गणतन्त्र निर्विकल्प विकल्प
गणतन्त्र निर्विकल्प विकल्प हो भन्ने कुराको हेक्का पूर्वराजालाई नहुने कुरै छैन।
संसारमा निर्विकल्प कोही र केही छैन र असम्भव कुनै कुराको हुँदैन भन्ने भाष्यको निर्मिति भएका कारण असम्भवजस्ता लाग्ने कुरा सम्भव भएका हुन्। चन्द्रमामा मान्छे पुगेको हो। अनेक ग्रहको खोजी गरेर त्यहाँ बस्ती बसाल्ने सम्भाव्यताको खोजी गरिएको हो।
विश्वको तीव्र विकास मान्छेको असन्तोषी, उग्र महत्वाकांक्षी स्वभाव र विकल्प खोज्ने अभीष्टले भएको मानिन्छ। अतः निर्विकल्प भन्ने कुरा हुँदैन। विकल्पका लागि सबै वाद, प्रणाली र विधि खुला गरिने व्यवस्था र परिपाटीलाई नै आजको उन्नत लोकतन्त्र भनिन्छ। त्यसैले राजतन्त्र पुनःस्थापनाको चर्चा सामान्य हो। मात्र के हो भने गणतन्त्रलाई जसरी र जुन तवरले ड्राइभ गर्नुपर्ने हो त्यसरी गर्न नसकेकै कारण जनतामा आक्रोश, निराशा र कुण्ठा छ। त्यही आक्रोश अनेकन रूपमा अभिव्यक्त भएको पाइन्छ। कहिले राजसंस्था पुनःस्थापना र हिन्दु राज्य पुनर्बहालीको मागमा जनता सडकमा निस्कन्छन् त कहिले पुराना पार्टीको विकल्पमा नयाँ पार्टी अनुमोदनमा जनता आँतुर रहन्छन्।
त्यसैले पुराना पार्टी र शासन सत्ता सम्हालिरहेका दलहरूलाई असजिलो लाग्न थालेको देखिन्छ र पूर्वराजा ज्ञानेन्द्रप्रति दलहरू अनुदार विचार व्यक्त गर्छन्। हरेक वस्तु, चिजबिज र प्राणी खोटरहित छैनन्। खोट पनि सापेक्षित हुन्छ। मान्छे आफ्नो अनुकूल नहुने बित्तिकै त्यसको खोट केलाउन थाल्छ। खोट केलाउने र देखाउने क्रममा खोट देखाउने पक्षको पल्ला भारी भयो भने त्यो विघटनमा जान्छ। खोटसहित नै कुनै पनि चिजको समर्थनमा त्यसको बाहुल्य रह्यो भने त्यो निरन्तर रहन्छ। २०३७ को जनमत संग्रहमा पञ्चायतको पक्षमा जनमत देखियो र त्यो केही समय टिक्यो। २०४६ मा पञ्चायतको खिलाफमा जनमत प्रकट भयो र ३० वर्षको पञ्चायत ढल्यो।
कुनै पनि व्यवस्थाको समर्थन र विरोधमा मान्छे हुन्छन् नै। राजतन्त्रजस्तो राजनीतिको सबैभन्दा पुरानो र शक्तिशाली संसारभर फिँजिएको मनोविज्ञान र संस्थाको पक्षमा मान्छे हुनु अनौठो होइन। नेपालमा पनि पूर्वराजा ज्ञानेन्द्र र उनको पक्षमा मान्छे उलेख्य नै छन्। यसमा दुई मत छैन तर आज देखिएका मान्छेले व्यवस्था परिवर्तन गर्ने सामथ्र्य राख्दैनन्। भविष्य के होला ? भविष्य र विकल्प सधैं खुला हुनुपर्छ। लोकतन्त्रको सौन्दर्य यही हो जहाँ फालिएको राजतन्त्र पनि पुनस्र्थापना गर्छौं भनेर राजनीतिक गतिविधि र संगठन गर्न पाइन्छ।
विश्वमा हुने सबै परिवर्तनमा जनताको चाहना चाहे त्यो ठीक होस् या बेठीक त्यो युद्ध गरेर होस् या विद्रोह र शान्तिपूर्ण मतदान जनताको मतमा निर्भर रहन्छ। कुनै पनि व्यवस्थाको स्थायित्व र विनाश जनताको पदचापमा सन्निहित रहन्छ। २०६२–६३ को जनन्दोलन र १० वर्षे माओवादी विद्रोहको जगमा करिब २५ सय वर्षदेखि अभ्यास गरिएको राजतन्त्र र २३७ वर्षदेखि चलेको शाहवंशीय राजतन्त्र नेपालको राजनीतिक इतिहासबाट (२०६५ जेठ, १५) विस्थापन गरियो। किंवदन्तीमा आधारित राजतन्त्र गोपाल वंशबाट सुरु भएको मानिन्छ भने प्रथम राजा धर्माकर रहेको कुरा बौद्ध ग्रन्थमा उल्लेख छ। बौद्ध धर्ममै राजतन्त्रको उल्लेख गरिएको र सिद्धार्थ गौतम राजकुमार भएका कारण राजतन्त्रको इतिहास तीन हजार वर्ष पुरानो भएको सहजै अनुमान लगाउन सकिन्छ। त्यही राजतन्त्रको निरन्तरताको क्रमभंग करिब १६ वर्ष अगाडि नेपालमा पनि भयो।
गोपाल, महिषपाल, आभिरवंश र किरातवंश, जसको ऐतिहासिक प्रमाण छैन। इतिहास अध्येताहरूका अनुसार, जन श्रुति, लोकोक्ति र वंशावलीमा उल्लेख भएका राजतन्त्रहरू हुन्। लिच्छविकालीन राजतन्त्रलाई भने प्रामाणिक ऐतिहासिक राजवंश मानिन्छ। लिच्छविकालीन राजतन्त्रको सुरुआत पहिलो सेन्चुरी एडीमा भएको मानिन्छ। मानदेव प्रथम प्रमाणिक राजा भएको कुरा इतिहास सिद्ध विषय हो। नेपालमा पटकपटक विभिन्न वंशका राजतन्त्रको पतन भएको छ। व्यवस्था परिवर्तन भएको छ। शाहवंशमात्रै नेपालको पहिलो पटक पतन भएको राजतन्त्र होइन।
जन श्रुति या प्रामाणिक जे र जुन भए पनि क्रमशः गोपालवंश, महिषपालवंश, आभिरवंश, किराँतवंश, मल्लवंश र शाहवंश नेपालमा पतन भएका प्रमुख राजतन्त्रहरू हुन्। यद्यपि अन्य झन्डै तीन दर्जन राजाहरू नेपालको हाल विद्यमान् भूभागमा स्थापित थिए। तिनीहरू पनि राजा पृथ्वीनारायण शाहको एकीकरणसँगै नेपालको इतिहासका अध्याय मात्र बने। विश्वमै सबैभन्दा पछि स्थापना भएको गणतन्त्र भएकाले नेपालको गणतन्त्रलाई सबैभन्दा कान्छो गणतान्त्रिक मुलुक भनेर चिनिन्छ। कुनै पनि व्यवस्था एकाएक समृद्ध र वैभवशाली हुँदैनन्। फेरि व्यवस्था आफैंमा साध्य होइन, साधन हो। यो साधन कस्तो क्षमता र बुद्धिले परिचालन ग¥यो। त्यसमा व्यवस्थाको सफलता असफलता भर पर्छ।
प्रक्रियागत त्रुटि र काम गर्ने क्रममा अज्ञानतावश भएका कमजोरी सामान्य भए पनि नियतवश गरिने कमजोरी र गलत दृष्टिबाट हुने राज्य सञ्चालनका तौरतरिका व्यवस्था बदनाम गर्न र यसको बद्ख्वाइँका लागि काफी छ। हाल नेपालको समस्या पूर्णतया व्यवस्था असफल नभएर यसका सञ्चालकहरूको गतिविधिका कारण र राजनीतिक दलहरूले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको कारण उत्पन्न परिस्थिति हो। गणतन्त्रलाई सहज रूपमा वरण गरे पनि नेपालजस्तो मुलुकका लागि संघीयता जस्तो खर्चिलो र भद्दा पद्दतिबारे यथेष्ट प्रश्नहरू उठेका छन्। तथापि संघीयता असफल भएको निष्कर्ष निकाल्न सकिन्न। यसलाई थुप्रै परिस्कार, परिमार्जन गर्दै आर्थिक व्ययभार कम गर्ने संरचनात्मक सुधार यसको पहिलो डाइग्नोसिस भन्ने संघीयता विज्ञहरूको तर्क छ।
असहजता, अप्ठ्यारा थुप्रै चुनौती र बाधा व्यवधानलाई व्यवस्थापन गर्दै जाँदा मात्र यो व्यवस्था बलियो हुन्छ। व्यवस्थापन गर्ने क्षमता प्रदर्शन गर्ने र केही कुरा र विषयमा रिथिंक गर्न भने ढिलो गर्न हुन्न भन्ने मर्मज्ञहरूको मत छ। आम जनमत संघीयताको सवालमा केही संशय र प्रश्निल छ। त्यसको यथोचित जवाफ, जिम्मेवार नागरिक बौद्धिक जमात र राजनीतिक दल मिलेर दिनुपर्छ अन्यथा समग्र प्रणालीमाथि नै अविश्वास प्रकट हुने स्थिति आउँछ। बहुदलीय लोकतान्त्रिक गणतन्त्रमा प्रश्न उठ्नु, आलोचना आउनु, तर्क–वितर्क प्रकट हुनु, विकल्पको कुरा उठ्नु अस्वाभाविक कुरा होइन। आलोचनात्मक चेत हामीले अवलम्बन गरेको व्यवस्थाको राम्रो पक्ष हो। विचार र मतको निषेधबिना आफ्ना कुरा राख्न पाउनु, संगठन गर्न पाउनु, सत्ता र सरकारलाई प्रश्न गरेर तिमीभन्दा हामी योग्य छौं भन्न पाउनु युगीन विशेषता हो।
दलीय व्यवस्थामा कुनै पनि दल असफल हुन सक्छन्, त्यसको विकल्पमा अन्य दल जन्मन सक्छ तर व्यवस्था नै असफल भन्ने हुँदैन। नेपालमा पनि हाल व्यवस्थामाथि पनि असफलताको दोष लगाएर अन्य व्यवस्था राजासहितको प्रजातन्त्र हुँदै शास्त्रीय साम्यवाद र वैज्ञानिक समाजवादको पक्षमा आवाजहरू मुखरित बनेका छन्। यी आवाजहरू निषेधयोग्य त छैनन् तर व्यवस्था बदल्ने र पात्र मात्र फेर्ने प्रयोगशाला मात्र बन्ने स्थितिबाट भने चनाखो हुनुपर्छ। व्यवस्थाभित्रका कमजोरी सुधारेर व्यवस्था दलीय पद्धति, नेताहरू अझ उन्नत, सुसंस्कृत र सर्वोत्तम परिपाटीको हुनु आवश्यक छ। दल र नेताहरू सुध्रने नभए अन्य दलको प्रतिस्थापन गर्ने विषय जायज देखिन्छ। दलहरूको विकल्प उत्तम विकल्प दलहरू नै हुन्। बस् खाँचो कमजोरी सुधार्ने फराकिलो छाती र उन्नत मस्तिष्कको हो।
राजतन्त्रको पुनस्र्थापना आजको व्यवस्थाको विकल्प होला तर सर्वोत्तम विकल्प होइन। सर्वोत्तम विकल्प दलमध्येकै श्रेष्ठता हासिल गर्ने दल र जनअनुमोदित नेताहरू नै हुन्। जन्म श्रेष्ठता विगत हो। आगत र वर्तमान कर्म श्रेष्ठता हो। आफ्नो निहित स्वार्थका लागि पूर्वराजा ज्ञानेन्द्रलाई सक्रिय हुन उक्साउनेहरूबारे ज्ञानेन्द्र शाह स्वयं सचेत हुनुपर्छ। राजतन्त्रको पैरवी गर्ने अनेकौं झुन्ड र समूहले कस्तो राजतन्त्र ल्याउन खोजेका हुन्। स्पष्ट छैन र राजतन्त्र फर्केपछि के हुन्छ ? त्यसको जबाफ दिन सकेका छैनन्। राजतन्त्र सक्रिय, संवैधानिक सेरोमोनियल या सांस्कृतिक ? कुनै खाका छैन। राजसंस्थाको विषय र आस्था बोकेर राजनीति गर्दा सहज हुने भएकाले त्यसैका लागि मात्र राजा भन्नेहरू छन्। राजालाई ‘युज एन्ड थ्रो’ गर्ने मनसाय मात्र देखिन्छ। राजतन्त्र बहाली नै गर्ने भए पनि कुनै भरोसायोग्य अनुहार र ‘क्रेडिबिलिटी’ भएको ‘पोटेन्सियल’ नेताको अगुवाइ देखिन्न। जनतामा जरा गाडेका र तलसम्म पुगेका कुनै दलको घोषित राजतन्त्र फर्काउने नीति पनि छैन। यसर्थ ज्ञानेन्द्र शाहले आफ्नो अमर्यादा आफैं गर्ने अवस्था आउँदैन।
जेजस्तो र जुन परिस्थतिमा भए पनि ज्ञानेन्द्र शाहको गणतन्त्र ल्याउन र सहजताका साथ भद्र तरिकाले यसलाई स्वीकार गर्न जुन बुद्धिमता प्रयोग गरे त्यो निश्चय नै तारिफयोग्य छ। तसर्थ ज्ञानेन्द्र शाहले आजपर्यन्त जुन सम्मान पाएका छन्, त्यो स्मरणीय र विश्वका लागि उदाहरणीय छ। राजतन्त्रको अन्त्यपछि विश्वमा पूर्वराजाहरू कि निर्ममतापूर्वक मारिएका छन् कि देश छोडेर भाग्न अभिशप्त छन् कि पुनर्बहाली भएका छन्। तर नेपालमा ज्ञानेन्द्र आज पनि पूर्वराजाको हैसियतमा सानसौकतका साथ बसेका छन्। यसको श्रेय उनको भद्रपन र न्यून क्षतिमा नै गद्दी छोड्ने उदारता र दलहरूको संयमता दुवैलाई जान्छ। यो सब शक्ति सन्तुलनका कारण भएको हो।
स्वदेशमै बस्ने ज्ञानेन्द्रको देशभक्तिलाई सम्मानका साथ रहन दिनु पनि गणतन्त्रको उज्यालो पक्ष हो। उज्यालोको पूर्वराजादेखि गणतन्त्रवादी सबैले रक्षा र सम्मान गर्दा नेपाल र नेपालीले अझ दुःख पाउने छैनन्। पूर्वराजा विस्थापनमा जानु पनि हुँदैन र मारिनु पनि हुँदैन न पुनस्र्थापना नै हाल सम्भव छ। वर्तमानमा रहेको पूर्वराजाको सामाजिक, सांस्कृतिक हैसियत आज पनि दुर्बल छैन। देशभक्ति र राष्ट्रको स्वाभिमानको सवालमा, कूटनीतिमा ज्ञानेन्द्र शाहलाई पनि दलहरूले उपयोग गर्नुपर्छ। ज्ञानेन्द्र शाहले पनि ससम्मान आफ्नो सहयोग दिनुपर्छ।
राजा हुन नजन्मिएका ज्ञानेन्द्र काकताली परेर दुई पटक राजा भइसकेका व्यक्ति हुन्। उनले आफ्नो मर्यादा सामान्य मान्छेको बहकाउ र भड्काउमा परेर घटाउने छैनन्। आफ्नो जीवनकालमा यति धेरै आरोह–अवरोह देखेका विश्व नियालेका ज्ञानेन्द्र शाह राजनीतिका कच्चा खेलाडी पक्कै होइनन्। गणतन्त्र निर्विकल्प विकल्प हो भन्ने कुराको हेक्का पूर्व राजालाई नहुने कुरै छैन।
प्रतिक्रिया दिनुहोस !