आगोले जलेर नाबालिकाको मृत्यु, ११ परिवारको १६ घर जले
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आगोले जलेर नाबालिकाको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो। नाबालिकाको शव पोस्टमार्टमपछि परिवारले जिम्मा लिएको उनले बताए। घरमा आगो लागेपछि भित्रै जलेर उनको मृत्यु भएको जोशीले बताए।
उनका अनुसार आगोले १३ परिवारको १६ वटा फुसको घर, भान्सा घर ३ वटा र गाई गोठ २ वटा जलेका छन्। मंगलबार दिउँसो १२:३० बजेतिर आगलागी सुरु भएको थियो। विभिन्न ठाउँबाट गएका दमकल र स्थानीयको सहयोगमा आयो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो। आगलागीमा परेर २ बालबालिकाको मृत्यु भएको भनिएको थियो। बालक भने पछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको अनुसन्धान भइरहेको जोशीले बताए।
उनका अनुसार मोहमद हासिम मियाँ, इस्ताक मियाँ, इसाद मियाँ, मोहमद मुस्ताक मियाँ, कुर्सिद मियाँ, अन्सारुल मियाँ, मोहमद हनिफ मियाँ, सलमान मियाँ, मोहमद रजाक मियाँ, मुर्सिद मियाँ, चन्दन पुरी, शिवनारायण पुरी र देवनारायण पुरीको घर तथा गोठहरु जलेर ध्वस्त भएको छ। आगलागीमा कति बराबरको क्षति भयो भनेर प्रहरीले यकिन गरिसकेको छैन। २ वटा बाख्रा पनि जलेर मरेका छन्।
प्रतिक्रिया दिनुहोस !