट्टी र बालुवासहितको माटो छ। कालो लेसिलोसहितको माटोमा घर बनाउँदा धेरै जोखिम हुने गरेको पाइएको उनले बताए। ‘घरको जग खन्दा कस्तो माटोमा खनेको छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ’, भट्टराई भन्छन्, ‘पिलरको फेदमा हात्तीपाइले बनाउँदा जगको आधार बलियो हुनुपर्छ। कालो लेसिलो माटोमा बनाउनु सुरक्षित हुँदैन।’
घर निर्माणको क्रममा खडेरी खन्दै जाँदा भूमिगत जलको सतहलाई पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ। उनका अनुसार बालुवा भएको क्षेत्रमा धेरै पानी हुने भएकाले जमिन तरलीकरण हुने माटोमा क्षति धेरै हुने गर्छ। व्यवस्थित बसोबास नहुनु काठमाडौं उपत्यकाको अर्को समस्याको रूपमा देखिएको उनी सुनाउँछन्। ‘सबैले अग्लाअग्ला घर बनाउन सक्दैनन्’, उनले भने, ‘एउटै समुदायमा कसैको एक÷दुई तला घर छ, कसैको ६/७ तला छ। यसले गर्दा ठूला घरले भूकम्प गएको बेला साना घरलाई च्याप्छन् र निर्दोषमै उनीहरू पीडित हुन्छन्।’ घर निर्माण गर्दा स्थानीय तहले यस्ता विषयमा पनि ख्याल गरिदिन उनको आग्रह छ। उनको अनुभवमा काठमाडौं उपत्यकाको सहर भूकम्पप्रतिरोधी छैन। भूकम्प गएको बेला आगलागीको पनि जोखिम हुन सक्छ। तर, आगलागी हुँदा दमकल लैजानेसमेत बाटो नभएका थुप्रै बस्ती रहेको उनले बताए।
घर बनाउँदा कम्तीमा पनि १२ फिटको बाटो नहुने क्षेत्रमा स्थानीय सरकारले अनुमति दिन नहुने उनको सुझाव छ। भूकम्प गएको बेला मात्र नभई अरू समयमा पनि सुरक्षित हुने उपायका बारेमा छलफल गर्न उनले सरोकारवाला निकायलाई आग्रह गरे। वारपाकमा गएको भूकम्पलाई स्मरण गर्दै २०७२ सालको भूकम्पनामक पुस्तक प्रकाशन गरी नागरिकहरूलाई सचेतना जगाएको समेत भट्टराईले जानकारी दिए।
नक्सांकन छ, कार्यान्वयन छैन
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूको जोखिम क्षेत्रको नक्सांकन गरेको छ। माटोको परीक्षण गरी कुन क्षेत्रमा बस्ती विकास गर्ने वा सहरीकरण गर्ने भन्ने बारेमा विस्तृत अध्ययन प्रतिवेदन बनाएको छ। तर, ती प्रतिवेदनको कार्यान्वयन गर्ने निकायले बेवास्ता गर्ने गरेका छन्।
काठमाडौं उपत्यकाको ०५० सालमा इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सांकन गरिएको छ। उक्त नक्सांकन ०५४ सालमा प्रकाशित गरिएको छ। जर्मन सरकारको सहयोगमा तयार पारिएको उक्त नक्सांकनको स्थानीय, प्रदेश र संघ सरकार कसैले पनि कार्यान्वयन गरेका छैनन्। आफूसुखी भौतिक संरचनाहरू निर्माण हुने गरेका छन्।
उपत्यकासहित देशका २५ बढी सहरको माटो परीक्षण गरी नक्सांकन भइसकेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका प्रवक्ता एवं उपमहानिर्देशक मोनिका झाले जानकारी दिइन्। भैरहवा, विराटनगर, सुर्खेत, नेपालगन्ज, चितवन, वीरगन्ज, पोखरालगायत सहरको नक्सांकन भएको छ। सहरी विकास मन्त्रालयले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत नयाँ सहर निर्माण गर्दैछ। ती सहरहरूको पनि जोखिम क्षेत्र पहिचानका लागि नक्सांकन गर्ने गरिएको झाले जानकारी गराइन्। ‘पोखरामा पटक–पटक जमिन भासिन्छ’, झाले भनिन्, ‘हामीले त्यहाँ भासिएको क्षेत्रको पनि २५ वर्ष अगाडि नक्सांकन गरेका थियौं। तर, त्यसलाई बेवास्ता गरी घरहरू निर्माण गरियो।’ माटोको भारवहन क्षमता कति छ भन्ने कुरालाई नक्साले देखाउने उनले बताइन्।
