३० प्रतिशत काम सम्पन्न, फेरि अस्पतालको शिलान्यास मोह

३० प्रतिशत काम सम्पन्न, फेरि अस्पतालको शिलान्यास मोह
अस्पतालको पुनः शिलान्यास गरे प्रतिकारमा उत्रिने चेतावनी दिँदै वडाध्यक्ष गयानन्द सरदारलगायत ।

विराटनगर : २०७८ चैत १४ गते मोरङको धनपालथान गाउँपालिकाका तत्कालीन अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु  र वडाध्यक्ष गयानन्द सरदारले १५ शय्या अस्पतालको शिलान्यास  गरे । ०८० फागुन २० गते अस्पताल निर्माणको सम्झौता भयो । गत भदौदेखि अस्पतालको निर्माण सुरु भयो । हाल अस्पताल निर्माणको काम ३०  प्रतिशत पूरा भइसकेको छ । 

तर, सोही अस्पतालको शिलान्यास गर्ने तयारी गरे, गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले । ३० प्रतिशत पूरा भइसकेको अस्पतालको नयाँ शिलान्यास गर्ने तयारी भएपछि विवाद भयो । त्यसैकारण निर्माण कार्य रोकियो ।  संघीय सरकारको १३ करोड ५९ लाख बढी रुपैयाँको लगानीमा मोरङको धनपालथान गाउँपालिका–५ बबिया टोलमा तीन वर्षअघि अस्पतालको शिलान्यास गरिएको थियो । गाउँपालिकाका अध्यक्ष गच्छदारले पुनः शिलान्यास गर्ने तयारी गरेपछि जनप्रतिनिधि नै विरोधमा उत्रिए । 

त्यसपछि  निर्माणकार्य एक महिनादेखि रोकिएको हो । गाउँपालिकाका अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यास गर्ने तयारी गरेको भन्दै वडाध्यक्ष गयानन्द सरदारले विरोध गरेका छन्  ।  संघीय सरकारको १३ करोड ५९ लाख बढी रुपैयाँको लगानीमा अस्पतालको निर्माण भइरहेको छ । धनपालथान–४ का कर्णबहादुर राजवंशीको परिवारले दान दिएको १५ कट्ठा जग्गामा यो अस्पताल निर्माणाधीन छ  ।

भद्रपुरको निर्माण व्यवसायी कम्पनी बस्नेत पी एन्ड जेभीका  अनुसार हालसम्म अस्पतालको  कम्पाउन्ड वाल र साढे दुईतले अस्पताल भवनको बेसमेन्टसमेत तयार भइसकेको छ । २०७९ को स्थानीय निर्वाचनबाट उपाध्यक्षमा नसिमा बानु र वडाध्यक्षमा गयानन्द सरदार पुनः निर्वाचित भए । गाउँपालिका अध्यक्षमा कांग्रेसका जीवछप्रसाद गच्छदार निर्वाचित भए । गाउँपालिकाका नयाँ अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यासको तयारी गरेपछि वडाध्यक्ष सरदार र पालिका प्रमुखबीच विवाद बढेको छ ।

वडाध्यक्ष सरदारका अनुसार गच्छदारले दोहोरो शिलान्यास गरी अस्पताल निर्माणको श्रेय आफूले लिन जनतामा भ्रम छर्ने प्रयास गरिरहेका छन् । ‘सरकारले एक पालिका एक अस्पतालको नीति ल्याएपछि आफ्नै वडामा अस्पताल निर्माण गराउन दातासँग निकै परि श्रम गरेर अस्पतालका लागि चाहिने जग्गा खोज्यौं’, वडाध्यक्ष सरदारले भने, ‘फेरि शिलान्यास गर्ने तयारी अनुचित हो ।’

स्थानीय बासिन्दाहरूले पनि गाउँपालिकाले दोहोरो शिलान्यास गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अस्पतालको भवन बनाएर उद्घाटन गर्नुपर्नेमा अध्यक्षले शिलान्यास गरेर निर्माण काम प्रभावित गर्न खोजेको स्थानीयको आरोप छ । अध्यक्षको शिलान्यास गर्ने मोहले निर्माण काम प्रभावित भएको वडाध्यक्ष सरदारले बताए । गाउँपालिका प्रमुख गच्छदारले दोहोरो शिलान्यास नगरिने बताएका छन् । उनले भने, ‘अस्पतालको निर्माण सुरु भएकाले सामान्य पूजापाठ गर्न लागिएको हो  ।’ 

गाउँपालिका प्रमुख गच्छदारले निर्माण व्यवसायीलाई काम सम्पन्न गरेबापतको भुक्तानी दिनसमेत आलटाल गरिरहेको बताइएको छ । विभिन्न बहानामा काम गरेबापतको रकम भुक्तानी नगरेकाले  निर्माण व्यवसायीले निर्माणकार्यसमेत रोकेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।   स्थानीय रामनारायण राजवंशीले राजनीति स्वार्थका कारण अस्पताल निर्माणको काम प्रभावित बनेको बताए । उनले नजिक अस्पताल नहुँदा स्थानीयलाई सामान्य उपचारको लागि लामो दूरी तय गरेर विराटनगर  र रंगेली जानुपर्ने बाध्यता रहेको बताए । अस्पताल निर्माण भएपछि यहाँका हजारांै बासिन्दाले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।     

निर्माण कम्पनी बस्नेत पी एन्ड जेभीका प्रबन्ध निर्देशक विनोद बस्नेतले भुक्तानीमा ढिलाइ हुँदा निर्माणकार्य प्रभावित भएको बताए । ‘हामीले लगभग तीन करोडबराबरको काम सकेका छौं, तर अहिलेसम्म एक करोडमात्रै भुक्तानी पाएका छौं’, उनले भने । निर्माण कम्पनीलाई  ०८३ असार मसान्तसम्म काम सक्ने गरि गरी ठेक्का दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.