समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो : देउवा
धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजनीतिक अस्थिरता कायम रहेको बताएका छन्। धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको ब्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौं,’ उनले भने।
उनले सांकेतिकरूपमा समानुपातिक प्रणाली हटाउनुपर्ने संकेत गरे। उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौं। तर हामी मिलेर सरकार बनाएका छौं। त्यसका अरु धेरै कारणहरू छन्। मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो,’ देउवाले भने।
उनले अन्तिम १८ महिनाका लागि आफू प्रधानमन्त्री हुने बताए। ‘ओलीजीले अन्तिम १८ महिनाका लागि प्रधानमन्त्री बनाउँछु भनेर सहमति गर्नुभएको छ। तपाईँ सबैको साथ र सहयोगले म प्रधानमन्त्री हुन्छु,’ उनले भने।
देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताए। ‘हाम्रो पार्टीभित्र अलिकता रोग लागेको छ। त्यो भनेको अन्धकार भन्ने रोग हो,’ मुस्कुराउँदै उनले भने। ‘त्यस रोगलाई सदा सदाका लागि निर्मुल पार्नुपर्छ। पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा होला, तर भोट हाल्ने बेला हामी एक हुनुपर्छ। म त्यसको सुरुवात् सुदूरपश्चिमबाटै होस भन्न चाहन्छु,’ उनले भने।
नागरिकको असन्तुष्टिलाई लिएर केहीले खेल्न खोजे
त्यस्तै महामन्त्री गगन थापाले नेपाली नागरिकले पटक-पटक पार्टीहरूलाई सहयोग गरे पनि पार्टीहरूले नागरिकको चाहना पूरा गर्न नसक्दा अहिले नागरिकको असन्तुष्टिलाई लिएर केहीले खेल्न खोजेको बताए।
थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको बताए। व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाको भनाइ थियो।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा सबैभन्दा परिपक्क व्यक्ति भएको बताए । सभापति पाँच पटक प्रधानमन्त्री बनिसकेको स्मरण गर्दै शर्माले छैटौं पटक बन्ने कुरा ठूलो नभएको बताए।
प्रतिक्रिया दिनुहोस !