नेपालको भू–स्वर्ग कर्णाली : जहाँका हरेक बस्ती–बस्तीमा देवताका मन्दिर छन्

नेपालको भू–स्वर्ग कर्णाली : जहाँका हरेक बस्ती–बस्तीमा देवताका मन्दिर छन्

वीरेन्द्रनगर : कर्णाली क्षेत्र सभ्यता र संस्कृतिको केन्द्रविन्दु हो। नेपाली भाषाको उद्गम स्थल पनि हो। भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, विभिन्न जातजाति र भाषाभाषी भएको प्राकृतिक साधन र स्रोतले सम्पन्न क्षेत्र हो कर्णाली। इतिहासको कुनै कालखण्डमा आत्मनिर्भर र आर्थिक रूपमा सम्पन्न भएको यो क्षेत्र पछिल्लो समय विकासको मूलधारबाट पछाडि पर्दा परनिर्भरताका साथै अवसरबाट बञ्चित भयो। तर, अहिले कर्णालीले पुनर्जीवन पाउँदै छ। कर्णाली तीव्र विकासको गति र प्रचुर पर्यटकीय गन्तव्यहरूका कारण धेरैको आकर्षणको केन्द्रविन्दु बन्दै छ। 

नेपालको सबैभन्दा लामो नदी कर्णाली। यो केवल जल स्रोत मात्र नभएर धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको धरोहर पनि हो। नेपाल नदी संरक्षण संस्था एनआरसीटीका अध्यक्ष मेघ आलेले भने, ‘यो नदी भोटको कैलाश पर्वतबाट उत्पन्न भई नेपालको हिमाली, पहाडी र तराई भूभाग पार गर्दै भारतको गंगा नदीमा मिसिन्छ। यो नदी भारतमा पुग्दा घाघरा भन्छन्। रामायणकालीन धार्मिक महत्वको कारण अयोध्यामा यो नदी सरयु भनेर चिनिन्छ। कर्णाली नदी हजारौं वर्षदेखिको सभ्यता, संस्कृति र आस्थाको प्रतीक र वेदमा उल्लेखित नदी हो। महादेवको बासस्थान कैलाशबाट बग्ने कर्णाली नदीको महत्वलाई संरक्षण, प्रबद्र्धन तथा धार्मिक पर्यटन प्रबद्र्धनका लागि ध्यान दिनुपर्ने उनले बताए। 

नदी संरक्षण अभियान्ता आलेले भने, ‘पृथ्वीको रक्त नली, मानव सभ्यताको मुहान हो नदी। नदी बिना जीवन सम्भव छैन। कर्णाली नदीले तिब्बतको पठार, नेपालमा हिमाल, महाभारत रेन्ज, चुरे रेन्ज तराई र भारतमा गंगाको समथल भू–भागलाई जोड्छ। यो कर्णाली करिडोर जैविक विविधतामा अति धनी छ। बहुमूल्य वनस्पति, दुर्लभ वन्यजन्तु, चराचुरुंगी र धेरै जल चरको वासस्थान पनि हो। कर्णाली नदीले तिब्बतमा कैलाश सभ्यता, धेरै धर्मको आस्था, नेपालमा खस सभ्यता र भारतको गंगा सभ्यतालाई जोड्ने भएकाले पनि यसको महत्व बढी छ।’ 

कर्णालीमा हरेक बस्ती–बस्तीमा देवताका मन्दिर छन्। हरेक ठाउँ धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै घतलाग्दा छन्। अधिवक्ता एवं इतिहासकार प्रेम कैदीले भने, ‘कर्णाली धार्मिक पर्यटनको नेपालकै मुख्य गन्तव्य हो। पछिल्लो समय त्यसअनुसार मानिसको आगमन बढिरहेको छ। यसले कर्णालीको समग्र पर्यटन विकासमा ठूलो सहयोग पुग्नेछ।’ उनले धार्मिक हिसावले मात्र नभई समग्र पर्यटकीय सम्भावनाहरूका हिसावले कर्णालीलाई भू–स्वर्गका रूपमा लिन सकिने बताए। उनले भने, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णालीको सुन्दरता देखाउन मात्रै सके कर्णालीले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्न सक्छ।’ कर्णालीलाई पर्यटकीय हबका रूपमा विकास गर्न अब कर्णालीवासी र मुलुकका तीनवटै तहका सरकारको ध्यान यसमा केन्द्रित हुनु जरुरी रहेको उनले बताए। 

पर्यटनको हब कर्णाली 
कर्णालीमा पर्यटनको प्रचुर संभावना भएका हजारौं स्थान छन्। तर, अधिकांश ओझेलमा छन्। तर, पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन निकै बढिरहेको बताउँछन् उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही। उनले भने, ‘सरकारले कर्णालीका पर्यटकीय क्षेत्रहरूको विकास र प्रबद्र्धनसँगै प्रचार गर्न सकिरहेको अवस्था छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताले कर्णालीका संभावनाहरू सधैं ओझेलमा परिरहेका छन्। पर्यटनमैत्री नीति र नेतृत्व आउने हो भने कर्णाली पर्यटकै पर्यटक घुमिरहने क्षेत्रको रूपमा चिनिन बेर लाग्ने छैन।’

कर्णालीको प्रवेशद्वार सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेबिहार कर्णालीको एक आकर्षक पर्यटकीय गन्तव्य हो। यस स्थलका बारेमा आजसम्म पनि विवाद र रहस्य छँदै छ। यसको नामकरण र निर्माण कहिले र कसरी भयो भन्ने बारेमा अझैसम्म ठोस कारण पत्ता लाग्न सकेको छैन। न त राम्रोसँग यस स्थल वरपर उत्खनन एवं अध्ययन नै हुन सकेको छ। सुर्खेतमा आउने अधिकांश आन्तरिक तथा वाह्य पर्यटकहरूको पहिलो रोजाई नै हो काँक्रेबिहार हो। काँक्रेबिहारको बारेमा अझै पनि खोज र उत्खनन गरेर प्रमाणित गर्न नसक्ने हो भने इतिहास गन्जागोलमै रहने छ। पुरातात्तिक विभागले २०५७ सालमा स्थानीयको मागअनुरूप काँक्रेविहारको भग्नावशेष भएको स्थानमा उत्खनन गरेको थियो। त्यस क्रममा पुरातत्व विभागको टोलीले बौद्ध मूर्ति फेला पार्नुको साथै हिन्दू देवी देवताका मूर्तिहरू पनि फेला पारेको थियो। null

सुर्खेतमा काँक्रेबिहारका साथै बुलबुले ताल, देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चु र रेडियो नेपालको उत्तर तिरको देउती मन्दिर, भोटेचुली (गुमी चुली) शिव मन्दिर, बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदी, कर्णाली नदी, ¥याफ्टिङ चौकुखानी, पञ्चपुरी मन्दिर, कोटको थुम्को (सिम्ता बजेडीचौरे), भोटेचुली (खानीखोला), सिम्ता उपत्यका आदि पर्यटकीय क्षेत्र छन्। यी क्षेत्रहरूमा पर्यटकहरूको आकर्षण बढिरहेको छ। 

चुन र बुकीले ढपक्क ढाकेर बनेको सुन्दर छ पाटन। पाटनको बीच भागमा तीनवटा खोलाहरू छन्। तीनवटै खोलाको संगममा सानो मन्दिर छ। मन्दिरको छेउबाट बगेको पानीको कलकल आवाज आउँछ। चराचुरुंगीको चिरबिर स्वर गुन्जिरहन्छ। यत्रतत्र रंगीचंगी फूलहरू फुलेका छन्। सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो छ। थरीथरीका जडिबुटीको मग्न बास्ना चलेको छ। धार्मिक पर्यटनले महत्वपूर्ण कर्णालीको अर्को प्रमुख पर्यटकीय स्थल कालीकोटको त्रिवेणी पाटन हो। जहाँ पछिल्लो समय बढीमालिका पूजा वा अन्य विभिन्न समयमा घुम्न जाने र स्नान गर्न जानेहरूको लर्को लाग्ने गरेको छ। समुद्री सतहबाट झन्डै ४ हजार २ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटनको सौन्दर्य त छँदै छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्व बोकेको छ। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। यहाँ नटेकेर कोही पनि कालीकोट र बाजुराको सिमानामा पर्ने बढीमालिका दर्शन गर्न जान मिल्दैन। त्रिवेणीमा नुहाएर शुद्ध मनले पूजा गरी बडीमालिका गएपछि मात्र माईको पूजा पूरा हुन्छ।

यस्तै कालीकोटमा त्रिवेणीका साथै चुली मालिका मन्दिर, पुग मालिका मन्दिर, महाबु शिव मन्दिर, पञ्चदेवल (पञ्च पाण्डवद्वारा निर्मित), चुलीमालिका मन्दिर (मान्म, पाँखा र बदालकोट बीच) तिला गुफा, (रांचुली) ढुंगे बगैंचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, रामारोशन, पचाल झरना, फुगाड झरना, शिम्भुनाथ मन्दिर लगायतका धेरै पर्यटकीय स्थानहरू छन्। पर्यटन व्यवसायी मनराज सिम्खाडाले भने, ‘विगतमा पर्यटक नै न जाने पर्यटकीय स्थलहरू थिए। तर, पछिल्लो समय कालीकोटका अधिकांश पर्यटकीय स्थलमा पर्यटकहरूको आगमन नियमित बनेको छ। यसको कारण यातायात सेवामा भएको सहजता र प्रचार–प्रसारले पर्यटकहरूको आगमन बढिरहेको छ।’

कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने शे–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण रमणीय गन्तव्य हो। शे–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा जस्तै भन्छन् यहाँ आउने पर्यटकहरू। डोल्पाकै सामाजिक अभियान्ता लक्ष्मी शाहीले भनिन्, ‘पद यात्रामा रमाउने र यसको मजा लिनेहरूका लागि शे–फोक्सुन्डो तालको पदयात्रा महत्वपूर्ण छ। यो तालमा पुग्नका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।’ डोल्पाको प्रमुख आकर्षणका रूपमा रहेको यो तालमा चैत, वैशाख र जेठ महिना तथा भदौ, असोज र कात्तिक महिनामा पर्यटकहरूको निकै भीड लाग्ने गरेको छ। यो समय यहाँ घुम्न आउनका लागि पनि अति उत्तम समय हो। 

डोल्पाको उत्तरी भेगमा पर्ने शे–फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराई १ सय ४५ मिटर रहेको छ। लम्बाइ ४ दशमलव ८ किमी चौडाइ १ दशमलव ६ किमी रहेको छ। सदरमुकाम दुनैदेखि झन्डै तीन दिनको पैदलयात्रा पछि शे–फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटकहरू तालको मनमोहक दृश्यबाट मोहित भएर ताललाई कसैले भू–स्वर्ग भनेर पुकार्छन् भने कसैले नीलो हीराको रूपमा समेत चर्चा गर्छन्। यस्तै डोल्पाकै शे–फोक्सुन्डो नेपालको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज, काञ्जिरोवा, सिकाल्पो खाङ, वेज चुचुरो जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरू, बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतिदेवीको कण्डयाउलो पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएको मन्दिर ‘त्रिपुराकोट’ पनि छ। धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरूपी देवीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बढीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन्। बाँकी चारबहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ। 

कर्णालीका अर्को निकै आकर्षण पर्यटकीय गन्तव्य मुगुको रारा ताल हो। यहाँ बर्सेनि हजारौं पर्यटकको ताँती नै लाग्ने गरेको छ। २०२० साल चैत महिनामा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए। रारामा आगन्तुकलाई स्वागत गर्ने जो कोहीले राराका बारेमा वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो। सफा, सुन्दर र निर्मल अनुहारमा गाढा नीलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रूखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’को क्यानभासभन्दा कम्ता छैन। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ। कर्णालीको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा टुसुक्क बसेको छ। रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। null

सुर्खेतस्थित शुभ होटलका सञ्चालक समिति अध्यक्ष एवं समाजसेवी मानव बमले राराकै कारण सुर्खेतका होटलहरू पर्यटकहरूले भरिभराउ हुने गरेको बताए। उनले भने, ‘कर्णालीका पर्यटकीय गन्तव्यहरूले नै कर्णालीमा होटल व्यवसायमा लगानी व्यापक रूपमा बढिरहेको छ। रारामा निकै ठूलो लगानीमा रिसोर्ट बन्दै छ। सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म ठाउँ–ठाउँमा सुविधायुक्त होटल सञ्चालन भइरहेका छन्। यसले समग्र कर्णालीको आर्थिक गतिविधिहरू बढाइ रहेको छ। तर, यातायात र हवाई सुविधा अझै पर्याप्त छैन। सरकारले कर्णालीका सबै जिल्लामा सुविधायुक्त यातायात सेवा र नियमित हवाई सेवा सञ्चालन गर्न सक्ने हो भने कर्णालीले काचुली फेर्ने निश्चित छ।’

यस्तै, मुगु जिल्लामा रारा राष्ट्रिय निकुञ्ज, विश्वका चारधाम मध्येको जेठो धाम छायाँनाथ धाम, एक रुपैयाँको नोटमा अवस्थित चंखेली हिमाल, कान्जिरोवा हिमाल, चावाचुली हिमाल, कर्णाली प्रदेशको कुल देवताको जेठो भाइ थार्प मष्टा, खेस्ममालिका, क्रणमोक्ष, कालीका मालिका मन्दिर, पर्यटकीय स्थल अर्पर मुगु, सोरु तातापानीलगायत धेरै धार्मिक तथा पर्यटकीय स्थल छन्। छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले भने, मुगु कर्णाली मात्र नभई नेपालकै आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्य हो। तर, यहाँ रोड याक्सेस र नियमित हवाई सेवा नहुँदा पर्यटकहरूले दुःख पाउने गरेका छन्। पछिल्लो समय मुगु आउने पर्यटकहरूको संख्यामा निकै वृद्धि भइरहेको अवस्था भए पनि कर्णाली आउने पर्यटकहरूलाई पर्ने यातायात तथा हवाई सेवाको असहजताका कारण एक पटक घुमेका व्यक्ति फेरि नआउने समस्या छ। यसलाई अब सबै मिलेर सुधार गर्नुपर्छ।’

दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पञ्चकोशी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ। जहाँ अहिले पेट्रोलियम पदार्थको अन्वषणको काम भइरहेको छ। 

नेपाली भाषाको उत्पत्ति भएको स्थान जुम्लाको सिंजा जस्तै अर्को दैलेख पञ्चकोशी क्षेत्र दुल्लु पनि अर्को इतिहास हो। अहिले सम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढइपालद्वारा शाक्य ९ सय तीन तदानुसार विक्रमसंवत १०३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ। यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्ति स्तम्भ पनि यसै क्षेत्रमा रहेको छ। ज्वाला क्षेत्रअन्तर्गत १ सय ८ शक्तिपीठ पर्छन्। भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासिनी, लामाद्धाला आदि चर्चित छन्। 

सरकारले कर्णालीका पर्यटकीय क्षेत्रहरूको विकास र प्रबद्र्धनसँगै प्रचार गर्न सकिरहेको अवस्था छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताले कर्णालीका सम्भावनाहरू सधैं ओझेलमा परिरहेका छन्। पर्यटनमैत्री नीति र नेतृत्व आउने हो भने कर्णाली पर्यटकै पर्यटक घुमिरहने क्षेत्रका रूपमा चिनिन बेर लाग्ने छैन।
पदमबहादुर शाही - अध्यक्ष, उद्योग वाणिज्य संघ, कर्णाली प्रदेश 

राराकै कारण सुर्खेतका होटलहरू पर्यटकहरूले भरिभराउ हुने गरेको छ। कर्णालीका पर्यटकीय गन्तव्यहरूले नै कर्णालीमा होटल व्यवसायमा लगानी व्यापक रूपमा बढिरहेको छ। रारामा निकै ठूलो लगानीमा रिसोर्ट बन्दै छ। सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म ठाउँ–ठाउँमा सुविधायुक्त होटल सञ्चालन भइरहेका छन्। यसले समग्र कर्णालीको आर्थिक गतिविधिहरू बढाइ रहेको छ।
मानव बम- अध्यक्ष, शुभ होटलका सञ्चालक समिति 

मुगु कर्णाली मात्र नभई नेपालकै आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्य हो। तर, यहाँ रोड एक्सेस र नियमित हवाई सेवा नहुँदा पर्यटकहरूले दुःख पाउने गरेका छन्। पछिल्लो समय मुगु आउने पर्यटकहरूको संख्यामा निकै वृद्धि भइरहेको अवस्था भए पनि कर्णाली आउने पर्यटकहरूलाई पर्ने यातायात तथा हवाई सेवाको असहजताका कारण एक पटक घुमेका व्यक्ति फेरि नआउने समस्या छ। यसलाई अब सबै मिलेर सुधार गर्नुपर्छ।
विष्णुकुमार भाम - प्रमुख, छायाँनाथ रारा नगरपालिका 

यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ। हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रूपमा पनि चिनिँदै आएको छ। कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्य स्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ। चीनले कैलाश मानसरोवर जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने आन्तरिक पर्यटकहरू बढ्दै गएका छन्।

हुम्लाका समाजसेवी बिजय लामाले भने, ‘लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रष्ट रूपमा देख्न सकिन्छ। हाम्रा पूर्खाहरू मात्रै नभएर २०६० सालसम्म नै कैलाश मानसरोवर दर्शन गर्न जाने प्रमुख मार्ग यो नै प्रयोग हुने गरेको थियो। यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १ सय ५ किलो मिटरको दूरीमा पर्छ। सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट अहिलेको भन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिने छ। चिनियाँ भूभागमा पुग्दा जुनसुकै क्षेत्रबाट पनि देख्न सकिने यो प्रसिद्ध तीर्थस्थल नेपालतर्फबाट भने यसै स्थानबाट मात्र सहज दर्शन गर्न सकिन्छ। लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरू पनि बढिरहेका छन्। धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने धार्मिक विश्वास छ। यो हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ।’

यति मात्र होइन, कर्णालीमा पर्यटकीय प्रचुर सम्भावना भएका धेरै धार्मिक तथा ऐतिहासिक स्थलहरू छन्। सुन्दर भूमिहरू पनि उत्तिकै छन्। तर, तिनीहरूको प्रचारप्रसार र संरक्षण हुन सकिरहेको छैन। जाजरकोट दरबार, रुकुमपश्चिम मुसीको दरबार, जुम्ला सिंजा उपत्यका, चन्दनाथ मन्दिरलगायतका दर्जनौं पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थलहरूमा पछिल्लो समय पर्यटकको आगमन बढिरहेको छ। कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीको पर्यटन पूर्वाधार विकासका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा मुख्य प्राथमिकता दिने गरी तयारी थालिएको बताए। 

उनले भने, ‘हामी अहिले कर्णालीको पर्यटन प्रबद्र्धनका लागि विभिन्न व्यक्ति तथा समूहबाट सुझावहरू मागिरहेका छौं। हामीले गर्न सक्ने काम आफैं गर्ने र हामीले गर्न नसक्ने कामहरू संघीय सरकारका साथै अन्य निकायहरूसँग समन्वय गरिरहेका छौं। कर्णालीमा पर्यटन पूर्वाधार निर्माण नगरी यहाँको पर्यटन प्रबर्द्धन गर्न सकिने अवस्था छैन। त्यसका लागि हामी ठोष नीति तथा कार्यक्रम बनाउन लागिरहेका छौं।’ 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.