नाउपाको बैठकमा सीके राउतको विशेष सम्बोधन, गर्व गर्न लायक पार्टी बनाउने उद्घोष
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। काठमाडौंमा बसेको पार्टीको दुई दिने केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन्।
यसअघि फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो। कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक र डा. शरदसिंह याव र बालगोविन्द चौधरी सदस्य छन्।
त्यस्तै पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बोलाइको नाउपाको केन्द्रीय कार्यसमिति बैठकमा जनमतका अध्यक्ष सीके राउतले विशेष सम्बोधन गरेका थिए। उनले थारुको पहिचानसमेत रहेको ढकियालाई गर्व गर्न लायक बनाउने उद्घोष गरे। 'तपाईंहरूको सहमति बिना यो एकता सम्भव छैन। सबैको सहमति र सम्मानले मात्रै हामी अन्तरमनदेखि एक हुन सक्छौं। तपाईंहरूलाई म वाचा गर्छु, ढकियामै गर्व गर्नसक्ने पार्टी बनाउँछौं,' उनले भने। ढकिया नाउपाको चुनाव चिन्ह पनि हो।
त्यस्तै नाउपाका संरक्षक रेशम चौधरीले हातमात्र होइन, मनबाट मिल्न जरुरी रहेको बताए। उनले अध्यक्ष राउतलाई विपक्षी सिटमा बस्न तयार हुन पनि आग्रह गरे। 'न्याय पाएनौं भने डा. साप संसद भवनको विपक्षीको सिटमा पनि बस्नुपर्ने हुनसक्छ। मन्त्री पद छोडेर सडकमा पनि आउनुपर्ने हुनसक्छ,' चौधरीले भने।
बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै अध्यक्ष राउतले नाउपा बैठकमा माहोल राम्रो देखिएको र पार्टी एकता निश्चित भएको दाबी गरे। 'बैठकमा निकै राम्रो माहोल देखें। दुई पार्टीबीच एकता हुने सम्भवतः निश्चित भएको छ,' उनले भने। उनले आफू र रेशम चौधरीमा कुनै स्वार्थ नहेकाले पार्टी संरचनामा पनि कुनै विवाद नआउने दाबी गरे। 'म र रेशमजीमा कुनै स्वार्थ छैन। हामी दुवै जना पदबाट धेरै टाढा छौं। जनताबाट उठेका पार्टी भएकाले हामीबीच कुनै विवाद हुँदैन,' उनले भने।
प्रतिक्रिया दिनुहोस !