प्रतिनिधिसभा बैठक सुरू
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। तर,बैठकमा विपक्षी दलहरूले अवरोध गर्ने जनाएका छन्। आज बिहान बसेको विपक्षी दलको बैठकले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै सदन र सडकबाट प्रतिवादी गर्ने निर्णय गरेको हो।
बैठकमा 'बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले 'राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी प्रधानमन्त्री ओलीले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !