लोकतन्त्रवादीहरू मौन हुँदा व्यवस्था विरोधी सलबलाए : मुख्यमन्त्री कँडेल
वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले लोकतन्त्रवादीहरू मौन हुँदा व्यवस्था विरोधीहरू सलबलाएको बताएका छन्।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरूका लागि व्यावसायिक र जवाफदेही पत्रकारिताका लागि लैंगिक संवेदनशीलता सम्बन्धी तीन दिने तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्।
उनले व्यवस्थाका कारण देशमा केही पनि नभएको भनेर गलत प्रचार भइरहेको बताउँदै कुनै दल र तीनका नेताहरूबाट भएका कमी कमजोरीहरूलाई व्यवस्थाको असफलताका रूपमा लिन नहुने बताए। उनले भने, ‘हाम्रा केही समस्याहरू छन्। गल्तीहरू पनि भएका होलान्। त्यसैका आधारमा व्यवस्थाको विरोध गर्नु उचित छैन। कमी कमजोरीहरूलाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु हामी सबैको दायित्व हो।’
मुख्यमन्त्री कँडेलले लोकतन्त्रवादीहरू मौन हुँदा व्यवस्था विरोधीहरूको आवाज ठूलो भएको बताए। उनले भने, ‘लोकतन्त्रवादीहरू मौन बसेका कारण व्यवस्था विरोधीहरू बोल्न पाएका छन्। हामी सबैले मुख मात्र खोल्ने हो भने तिनीहरूको आवाज गुमनाम हुन्छ। उनीहरू पुरानै अवस्थामा आउने छन्।’
उनले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुनै नसक्ने बताए। तर लोकतन्त्रमा पुरानै व्यक्तिको नेतृत्व भएकाले उसले गर्ने व्यवहार र आचरण लोकतान्त्रिक हुन नसक्दा नागरिकहरूले लोकतन्त्र प्रति नै प्रश्न उठाउने अवस्था सिर्जना भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !