क्यासिनोमा झडप प्रकरण : अभिषेक गिरीका सहयोगी पक्राउ

क्यासिनोमा झडप प्रकरण : अभिषेक गिरीका सहयोगी पक्राउ
सुन्नुहोस्

विराटनगर : आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीसँग मिलेर अपराध धन्दा चलाउँदै आएका राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

झापाको गौरादह घर भइ विराटनगरमा बस्दै आएका ३८ वर्षीय श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। 

श्रेष्ठ विराटनगरको रत्ना होटलमा रहेको सम्राट क्यासिनो रेखदेख गर्छन्। गत आइतबार राति क्यासिनोको विषयमा विवादास्पद छविका गिरीको समूहसँग अर्का विवादास्पद छविका किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो। 

क्यासिनो सञ्चालकको भूमिकामा रहेका ३८ वर्षीय श्रेष्ठसँग घटनापछि प्रहरीले क्यासिनोको सीसी क्यामेरा फुटेज मागेको थियो। तर, उनले प्रहरीलाई फुटेज दिएनन्। अनुसन्धानमा असहयोग गरेपछि प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो। डीएसपी जोशीका अनुसार गिरी र श्रेष्ठ एउटै मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्तिहरु हुन्। गिरीले २०७१ सालमा काठमाडौंमा व्यक्तिको अपहरण गर्दा श्रेष्ठ सहयोगी थिए।

अच्युतप्रसाद रेग्मीलाई अपहरण गरी १० लाख फिरौती असुलेको आरोपमा २०७१ साल साउन तेस्रो साता गिरीसहित झापाका मिलन लिम्बू, राजु श्रेष्ठ, काठमाडौंकी शारदा सिलवाल भन्ने कवितादेवी शाक्य पक्राउ परेका थिए। अपहरण मुद्दामा गिरी र श्रेष्ठलाई ९ वर्ष कैदको फैसला भएको थियो। ९ वर्ष कैद भुक्तानपछि गिरी २०७९ चैत ६ गते कारागारबाट छुटेका थिए।

जेलबाट छुट्नुअघि मोरङ कारागारमा चौकीदारको भूमिकामा रहेका गिरीले कारागारभित्रको रेखदेख गर्ने जिम्मा राजु श्रेष्ठलाई दिएका थिए। गिरी छुटेको केही महिनापछि श्रेष्ठ पनि कैद भुक्तान गरेर छुटे। त्यसपछि उनी गिरीको समूहमा सक्रिय छन्। गिरीको समूहले विभिन्न नाममा आतंक मच्याइरहेको गुनासो बढेको छ। 

प्रहरी स्रोतका अनुसार कारागार भित्रैबाटै विराटनगरमा विभिन्न गतिविधि चलाउँदा श्रेष्ठ गिरीको सहयोगी थिए। चौकीदार हुँदा कारगारका कैदीबन्दीलाई यातना दिएको, कुटपिट गरेको, रकम असुलेको तथा धम्क्याएर व्यापारीसँग रकम असुलेको आरोप गिरी र उनको समूहमाथि लागेको थियो। उनले कारागार भित्रबाटै ‘मिटरब्याज’को धन्दा पनि चलाउने गरेको आरोप थियो। 

‘पछिल्लो समय गिरीले सम्राट क्यासिनो हेर्ने जिम्मेवारी श्रेष्ठलाई दिएको पाइयो। क्यासिनोमा देखिने गरी अभिषेक गिरी छैनन्। श्रेष्ठलाई अगाडि सारेर धन्दा चलाइरहेको छ,’ प्रहरी स्रोतले भन्यो। गिरीकै सक्रियतामा क्यासिनोमा नेपालीले निर्वाध प्रवेश पाइरहेका छन्। त्यसमा प्रशासनदेखि स्थानीय सरकारसमेतको मिलेमतो रहेको आरोप लाग्ने गरेको छ। क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ। तर, निर्वाध रूपमा नेपाली छिरेर ‘जुवा’ खेल्दा पनि नियन्त्रण गर्नुपर्ने निकाय मुकदर्शक भएर बसेका छन्।

विराटनगरको रत्ना होटलमा रहेको सम्राट क्यासिनोमा चैत ३ गते आइतबार राति गिरीसँगको समूहसँग किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो। कुटाकुटमा गिरी सामान्य घाइते भए। कँडेल र लामा पनि घाइते भएका छन्। घटनाको भोलिपल्ट गिरीका भतिज निकेश गिरीले आफूमाथि हातपात भएको भन्दै कँडेल र लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका थिए। कँडेलको परिवारबाट समेत प्रहरीमा जाहेरी परेको छ।

गिरीको समूहले मध्यरातमा घरमा जबरजस्ती प्रवेश गरी धम्की दिएको भन्दै उजुरी परेको हो। प्रहरीका अनुसार क्यासिनोको झगडापछि राति लामा र कँडेल भागेका थिए। तर, मध्यरातमा गिरीको समूह उनीहरुलाई खोज्दै दुवैको घरमा पुगेको थियो। घरमा नभेटेपछि ‘जे पनि हुनसक्ने’ भन्दै धम्की दिएको भनेर कँडेलको परिवार प्रहरीसम्म पुगेको हो।

अहिले प्रहरीले दुवै पक्षलाई खोजिरहेको बताएको छ। तर, आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरी खुलेआम हिँडडुल गरिरहेका छन्। लामा र कँडेल फरार छन्। लामा र कँडेल पनि आपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन्। गिरीलाई नेपाली कांग्रेसका नेतादेखि प्रहरी अधिकारीसम्मले संरक्षण गरिरहेको आरोप लाग्ने गरेको छ। घटना र परिस्थितिले पनि त्यस्तै देखाउँछ। अपराधमा संलग्न हुँदा र समाजमा आतंक मच्चाउँदासमेत उनलाई पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासन हच्किएको छ।

‘दुवै तर्फबाट उजुरी आएको छ। निवेदन दर्ता गरेर मान्छे खोज्दैछौं। प्रहरीले आफ्नो ढंगले अनुसन्धान गरिरहेको छ,’ डीएसपी जोशीले भने। अपहरण मुद्दामा कैद भुक्तानपछि कारागारबाट छुटेका गिरीले सामाजिक काममा सक्रिय भएको देखाएर आपराधिक राज चलाइरहेको सुरक्षा विश्लेषण छ। हरेक हिसाबले पनि उनको भूमिका विवादास्पद देखिन्छ।

उनीसँग झडप गर्ने नेकपा (एमाले) जिल्ला सदस्य लामा र कांग्रेस तरुण दलमा आबद्ध कँडेलसमेत विवादास्पद छवि एवं आपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन्। एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य लामा ‘मिटरब्याज’ र ‘असुली’को धन्धामा संलग्न रहेको प्रहरी स्रोतले बतायो। एमाले नेताहरुको संरक्षणमा रहेका लामा जग्गाको कारोबार पनि गर्छन्। पटकपटक विवादमा आइरहने रोनाल कँडेल यसअघि विभिन्न अपराधमा ७ पटक पक्राउ परिसकेको रेकर्ड प्रहरीसँग छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.