पानीका स्रोतलाई मुलुकको आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा रहेका पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका छन्।
विश्व पानी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय पानी सम्मेलनमा मन्त्री खड्काले नेपालमा रहेका पानीका स्रोतलाई दैनिक जीवनमा मात्रै नभइ मुलुकको आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताए। उनले नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको जिकिर गरे।
सबैभन्दा बढी जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भन्दैगर्दा यसको संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमनदीहरूको अवस्था र त्यसबाट सिर्जित समस्याहरूको समाधानका लागि समेत सरकार गम्भीर रहेको भन्दै विभिन्न दातृ राष्ट्रहरूसँग, विकास साझेदारी राष्ट्रहरूसँग यस विषयमा छलफल भइरहेको जानकारी दिए। जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन समेत थालिएको छ।
प्रतिक्रिया दिनुहोस !