एसईईमा ४ जीपीए ल्याउनेलाई पालिकाद्वारा १ लाख
गोरखा : एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन हौसला दिने उद्देश्यले बारपाक सुलिकोट गाउँपालिकाले इनामको घोषणा गरेको छ । आउँदो चैत ७ बाट सञ्चालन हुने एसईईमा ४ जीपीए ल्याउने पालिकाभित्रका विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको गाउँपालिका प्रमुख विष्णु भट्टले जानकारी दिए ।
पालिकाले एक सार्वजनिक सूचना जारी गरी विद्यार्थीलाई परीक्षाको राम्रो तयारी गर्न आग्रह गरेको छ । ‘एसईईको तयारी गरिरहेका बालबालिकाको मनोबल बढोस् भन्ने उद्देश्यले पुरस्कार घोषणा गरेको हो’, अध्यक्ष भट्टले भने, ‘अहिले सामुदायिकभन्दा निजी विद्यालयमा छोराछोरी पढाउनेको संख्या बढिरहेको छ । त्यसैले शैक्षिक गुणस्तर अभिवृद्धि गरी सामुदायिक विद्यालयमा बालबालिका पढाउन प्रोत्साहन होस् भनेर पनि यो कार्यक्रम घोषणा गरेका हौं ।’
पालिकाले ४ जीपीए ल्याउनेलाई रु. एक लाख, ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार पुरस्कार प्रदान गर्ने जनाएको छ । त्यस्तै, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाबाट नियमिततर्फ २ सय ९८ जनाले एसईई परीक्षा दिँदैछन् । ग्रेडवृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।
बारपाक सुलिकोट गाउँपालिकामा सञ्चालित सीटीईभीटीअन्तर्गतको बहुप्राविधिक शिक्षालयमा पढ्ने सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको गाउँपालिका प्रमुख भट्टले जानकारी दिए ।
त्यस्तै अभिभावकविहीन बालबालिकालाई निःशुल्क रूपमा छात्रवासमा राखेर कक्षा १२ सम्म पढाउने व्यवस्था गरेको पनि उनले बताए । त्यसैगरी गाउँपालिकाले दलित तथा बराम समुदायबाट स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, एमबीबीएस पढ्नेहरूलाई छात्रवृत्ति दिने गरिएको पालिका प्रमुख भट्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !