व्यवस्थित बन्यो तातोपानी धारा, सुरु भयो स्नान मेला
सिन्धुपाल्चोक : नेपाल–चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित तातोपानी धारालाई स्थानीय सरकारले सुविधासम्पन्न बनाएको छ।
चैत महिनाभरि सञ्चालन हुने एक महिने स्नान मेलालाई लक्षित गर्दै भोटेकोशी गाउँपालिकाले धारा व्यवस्थित गरेको हो। पालिकाले ३ करोड लागतमा धारा परिसरमा दुईवटा भवन निर्माण गरी बाथटब र नुहाउने धारा निर्माण गरेको हो।
यसअघि तातोपानी धारामा रहेको सीमित बाथटब र खुला धारा हुँदा स्नान गर्नेहरूलाई समस्या पर्ने र पालो कुर्नुपर्ने अवस्थालाई समाधान गर्न पालिकाले एकैपटक ४६ जनाले नुहाउन मिल्ने गरी बाथटबको निर्माण गरेको हो।
देश–विदेशबाट तातोपानीमा स्नान गर्न आउनेहरूका लागि धारा पुनर्निर्माण गरी व्यवस्थित बनाइएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए। तातोपानी धारामा स्नान गर्न आउने पर्यटकहरूलाई लक्षित गरी सुविधासम्पन्न रेस्टुरेन्ट समेत धारा परिसरमै व्यवस्था गर्ने पालिकाले जनाएको छ।
‘चैत महिनामा स्नान गर्नका लागि छिमेकी देश चीन र भारतबाट थुप्रै पर्यटकहरू आउँछन्’, भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठ भन्छन्– ‘धारा साँघुरो र अपर्याप्त हुँदा पालो कुर्नुपर्ने अवस्था थियो। अब पर्याप्त बाथटब र धारा निर्माण भएपछि त्यो समस्या हुनेछैन।’ अप्ठ्यारो बाटो र तातोपानी नाका सुव्यवस्थित हुन नसकेका कारण पहिलेको तुलनामा धारामा स्नान गर्न आउने पर्यटकको संख्या घट्न पुगेको उनले सुनाए।
शौचालयको समेत समस्या रहेको तातोपानी धारा परिसरमा अहिले महिला–पुरुष गरी छुट्टाछुट्टै शौचालय निर्माण गरिएको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले बताए। ‘हामीले चैत महिनाभर लाग्ने एक महिने स्नान मेलालाई लक्षित गरी तातोपानी धाराको स्तरोन्नति छिटोभन्दा छिटो गरेका हौं’, उनले भने, ‘अब तातोपानी धारामा व्यवस्थित रूपमा पर्यटकहरूले स्नान गर्न सक्नेछन्।’
तातोपानी धारालाई भोटेकोशी बाढी र २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो। भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे। जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे। तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन्।
‘अब भने पर्यटक आउने क्रम पुरानै अवस्थामा फर्कन्छ भन्ने आशा पलाएको छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘तातोपानी नाका पनि सञ्चालन भइरहेको छ, पर्यटकहरू पनि बढिरहेका छन्।’ यसअघि चैते स्नान मेलामा ५ हजारसम्म पर्यटक तातोपानी आउने गरेको उनले सुनाए। यसअघि धारा परिसरमा पर्यटक भित्र्याउने उद्देश्यसहित पालिकाले ५० लाख बजेटमा २१ फिट अग्लो शिव नन्दीमूर्ति, सामुदायिक भवन, मन्दिर, पार्कसहित अन्य विभिन्न संरचना बनाइसकेको छ।
स्नान मेला सुरु
धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रख्यात तातोपानी धारामा चैत १ गतेदेखि एक महिने स्नानमेला सुरु भएको छ। महिनाभर लाग्ने सो मेलामा पुगेर स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास छ।
तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्वकै कारण पछिल्लो समय यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ। धार्मिक तथा आकर्षक पर्यटकीयस्थलका रूपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुलको समेत व्यवस्था गरेको छ। त्यस्तै पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रूपमा नुहाउन सर्वसाधारणलाई धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिले जनाएको छ।
४४ डिग्री सेल्सियस तापक्रम रहेको धाराको पानीमा गन्धकको मिश्रण भएकाले चर्मरोग तथा पेटसम्बन्धी रोग निको हुने विश्वास छ। नजिकै अमिलो पानीको धारासमेत रहेको छ। भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार तातोपानी धाराको इतिहास हिन्दू धर्मावलम्बीका आराध्यदेव देव महादेव, महायोगी श्रृंगी ऋषिदेखि बौद्ध धर्मका बज्रगुरु रिन्पोछे (पदमसम्भवा) र नागराज, देविदेवतासँग जोडिएको छ। महादेव, ऋषि श्रृंगी र पद्मसम्भव यहाँ आएर बसेको र स्नानका लागि नागले तातोपानी धारा उत्पन्न गरिदिएको जन श्रुति रहिआएको छ।
प्रतिक्रिया दिनुहोस !