पूर्वराजा ज्ञानेन्द्रको गोरखामा ‘एक दिन’
गोरखा : पूर्वराजा ज्ञानेन्द्र शाहले शाहबंशीय राजतन्त्रको उद्गम स्थल गोरखाको भ्रमण गरेका छन्। २० वर्षपछि पहिलो पटक गोरखा आएका शाहले गोरखकाली र गोरखनाथको पूजाआराधना, स्थानीयबासीसंग भेटघाट तथा स्वागत ग्रहण गरेका छन्।
देशमा एउटा शक्तिले राजसंस्थाको पुनस्थापना, राजतन्त्रको माग गर्दै विभिन्न कार्यक्रम गरिरहेका बेला गोरखाका राजसंस्था, राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति, संस्था तथा पार्टीहरूको आमन्त्रणमा शाहले शनिबार भ्रमणको चाँजोपाँजो मिलाएका हुन्। बिहान नौ बजे तनहुँको आँबुखैरेनीमा स्वागत गरी सो समूहले मोटरसाइकल र्याली गर्दै गोरखा भित्र्याएका थिए।
राजावादीहरूको पञ्चैबाजासहितको मोटरसाइल र्यालीका बीच उनी बिहान १० बजे गोरखादरबार आइपुगेका थिए। त्यहाँ गोरखकाली, गोरखनाथ पूजा आराधना र ऐतिहासिक गोरखा दरबार अवलोकमा दुई घण्टा खर्चेका थिए। त्यहाँ उनलाई तान्त्रिक देव बज्रभैरवका भक्त बज्राचार्य, बज्रयानाहरुबाट विशेष प्रार्थनासहित, टीका, प्रसाद ग्रहण गरेका थिए।
शनिबार चैत्र कृष्णअस्टमी गोरखकाली पूजा पर्व परेको थियो । सोही अवसर पारेर पूर्व राजा ज्ञानेन्द्रले भ्रमणको कार्यक्रम तय गरेका हुन्। गोरखकाली र गोरखनाथलाई राजदरबारका कुलदेवता भनेर पनि चिनिन्छ । सो पर्वको अवसर पारेर उनी गोरखकाली तथा गोरखनाथको पूजाआजा गर्न आएका हुन्।
बिहान १० बजेदेखि १२ बजे दुईघण्टासम्म पूजाआजा गरी दिउँसो १ बजे गोरखाबाट फर्किएका छन्। उनको स्वागत गर्न गोरखाका राजा, राजसंस्था तथा राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति, संस्था तथा पार्टीका कार्यकर्ताहरु सम्मिलित १५१ सदस्यीय नागरिक समाज गठन भएको थियो। उनीहरुले बाजागाजासहित ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर्’ लगायतका नारा लगाएका थिए।
शाह बा २१ च ७३१८ नंबरको गाडीमा पृथ्वीराजमार्ग हुँदै शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेका थिए। शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई सो नागरिक समाजले स्वागत र मोटरसाइकल र्याली गरी १० बजे गोरखा भित्र्याएका थिए। सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका स्वयंसेवक समूहहरूको पनि सहभागिता थियो। सवारीमा पूर्वराजा ज्ञानेन्द्रबाहेक परिबारका सदस्य कोही पनि सहभागी थिएनन्।
पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखा गोरखा ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए। सो क्रममा उनले सबैको भलोबाहेक कुभलो कसैको चिताउन नहुने प्रतिक्रिया दिएका थिए। ‘गोरखा आउँदा मलाई खुशी लाग्यो’, उनले भने, ‘आफ्नो जन्मथलो नभए पनि गोरखा मेरो पुर्ख्यौली थलो हो।
यहाँका बासिन्दा देख्दा मलाई खुशी लागेको छ। कसैले कसैको पनि कुभलो नचिताओस्। भलो चिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्न डराउनु पर्दैन। देशमा शान्ति कायम होस्। देशमा विकास होओस्। सबैलाई सुख र संवृद्धि होस् भन्ने कामना गर्दछु ।’ उनले आफू लामो समयपछि गोरखा आएको बताए पनि कतिबर्षपछि यहाँ आएको भनेर एकिन गरेनन्।
लोकतनन्त्रलाई निलम्बन गरी सक्रिय राजतन्त्रको अभ्यास भएका बेला २०६२ सालमा उनी नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन गोरखा आएका थिए। उनी शनिबार अपरान्ह चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन्। आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !