कानुन व्यवसायी चुनावमा सत्ता र प्रतिपक्षका अलग प्यानल
काठमाडौं : कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको चुनावमा सत्तापक्ष र प्रतिपक्षीका दुई प्यानल बनाएर कानुन व्यवसायीहरू चुनावी मैदानमा उत्रेका छन्। बार नेतृत्वका लागि वरिष्ठ अधिवक्ताद्वय विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
बार एसोसिएसनको २७औं कार्यसमितिको अध्यक्षका उम्मेदवारद्वय मिश्र र श्रेष्ठ दुवै हेभिवेट प्रतिस्पर्धी मानिन्छन्। दुवै जना बार एसोसिएसनका पूर्वमहासचिव हुन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायी संगठनहरू डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसिएसन (पीपीएलए)को तर्फबाट साझा उम्मेदवारका रूपमा मिश्र चुनावी मैदानमा उत्रेका हुन्।
मिश्र डीएलए सम्बद्ध हुन्। कानुन व्यवसायीको हक हित, बारको छवि उकास्न समर्पित रहने लगायतका एजेन्डा मिश्रले अघि सारेका छन्।
महासचिवमा अधिवक्ता केदार कोइरालाले उम्मेदवारी दिएका छन्। कोइराला नेकपा एमाले निकट पीपीएलएमा आबद्ध छन्। २५ पदाधिकारीमध्ये डिएलएले अध्यक्षसहित १२ र पीपीएलएले महासचिवसहित १३ उम्मेदवार चुनावी मैदानमा उतारेको छ।
त्यस्तै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा प्यानल खडा गरेका छन्। यस प्यानलको नेतृत्व गर्दै अध्यक्षमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।
प्रतिपक्षी दल निकटका साझा उम्मेदवारका रूपमा अध्यक्षमा उठेका श्रेष्ठ भने नेकपा माओवादी केन्द्र निकट रिपब्लिकन प्रोग्रेसिभ लयर्स एसोसियसन(आरपीएलए)का पूर्वअध्यक्ष हुन्। पूर्व महान्यायाधिवक्ता श्रेष्ठको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त छन्। बार एसोसिएसनका पूर्व अध्यक्ष थापा र वरिष्ठ अधिवक्ता पन्तको साथले श्रेष्ठ पनि हेभिवेट देखिएका छन्। श्रेष्ठले भने, ‘यो सरकारले न्यायपालिका र बार एसोसिएसनमा गरेको हस्तक्षेप विरुद्धको उम्मेदवारी हो, मेरो।’ यस प्यानलबाट महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। न्यौपाने स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष हुन्। बार एसोसिएसनमा करिब १० हजार मतदाता छन्। चुनाव आगामी चैत २३ गते हुँदै छ।
प्रतिक्रिया दिनुहोस !