बाढीपहिरो, भूक्षय, जमिन भासिनेलगायत सम्भावित क्षतिबाट जोगिनका लागि अनुसन्धान केन्द्रले तयार पारेको प्रतिवेदनलाई बेवास्ता नगर्न उनले सरोकारवाला निकायलाई सुझाव दिइन्। एउटा सहरको नक्सांकन गर्न कम्तीमा २५ देखि बढीमा ५० लाख रुपैयाँ बजेट खर्च हुने गरेको झाको भनाइ छ। चालु आर्थिक वर्षमा सर्लाहीमा नक्सांकन गर्ने काम चलिरहेको उनले सुनाइन्।

मोनिका झा - प्रवक्ता एवं उपमहानिर्देशक राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र
भूकम्प जाँदा यो गर्छु, त्यो गर्छु भन्ने नागरिक र सरोकारवाला निकायहरूले विस्तारै भुल्दै जाने गरेको पाइएको छ। भूकम्प गएको बेला सबैलाई आफ्नो शरीर प्यारो लाग्छ। सबै कुरा गर्छु भन्छन्। तर, बर्सेनि नागरिकले त्यसलाई भुल्दै जाने गरेको देखिन्छ। सरोकारवाला निकायले पनि भूकम्प जोखिमबाट जोगिन त्यति ध्यान दिएका छैनन्। इपिसेन्टर जहाँ छ, त्यसको तीन सय किलोमिटर वरिपरि भूकम्पले असर गर्छ। काठमाडौं उपत्यकाको जोखिम र सुरक्षाको बारेमा नक्सांकन गरिएको छ। तर, त्यसलाई कार्यान्वयन गरेको पाइएन।
प्रा.डा.तारानिधि भट्टराई, भूगर्वविद्
काठमाडौं उपत्यकालाई कचौराको आकारको रूपमा बुझ्नुपर्छ। उपत्यकाको वरिपरि चट्टानसहितको पहाड छ। उपत्यकाभित्र माटो छ। माटो पनि विभिन्न प्रकृतिको छ। सम्झनुस् कचौराभित्रको पानी हल्लियो भने के हुन्छ ? कचौरा केही हुँदैन तर पानी छताछुल्ल हुन्छ। पोखिन्छ। काठमाडौं उपत्यका पनि यही कचौराभित्रको पानीजस्तै हो। यहाँको माटोमा विविधता छ। कतै कालो लेसिलो, गिट्टी र बालुवा सहितको छ। सबैले अग्लाअग्ला घर बनाउन सक्दैनन्। एकै समुदायमा कसैको एक÷दुई तला घर छ, कसैको ६÷७ तला छ। यसले गर्दा ठूला घरले भूकम्प गएको बेला साना घरलाई चाप्छन् र निर्दोषमै पीडित हुन्छन्। आगलागी हुँदा दमकल लैजानेसमेत बाटो नभएका थुप्रै बस्ती छन्। कम्तीमा १२ फिटको बाटो नहुने क्षेत्रमा स्थानीय सरकारले बस्ती बसाल्ने अनुमती दिनुहुँदैन।
प्रल्हाद बानियाँ,भूगर्वविद्
काठमाडौं उपत्यकामा ठाउँ विशेष र भूगोलअनुसार भूकम्पको असर देखिन्छ। फरकफरक खालको विशेषता छ। एउटै क्षेत्रको नीतिले सबैमा सुरक्षित हुन्छ भन्ने हुँदैन। राज्यले बनाएका नीति, नियमहरू सबैले इमान्दारीपूर्वक पालना गर्नुपर्छ। घर बनाउँदा घरधनीहरूलाई पनि आफ्नो सम्पत्तिको माया हुन्छ। तर, कतिपयमा बाध्यतामा परेर जबरजस्त असुरक्षित घर बनाएको देखिन्छ। काठमाडौंका धेरैजसो घरमा छिर्ने बाटाहरू निकै साँघुरा छन्। न दमकल पुग्न सक्छन्। न एम्बुलेन्स। भूकम्प जाँदा मानिस बाहिर जानै सक्दैनन्। खुल्ला जमिन नै छैन। सकेसम्म माटोको परीक्षण गरेर मात्र घर बनाए राम्रो हुन्छ।
हरिचन्द्र लामिछाने - प्रमुख, सहरी व्यवस्थापन विभाग, काठमाडौं महानगरपालिका
महानगरभित्र २३ तलासम्मका घर छन्। घरनक्सा पास गराएर निर्माण भएका घरहरू १ लाख ५० हजार छन्। नक्सा पास नगराई बनाएका पनि सयौं घरहरू छन्। पुराना घरहरू त्यस्ता भए पनि महानगरले बनाएको भवन निर्माण आचारसंहितापछि त्यस्तो छैन। नक्सा पास गराएर बनाएका घरहरू भूकम्प प्रतिरोधी छन्। सार्वजनिक जग्गा र बाटोमा बनेका घरहरूको नक्सा पास गरेका छैनौं। १० हजार वर्गफुटसम्मका घरहरू नगरपालिकाका प्राविधिक टोलीले स्वीकृत गर्छन्। त्यसभन्दा माथिका नक्सा पास गर्न विशेषज्ञ प्राविधिक समिति छ।
प्रतिक्रिया दिनुहोस !