परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता, बन्दी बनाइएका नेपालीलाई रिहाइ गर्न माग
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच मंगलबार भेटवार्ता भएको हो। भेटमा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।
मन्त्री राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उनीमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी थिइन्। नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरूमार्फत नेपालीलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन्।
उनीहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन्। युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटमा मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यलगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरेकी थिइन्। यसैबीच दुई देशबीच सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
प्रतिक्रिया दिनुहोस !