प्रहरी महानिरीक्षक थापाले भने - प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु
काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुरू गर्ने बताए। 'प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन,' उनले भने, 'सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।' उनले यही विचार मनन् गर्दै आफ्ना सहकर्मी र मातहतलाई आग्रह समेत गरे।
महानिरीक्षक थापाले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए। उनले आफ्नो मन्तव्यमा प्रहरी कर्मचारीलाई कार्यक्षमताको उचित मूल्यांकन दिलाउने प्रयास गरे।
मन्त्रिपरिषदको सोमबारको बैठकले थापालाई नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा नियु्क्त गरेको हो। गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !