कमलरीदेखि उद्यमीसम्म

कर्मशील नारी

कमलरीदेखि उद्यमीसम्म

कुनै बेला चारैतिरबाट हेपिएकी उनी देशको शान बनेर उभिएकी छन्। सबैले गर्व गर्ने साहसी महिलाको रूपमा बेग्लै पहिचान बनाएकी छन्। महिला हुनु त शान्ता जस्तो भनेर उदाहरण बनेकी छन्।

बुटवल : आठ वर्षको बच्चाले के–के काम गर्न सक्छ ? घरमा खाना पकाउन, लुगा धुन ? घाँसदाउरा गर्न वा मेलापात जान ? बुझ्नेले सोझै अनुमान लगाउन सक्छन्, यो उमेरको बच्चाले माथिका कुनै पनि काम गर्न सक्दैनन्। किनभने यो बेला त विद्यालय जाने र रमाउने उमेर हो। बुवाआमा र परिवारको अपार माया पाउने बेला हो। अरूको सहारामा दैनिकी गुजार्नुपर्ने कलिलो उमेर हो।

तर, शान्ता चौधरीले न स्कुल जान पाइन्। न त परिवारको अपार माया नै। बच्चाहरूले जे गर्न सक्दैनन्, त्यही काम गर्न विवश भइन्, त्यो पनि ८ वर्षको कलिलो उमेरमै। एक दिन होइन, एक वर्ष होइन १८ वर्षसम्म जमिनदारको घरमा कमलरीको कष्टपूर्ण जिन्दगी गुजारिन्। ८ वर्षको काँचो उमेरदेखि २६ वर्षको जवानी हुँदासम्म उनी १० जना जमिनदारको घरमा कमलरीको रूपमा काम गर्न बाध्य भइन्। झिसमिसे बिहानदेखि रातिसम्म श्रम गर्थिन्। जति श्रम गरे पनि श्रमको मूल्य भने थिएन। सम्झिँदा पनि आङसिरिङ हुने गरी उनको कमलरी जिन्दगी बित्यो। आफूमात्र होइन, परिवारै जमिनदारको घरमा काम गर्थे। बुवाआमा, एक दाइ र ६ जना दिदीबहिनीले वर्षौंसम्म कमलरी जीवन बिताएको उनले सुनाइन्।

पूर्वकमलरीको विगतको परिचय त छँदैछ, तर, आजभोलि शान्ताको परिचय लोभलाग्दो तरिकाले फेरिएको छ। बाल्यकालमा पढ्न पाइनन्। उनको पढ्ने दृढ इच्छालाई उमेरले छेकेन। ३६ वर्षको उमेरमा कक्षा ८ मा विद्यालय भर्ना भइन्। पाको उमेरमा विद्यालय छिरेकी उनी ४५ वर्षको उमेरमा समाजशास्त्रमा स्नातक तह तेस्रो वर्षमा पढ्दै छिन्।

उनी पूर्वसांसद्समेत हुन्। नेकपा एमालेले पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद् बनाएपछि उनको चर्चा एकाएक चुलियो। ‘कमलरीदेखि, सांसदसम्म’का शब्दहरूले धेरैका सामाजिक सञ्जाल रंगिए। अखबारका पाना भरिए। कमलरी जीवनबाटै उठाएर उनलाई नेकपा एमालेले पहिलोपटक संसद्को यात्रामा हिँडाएको थियो। शान्ता पार्टीको पोलिटब्युरो सदस्य छिन्। राजनीतिक, सामाजिक र उद्यमीको क्षेत्रमा उनको गर्विलो छवि छ। कुनै बेला चारैतिरबाट हेपिएकी उनी देशको शान बनेर उभिएकी छन्। सबैले गर्व गर्ने साहसी महिलाको रूपमा बेग्लै पहिचान बनाएकी छन्। महिला हुनु त शान्ता जस्तो भनेर उदाहरण बनेकी छन्। 

परिचयमा थपिएको शान्ताको अचार
 राजनीति जीवन त छँदै छ। तर, बलियो र भरपर्दो आर्थिक स्रोतबिना राजनीतिलाई अगाडि बढाउन सकिँदैन भन्ने कुरामा उनी दृढ छिन्। त्यसैले उनको परिचयमा पछिल्लो समय थपिएको अर्को माध्यम हो, उद्यम। उनले अचार उद्योग चलाएकी छन्। ‘शान्ताको अचार’ नामको उद्योग खोलेर देशमा मात्र होइन, १० वटाभन्दा बढी देशमा पुर्‍याएकी छन्। १८ जना महिलाले रोजगारी पाएका छन्।

उनी विभिन्न २२ थरीका अचार बनाएर बिक्री गर्छिन्। एकपटक चाखेकाहरूले उनको अचार पटक–पटक किनेर खान्छन्। दंगाली किसानहरूको उत्पादनलाई खरिद गरेर अचार बनाउने गरेको उनले बताइन्। ‘एक हजार रुपैयाँबाट उद्यम सुरु गरेकी हुँ’,चौधरीले भनिन्, ‘अहिले उद्योगमा एक करोड बढी लगानी भएको छ। बजारले मागे जति पुर्‍याउनै सकिएको छैन।’ देशभर भाटभटेनी सुपरमार्केटले उनको उत्पादन बिक्री गर्छ। देशदेखि विदेशमा बिक्री भएपछि उनको अचार हिजोआज ‘ब्रान्ड’ बनेको छ। लेवलिङ, प्याकेजिङ र खाद्य तथा गुणस्तर मापदण्डबाट अनुमति लिएर उद्योग सञ्चालन गरिएको चौधरीले सुनाइन्। ‘उद्योगमा म आफैं खट्दा उत्पादन धेरै हुन्छ’, उनी भन्छिन्, ‘पहिलो काम त राजनीति नै हो। उद्योगलाई राम्रोसँग चलाएर राजनीतिलाई पनि सँगै हिँडाउने लक्ष्य छ।’

उनले अचारमात्र उत्पादन गर्दिनन्। अचार बनाउने सयौं महिलालाई सीपमूलक तालिम पनि दिँदै आएकी छन्। आफैंले उत्पादन गरेका एक सय बढी महिलाले उनलाई अचार बिक्री गर्छन्। ललितपुरको इमाडोलमा उनको उद्योग छ। जन्मगाउँ दाङको घोराहीमा पनि उद्योग सञ्चालनमा छ। देशका विभिन्न सहरमा शाखाहरू स्थापना गरेर बजारलाई विस्तार गर्ने योजना रहेको उनले सुनाइन्।

‘अबको लक्ष्य एक हजार महिलालाई रोजगारी दिने योजनामा छु’, चौधरीले भनिन्, ‘म जस्ता हजारौँ महिलाको दुःख, पीडा र संघर्ष मैले नजिकबाट देखेकी छु। उनीहरूलाई मेरो उद्योगमा जोडेर रोजगारी दिने लक्ष्य लिएकी छु।’ घरको सात सन्तानमध्ये उनी कान्छी छोरी हुन्। घरमा बुढ्यौली लागेका बुवाआमा छन्। बुवा ९६ वर्षीय हसुलाल चौधरी र आमा ९० वर्षीया कुन्ती चौधरी घोराही उपमहानगरपालिका–४ दाङस्थित घरमै छन्। ‘आमाको मेरुदण्ड भाँचिएकाले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न’, शान्ताले भनिन्, ‘अहिले मलाई सबैभन्दा धेरै पिर आमाकै छ।’ चौधरीका एक छोरा र एक छोरी छन्। २६ वर्षीय छोरा अनिल चौधरीले उद्योगमा सघाउँछन्। उनको विवाह भइसक्यो। २२ वर्षीय छोरी बिनु चौधरी स्टाफ नर्स हुन्। काठमाडौं मेडिकल कलेजमा कार्यरत छिन्। छोरीलाई पढाएर स्टाफ नर्स बनाउन पाएकोमा शान्ता खुसी त छिन् तर सोंचेअनुसार छोरालाई पढाउन नपाएकोमा दुःखी पनि। छोराले १२ पास गरेर पढाइ छोडे। 

आमालाई सुख दिने आशाले जागिरे भए। जागिर पनि भरपर्दो नभएपछि अहिले अचार उद्योगमा सघाइरहेका छन्। उद्योगमा छोराको बलियो साथले उनलाई धेरै भर मिलेको छ।

‘छोरालाई चाहेअनुसार पढाउन नपाएकोमा गिल्टी फिल भइरहेको छ’, चौधरीले भनिन्, ‘अहिले पढ्नका लागि छोरालाई जोड गरेकी त छु तर मान्दैनन्।’ छोरा १४ वर्ष र छोरी १० वर्षको हुँदा श्रीमान्ले छाडेर दोस्रो विवाह गरेको चौधरीले बताइन्। ‘कमलरी जीवनबाट छुट्कारा त पाएँ तर घरमा श्रीमान्को साथ मिलेन’, उनले भनिन्, ‘साना छोराछोरी साथमा दिए। उनीहरूलाई पढाउने लेखाउने बेलासाथ छाडेर गएपछि दुःखका दिन फेरि सुरु भएका थिए।’

परिवारमा बलियो साथ दिने व्यक्ति आफूसँग नभए पनि उनी कत्ति बिचलित थिइनन्। दुःखै दुःखले तडपएकी उनीसँग दृढ आँट थियो। त्यही साहस र आँटले नै अहिले उनलाई यो स्थानमा पुर्‍याएको हो। उनीसँग निराश भन्ने शब्द छैन। ‘बाल्यकालका दिन सम्झिँदा कहालिलाग्छ’, उनले भनिन्, ‘ममात्र होइन देशलाई नै मुक्त कमलरीरहित बनाउने अभियान छ।’

null

संविधानसभामा पहिलोपटक पुग्दा उनले अक्षर चिनेकी थिइनन्। व्यवस्थापिका–संसद्को प्राकृतिक स्रोत र साधन समितिको सभापति बन्दा उनलाई ‘औंठा छाप’ सांसद भनेर धेरैले गिज्याउँथे। तर, पढेलेखेर मै हुँ भन्नेहरूले भन्दा उत्कृष्ट तरिकाले उनले पदीय जिम्मेवारी पूरा गरेपछि सबैको मुख थुनियो। उनलाई खिसीट्युरी गर्न छाडे। त्यसबेला नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद् लक्ष्मण घिमिरेले शान्ताको आत्मकथा ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तक विमोचन कार्यक्रममा खुलेरै भनेका थिए, ‘अत्यन्त परिपक्व ढंगले सभापतिको भूमिका निर्वाह गर्नुभयो।’ उनले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छिन्। २०५७ साल साउन २ गते सरकारले कमैया, कमलरी मुक्तिको घोषणा गरेको थियो। 

तर, शान्ता आफैं २०६३ सालसम्मै कमलरी थिइन्। २०६२/०६३ पछि उनले जमिनदारको उकुसमुकुसबाट मुक्ति पाएकी हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चौधरी दाङ १ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिइन्। उनको निर्वाचन क्षेत्रबाट नेकपा एसका मेटमणि चौधरीले चुनाव जिते। बच्चादेखि पाको युवा हुँदासम्म कमलरी जिन्दगी बिताएकी चौधरीको अबको लक्ष्य राजनीति र उद्योगलाई सँगै लैजाने छ।null

हजारौं महिलालाई उद्योगमा रोजगारी दिने गरी लगानी विस्तार गर्ने सोच बनाएकी चौधरीको अचारले नेपालीको भान्सामा मिठास थपिदिएको छ। कमलरी, ढल्किएको उमेरमा विद्यार्थी, राजनीतिज्ञ अनि उद्यमी। यस्तै परिचय बटुलेको जीवन्त पलहरूसँगै उनी जीवनको गोरेटोमा लम्किरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.